७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सांसदको प्रश्न: एसईईमा विद्यार्थी अनुर्तिण भएका हुन् कि सरकार ?

सांसदहरुले एसईई परीक्षामा ५२ प्रतिशत भन्दा बढी अनुत्तिर्ण भएका भन्दै यस सम्बन्धमा गहन अध्ययन गर्नुपर्ने धारणा राखेका छन्।

शुक्रवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसदहरुले एसईई परीक्षाको परिणामप्रति असन्तुष्टि व्यक्त गरेका हुन्।  

उनीहरुले ५२ प्रतिशतभन्दा बढी विद्यार्थीहरु अनुत्तिर्ण हुनुको कारण खोजबिन गर्नुपर्ने बताएका छन्। सांसदहरुले धेरै विद्यार्थीहरु अनुत्तिर्ण हुनेको दोष सरकारकै रहेको बताएका छन्।

बैठकमा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले ५२ प्रतिशत विद्यार्थी असफल हुनु भनेको राष्ट्र नै असफल हुनु भएको टिप्पणी गरे। उनले नेपालको शिक्षा प्रणाली र सरकार नै असफल भएको बताए। उनले यसप्रति शिक्षा मन्त्रालयलाई गम्भीर हुन आग्रह गरे।

उनले भने, ‘हिजो प्रकाशित एसईईको परिणामले हाम्रो अगाडी ठुलो प्रश्नचिन्ह खडा गरेको छ। ५२ प्रतिशत असफल हुनु भनेको यो राष्ट्र नै असफल हुनु हो। शिक्षा प्रणाली नै असफल हुनु हो । र सरकार असफल हुनु हो। म यसरी बुझ्छु। शिक्षामन्त्रीको ध्यानाकर्षण गराउँछु ५२ प्रतिशत विद्यार्थीको मनस्थिति कस्तो होला? मनोविज्ञान कस्तो होला? शिक्षा मन्त्रालय गम्भीर हुनुपर्छ, यसको बारेमा अध्ययन गर्नुपर्छ यिनीहरु किन अनुत्तिर्ण भए त? विद्यालयको कमजोरी हो कि? शिक्षा नीतिको कमजोरी हो कि? विद्यार्थीहरु आफैको कमजोरी हो कि?  अध्ययन गरेर जरो पत्ता लगाऔँ।’

त्यस्तै नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले विद्यार्थी अनुर्तिण भएका हुन् कि सरकार अनुत्तिर्ण भएको हो भनि प्रश्न गरे। उनले शिक्षामा गुणस्तरियता नभएका कारण यस प्रकारको परिणाम आएको बताए। उनले २ लाख ४२ हजारभन्दा बढी विद्यार्थीहरुलाई उच्च शिक्षा पढ्ने हैसियत छैन भनेर सरकारले भन्न नमिल्ने बताए।

उनले भने, ‘विद्यार्थी फेल भएका हुन् कि सरकार फेल भएको हो? सरकारका असफलताका कारणले विद्यार्थीहरुलाई अयोग्य ठहराइयो। सरकारले गुणस्तरियता वृद्धि गरेर धेरै विद्यार्थीलाई पास गर्न लाग्नुपथ्र्यो। सरकार त्यतातिर लागेन। सरकारले त्यसरी पास, फेल गर्ने प्रणालीलाई नै अन्त्य गरेर सबैलाई ग्रेडिङ सिस्टमभित्र पास हुने व्यवस्था ग¥यो। यसले शिक्षाको गुणस्तर कायम गर्न सकेन। सरकारले यस वर्ष पास र फेलको प्रणाली विकास गरेको छ। ५२ प्रतिशत भन्दा बढी ग्रेडिङभित्र परेन। ५२ प्रतिशत विद्यार्थी फेल भएका हुन् कि सरकार फेल भएको हो ? सरकारलाई २ लाख ४२ हजार ३१३ जना मानिस तिमी अयोग्य हौ। तिमी पढेर खान सक्दैनौँ । उच्च शिक्षा पढ्ने तिम्रो हैसियत छैन भनेर घोषणा गर्न मिल्छ? सरकारले नागरिकलाई त्यसरी अयोग्य घोषणा गर्न सक्छ? शिक्षामा गुणस्तरियता नभएकोले यस्तो भएको हो।’

बैठकमा बोल्दै जनता समाजवादी पार्टी, नेपालकी सांसद रेखा यादवले विद्यार्थीहरु अनुत्तिर्ण हुनुको कारणको अध्ययन गर्नुपर्ने धारणा राखिन्।

उनले ५० वर्षे पुरानो शिक्षा नीतिको ढर्रा कहिले तोड्ने ? भनि प्रश्न समेत गरिन्।  

प्रकाशित: १४ असार २०८१ १५:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App