२४ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

‘रास्वपा सामन्तवादी, अवसरवादीको झुन्ड र एनजिओजस्तो’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित महामन्त्री डा. मुकुल ढकालले तयार पारेको विवादास्पद प्रतिवेदन ‘समीक्षा यात्रा–फोक्सुन्डो’ सार्वजनिक भएको छ। रास्वपाभित्र नराम्ररी हलचल मच्चाएको प्रतिवेदन बिहीबार सार्वजनिक गरिएको हो। सभापति रवि लामिछानेले प्रवक्ता मनीष झामार्फत उक्त प्रतिवेदन सार्वजनिक गरेका हुन्।

तर रास्वपाको बुधबार बसेको बैठकले उक्त प्रतिवेदनलाई अस्वीकृत गरिदिएको छ। सोही प्रतिवेदनकै कारण ढकालले महामन्त्री र प्रवक्ता पद तत्कालका लागि गुमाएका छन्। बुधबार मध्यरातसम्म चलेको केन्द्रीय समितिको बैठकले सात दिनका लागि उनलाई निलम्बन गरेको हो। ढकालले बुझाउँदा नै प्रतिवेदन सार्वजनिक हुनुपर्ने सर्त सभापति लामिछानेसमक्ष राखेका थिए।

नत्र आफूमाथि ‘अन्याय’ हुने भन्दै दबाबसमेत बढाएका थिए। यही कारण सार्वजनिक रूपमा आउन सक्ने सम्भावित टीकाटिप्पणीलाई हेरेर रास्वपाले सो प्रतिवेदन सार्वजनिक गरेको स्रोत बताउँछ। इलामको उपनिर्वाचनमा लज्जास्पद पराजयपछि रास्वपाको सचिवालय बैठकले ढकाललाई असार ६ गतेबाट ‘समीक्षा यात्रा’मा पठाएको थियो।

केन्द्रीय कार्यालय घन्टीघरमा सभापति लामिछानेले दही खुवाएर हातमा घन्टी थमाउँदै उनलाई बिदाइ गरेका थिए। त्यसपछि एक महिना लामो यात्रामा ३८ जिल्ला घुमेर ढकाल असार ५ गते काठमाडौं फर्किएका थिए। यस यात्रामा ढकालले ल्याएको सन्देशले रास्वपाभित्र ठुलै कम्पन पैदा गरेको छ । जसले रास्वपाभित्रको विवाद सतहमा आएको त छ नै, स्वयं ढकाल पार्टीबाट निष्कासन हुने स्थितिमा पुगेका छन्।

सार्वजनिक भएको प्रतिवेदनमा ढकालले जनतासँगको कुराकानी पाइएका कुरा जस्ताको तस्तै उल्लेख गरेको दाबी गर्दै आएका छन्। त्यसमा सभापति लामिछानेमाथि पहिलोपटक प्रश्न उठेकोदेखि लिएर यही अवस्था रहे राष्ट्रिय पार्टी नै बन्न नसक्ने स्थिति देखिएकोसम्म उल्लेख छ। ‘थाहा छैन’को उत्तर थाहा छैन ढकालको प्रतिवेदनमा सामाजिक सञ्जालमा सभापति लामिछानेलाई जोडेर ‘थाहा छैन’ भन्ने वाक्य ‘ट्रोल’ भइरहेको कुरा उठाएका छन्।

‘संसारका सबै मानिसलाई सबै कुरा थाहा हुन सक्दैन। थाहा नभएको कुरा थाहा छैन नै भन्ने हो, थाहा छैन भने जबर्जस्ती थाहा छ भन् भनेर कानुनले पनि भन्दैन,’ प्रतिवेदनमा भनिएको छ, ‘कानुनले थाहा भए पनि थाहा नभए पनि कानुन उल्लंघन गरेको छ भने बराबर सजाय दिन्छ।’

 तर पार्टीभित्र भने यो रोग फैलन सुरु गरेको प्रतिवेदनमा उल्लेख छ। गल्ती गर्ने र ‘ए मलाई त थाहै थिएन’ भन्ने प्रवृत्तिको संक्रामक बनेको लेखिएको छ। ‘पार्टी सञ्चालनका लागि थाहा एउटा प्रश्न बनेर आउन थाल्यो । मान्छेलाई केसम्म थाहा हुनुपर्छ? के थाहा नभएको सम्म ठीक हो र के थाहा नभएको सम्म गलत हो ? यी प्रश्नहरूको उत्तर के हो, मलाई थाहा छैन,’ ढकालले प्रतिवेदनमा लेखेका छन्।

सभापतिलाई पहिलो पटक प्रश्न 

ढकालको प्रतिवेदनमा सभापति लामिछानेलाई पहिलो पटक प्रश्न उठेको प्रसंग पनि उल्लेख छ। त्यस्ता प्रश्नमा ‘चेसमा रानी धेरै चल्दैन तर हाम्रो पार्टीमा किन सभापति नै धेरै चलेको ? सभापति आफैं गृहमन्त्री भएर किन गएको ? सिके राउतजस्तो ब्याकमा किन नबसेको ?’ लगायत समावेश छन्। यस्तै जिबी राई कहिले समातिन्छन् ? भन्ने प्रश्न आएको उल्लेख गर्दै ‘समात्न सकिँदैनथ्यो भने भने प्रतिपक्षमा हुँदा किन म्याद नै तोकेर बोलेको ?’ भन्ने प्रश्न आएको भनिएको छ। यस्तै सभापति लामिछानेसँग भेट्नभन्दा नरेन्द्र मोदीलाई भेट्न सजिलो रहेको, सचिवालयमा सभापति मृदुभाषी नभएको, यही सचिवालयबाट अघि बढे सभापतिबाट राजनीति सम्भव नभएकोसम्मका कुरा अटाएका छन्।

यस्तै ग्यालेक्सी टिभीको टिम पार्टीमा धेरै भएको, सभापतिले विश्वासको दायरा बढाउन नसकेको, सरकारमा गएपछि सोचेअनुरूप फाइल किन नखोलिएको जस्ता प्रश्न पनि प्रतिवेदनमा गरिएका छन्। ‘निर्मला पन्तलाई न्याय कहिले मिल्छ ?’, ‘ब्लु बस र रोजगारीको कुरा कता पुग्यो ?’ जस्ता प्रश्न पनि उठेको प्रतिवेदनमा उल्लेख छ।  

जनाधारको उपेक्षा  

ढकालले प्रतिवेदनमा ‘जुन जनाधारबाट उदाएको हो त्यसैको उपेक्षा’ गरेको पनि प्रतिवेदनमा उल्लेख गरेका छन्। यस्तै ३३ वर्षको कुशासनको कारण रवि लामिछानेमाथि थुपार्ने प्रयास भइरहेको पनि उल्लेख गरेका छन्। ‘तर यसमा हाम्रा पनि कमजोरी छन्। लोकतान्त्रिक पार्टीमा विधान बोल्नुपर्छ तर बोलेन। जुन जनाधारबाट हामी उदायौं, त्यसैलाई उपेक्षा गर्‍यौं, जुन जोस र जाँगरका साथ यो यात्रा सुरु गरेका थियौं, त्यो अब रहेन। हामी को हौं र हामी किन आएका हौं, स्पष्ट पार्न सकेनौं,’ प्रतिवेदनमा भनिएको छ। पहिला पार्टीसँग ‘राष्ट्रिय असन्तुष्टि’सँगै ‘राष्ट्रिय आशा’ पनि रहेको उल्लेख गर्दै अहिले ‘आशा मर्दै जाँदा असन्तुष्टि मात्र बाँकी’ रहेकोसम्म भनिएको छ।  

धेरै बोलेर बिग्रियो

‘काम कम, बोली धेरै भयो’ ढकालको प्रतिवेदनमा भनिएको छ। यस्तै गर्न सकिने काम हो वा गर्न नसकिने काम, मूल्यांकन नै नगरी नेताहरूले बोलेको गुनासो जनताबाट आएको पनि भनिएको छ। ‘पार्टीका नेताहरूले नै बोलेका कुरा कति पूरा हुन्छन् ? जनताले हेरिरहेका छन् र जनमूल्यांकनमा हामी असफल भएका छौं,’ प्रतिवेदनमा उल्लेख छ। विशेषतः सभापति लामिछानेको ‘बोलीमा लगाम लगाउनुपर्ने र काम भइसकेपछि मात्र बोल्ने बानी विकास गर्नुपर्ने’ सुझावहरू आएको प्रतिवेदनमा उल्लेख छ।

जिबी राईका सन्दर्भमा बोलिएका बोली पार्टीका लागि सबैभन्दा ठुलो चुनौती भएको प्रतिवेदनमा उल्लेख गर्दै भनिएको छ, ‘तयारी र गुदीबिना आश्वासनका पुलिन्दा मात्र बाँड्दा तत्काल ताली त पाइयो होला तर यसले पार्टीलाई क्षति मात्र गर्‍यो।’ आउने चुनावमा ती बोलीका ‘क्लिप्स’हरू चुनौती बन्नेसमेत आकलन गरिएको छ। ‘ती क्लिप्सहरू जताततै बजाइने हुँदा त्यसले पार्ने असरका बारेमा अहिलेबाट सजग हुनुपर्छ। बोल्न मात्र बोल्ने प्रवृत्तिले पार्टीलाई हानिबाहेक केही पनि गरेन,’ प्रतिवेदनमा भनिएको छ।  

पार्टीभित्र सामन्तवाद

पार्टीभित्र सामन्तवाद रहेको समेत प्रतिवेदनमा उल्लेख छ। पार्टी कामभन्दा बढी आसन र भाषणमा केन्द्रित भएको भन्दै केन्द्रबाटै शुद्धीकरणको कुरा ढकालले उठाएका छन्। ‘आसनग्रहणमा सांसदलाई ‘माननीय नभनौं भन्दा सामन्ती प्रथाको निरन्तरता स्वयं सभापतिबाट देखियो’ भन्ने वाक्यांश पनि प्रतिवेदनमा छ। यस्तै ‘राता पासपोर्टधारीमध्ये केही भोलि यो पार्टी यस्तै रहेछ भनेर अमेरिकातिर नै भासिए भने अचम्म नमान्ने स्थिति बनेको’ समेत प्रतिवेदनमा उल्लेख छ। पार्टीप्रति र देशप्रति माया नदेखिएको र रास्वपा अवसरवादीहरूको झुन्ड भइसकेको उल्लेखसमेत उल्लेख छ।  

पुँजी नहुँदा स्थान छैन  

ढकालले प्रतिवेदनमा पुँजी नभएको मान्छेलाई पार्टीमा स्थान नै नरहेको विषय पनि उल्लेख गरेका छन्। ‘पैसा भएका मान्छे मात्र पार्टीमा आकर्षित भइरहेका छन्। गरिबहरूले राजनीति गर्ने होइन, अलिकति कमाइ छैन भने राजनीतिमा किन लाग्नुपर्‍यो भन्ने भनाइ पार्टीको उपल्लो तहको नेतृत्वबाट नै सुनियो,’ प्रतिवेदनमा भनिएको छ, ‘पार्टीलाई एलिट वर्गको पार्टीका रूपमा मात्र स्थापित गराउन यी भनाइहरूले काम गरेका छन्। वास्तवमा आज पार्टी एलिट वर्गको कब्जामा गइसक्यो।’  

पार्टी एनजिओजस्तो  

यस्तै ढकालले प्रतिवेदनमा पार्टी एनजिओजस्तो भएको पनि टिप्पणी गरेका छन् । पार्टीमा राजनीतिक संस्कार, बुझाइमा अत्यन्त कमी देखिएको उल्लेख गर्दैै विभिन्न विचारबाट आएकाहरू भएकाले प्रत्येक विषयमा अल्पमत र बहुमत के हुन सक्छ भनेर निर्णय गर्दा पार्टीको मूल विचार नै छायामा परेको उल्लेख छ। ‘एउटा एनजिओजसरी चल्न खोज्दा त्यसले पार्टीका कदमहरू राजनीतिक देखिन सकेन। पार्टी यसैका कारण तटस्थवाद, यथास्थितिवाद र तदर्थवादमा फसेको छ,’ प्रतिवेदनमा भनिएको छ।  

पार्टीभित्र निषेधको राजनीति  

ढकालको प्रतिवेदनमा संगठनभित्र अरूलाई गाली मात्र गर्ने प्रवृत्ति देखिएको र आफ्नो भिजन तथा योजना देखाउन नसकिएको, सस्तो लोकप्रियतालाई प्राथमिकता दिइएको, निषेधको राजनीति मौलाएको जसका लागि अनुशासन आयोगलाई पनि प्रयोग गरिएकोजस्ता विषय पनि उठाइएका छन्। यस्तै प्रतिस्पर्धी भावना र खुट्टा तानातान प्रवृत्ति देखिएको, पार्टीभन्दा व्यक्तिलाई बलियो बनाउने गरी दौडधुप भएको, फोटो खिचेर ठुलो मान्छे भइन्छ भन्ने प्रवृत्ति देखिएकोजस्ता विषय पनि प्रतिवेदनमा छन्।

गगनसँगको सहकार्यको खुलासा  

ढकालको प्रतिवेदनमा २०७९ को निर्वाचनमा नेपाली कांग्रेसका महामन्त्री गगन थापासँग सहकार्य भएको खुलासा गरेका छन्। ‘मंसिरको चुनावका बेला गगन थापाका विरूद्ध सशक्त उम्मेदवार उठाई उनको राजनीतिलाई त्यहीं विराम लगाइदिने रणनीति बदलिएर गगनलाई जित्न सहज हुने वातावरण जुन सिर्जना गरिदियौं, त्यसले आज हामीलाई चोट पुर्‍याएको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘हुन त गगनले आफूलाई जित्न सहज वातावरण बनाइदिएकै कारण आफ्ना पक्षधरलाई घन्टीमा भोट हाल्न लगाउँदा प्रत्यक्षमा दुई सिट नाफा हुन पुग्यो।’

 गगनसँगको सहकार्यले न तात्कालिक फाइदा दियो न अहिले फाइदा भयो भनेर टिप्पणी पनि गरिएको छ। ‘गगनसँग त्यतिबेला गरेको रणनीतिक सहकार्य विफल भएको समीक्षा गर्नुपर्ने हुन्छ,’ प्रतिवेदनमा भनिएको छ।  

ओली–दाहाल होइन बालेनसँग मिलौं  

ढकालको प्रतिवेदनमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग मिल्नुभन्दा काठमाडौं महानगरका मेयर बालेन्द्र (बालेन) साहसँग मिल्नुपर्नेमा जोड दिइएको छ। ‘बालेन, गोपी हमाल र हामी मिल्ने हो भने २०८४ मा स्पष्ट बहुमत मिल्ने संकेत छ,’ प्रतिवेदनमा भनिएको छ, ‘आजका दिनमा ओली र प्रचण्ड (दाहाल) सँग सम्झौता गर्नुको साटो बालेनसँगको सहकार्यलाई प्राथमिकता दिनु हितकर छ।’  

विवेकशील बन्ने खतरा

ढकालको प्रतिवेदनमा रास्वपा अहिलेकै अवस्थामा आम चुनाव भए एकदुई सिटमा खुम्चिनेसम्मको टिप्पणी छ। ‘आज पार्टीको वर्तमानमा जनमत छैन। जनमत जति छ, त्यसको आधारमा आज नै चुनाव हुने हो भने पार्टी हम्मेहम्मे तरिकाले राष्ट्रिय पार्टी बन्ला र प्रत्यक्षमा एकदुई सिट जित्ला,’ प्रतिवेदनमा भनिएको छ, ‘भोलिका दिनहरू आजकै स्थितिअनुसार अघि बढे पार्टीको हालत विवेकशीलसरि हुनेछ।’

प्रकाशित: २१ असार २०८१ ०६:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App