६ मंसिर २०८१ बिहीबार
image/svg+xml
राजनीति

त्यो २८ यो २८

फाइल तस्वीर

तीन वर्षअघि अर्थात् २०७८ असार २८ गते सर्वोच्च अदालतले परामादेश जारी गरेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सरकारबाट बाहिरिएसँगै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ताको कमान्ड सम्हालेका थिए। संयोग नै भनौं, तीन वर्षपछि उनै देउवा एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री बनाउन आफ्नो दलको समर्थनसहितको हस्ताक्षर लिएर राष्ट्रपति रामचन्द्र पौडेलसामु पुगेका छन्।

यसै राजनीतिक घटनालाई लिएर एमाले उपमहासचिव प्रदीप ज्ञवालीले शुक्रबार राति सामाजिक सञ्जालमा टिप्पणी गरेका छन्, ‘तीन वर्षअगाडिको त्यो असार २८ अनि आजको यो असार २८ ! समय बलवान् छ।’

त्यतिबेलाको पृष्ठभूमि हेर्दा तत्कालीन नेकपामा आएको विग्रहले ओलीलाई सत्ताबाहिर पुर्‍याएको देखिन्छ। २०७८ असार २८ मा संवैधानिक इजलासको परमादेशबाट ओली सरकारबाहिर पुगेका थिए। सोही परमादेशका आधारमा देउवालाई तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले पाँचौंपटक प्रधानमन्त्रीमा नियुक्ति गरेकी थिइन्।

यसपटक असार २८ गते नै प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिएका थिए। तर उनले पाचौंपटक लिएको विश्वासको मत असफल भयो। विश्वासको मत नपाएपछि उनी शुक्रबार नै सरकारी निवास बालुवाटार छाडेर खुमलटारस्थित निजी निवास पुगेका थिए। कांग्रेस–एमालेबीच सहमति भइसकेकाले दाहालले विश्वासको मत नपाउने निश्चित भए पनि संसदीय प्रक्रियामा केही ढिलाइ भएकाले राति अबेर कांग्रेस–एमालेले सरकारको दाबी पेस गरेका थिए।

कांग्रेस–एमालेको सहमतिअनुसार दाबी पेस भएपछि नयाँ सरकार गठनको प्रक्रिया असार २८ गते सुरु भएको थियो। तीन वर्षअघि असार २८ मा ओलीलाई विस्थापित गरेर सत्तामा पुगेका देउवाले यसपटक ओलीलाई सत्तामा पुर्‍याएका छन्। तीन वर्षअघि असार २८ गते सर्वोच्च अदालतले २४ घण्टाभित्र देउवालाई प्रधानमन्त्री नियुक्त गरी शपथ गराउन राष्ट्रपतिलाई परमादेश दिएको थियो। यसपटक असार २८ मा दाहालले विश्वासको मत नपाएपछि ओलीलाई प्रधानमन्त्री बनाउन देउवा आफैं शीतल निवास पुगेका थिए। कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीले दुई दलको समर्थनसहित दाबी पेस गरेका थिए।

देउवा तीन वर्षअघि असार २९ गते प्रधानमन्त्री नियुक्त भएका थिए। त्यति बेला ओलीलाई सरकारबाहिर पुर्‍याउन दाहाल र माधव नेपालको भूमिका थियो। तीन वर्षअघि बालुवाटार छाडेर बालकोट पुगेका ओलीले परमादेशबाट आफूलाई हटाइए पनि जनताको जनादेश लिएर सिंहदरबारको मूलगेटबाटै फर्किने बताएका थिए। अहिले संसद्मा एमालेको ७७ सहित कांग्रेसको ८८ सिट साथमा लिएर ओली सिंहदरबार जाँदैछन्।

यो पनि पढ्नुहोस्

गृहमन्त्री लामिछानेले प्रहरीसँग भने: मेरो बारेमा पनि अनुसन्धान गर्नुस्

यो पनि पढ्नुहोस्

गृहमन्त्रीको दाबी: निर्मला पन्तको अनुसन्धान अन्तिम चरणमा पुगेको छ

प्रकाशित: २९ असार २०८१ ०६:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App