पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका संयोजक डा.बाबुराम भट्टराईले शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटार पुगेर संयोजक भट्टराईले प्रधानमन्त्री दाहालसँग भेटवार्ता गरेका हुन् ।
भेटमा पूर्वप्रधानमन्त्री भट्टराईले अधिकार सम्पन्न प्राधिकरणमार्फत समग्र बुढीगण्डकी करिडोर विकासका कामलाई तीव्रता दिन प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराएका थिए । अहिलेको विद्युत् प्राधिकरण मातहत रहेका सहायक कम्पनीको कमजोर संरचना खारेज गरी अधिकार र साधनस्रोत सम्पन्न ‘बुढीगण्डकी करिडोर विकास प्राधिकरण’ तुरुन्त गठन गर्न डा. भट्टराईको माग छ ।
उनले आयोजना प्रभावित क्षेत्रका जनताका जायज माग तत्काल सम्बोधन गर्न पनि प्रधानमन्त्री दाहालसँग आग्रह गरेका छन् । प्रधानमन्त्री दाहाललाई तीन बुँदे ज्ञापनपत्र बुझाउँदै डा. भट्टराईलेआगामी भदौभित्र माग पूरा गर्न प्रधानमन्त्री दाहाललाई समयसीमा दिएका छन् ।
माग पूरा नभए असोज १ गतेदेखि आन्दोलन गर्ने उनको चेतावनी छ ।
प्रकाशित: १४ असार २०८१ १७:४२ शुक्रबार