प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले नेपाली नागरिकलाई रुसी सेनामा नपठाएको बताएका छन्।
परराष्ट्र मन्त्रालयको बजेटमाथि सांसदले सोधेका प्रश्नको मंगलबार प्रतिनिधिसभा बैठकमा जवाफ दिँदै उनले यस्तो बताएका हुन्।
उनले जुनसुकै माध्यमबाट युद्ध मैदानमा पुगे पनि उनीहरूलाई फिर्ता ल्याउने पहल जारी रहेको उनले जानकारी गराए।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले नेपालमा प्रधानमन्त्री र सरकार छ कि छैन भन्ने प्रश्न सोधेका थिए।
‘रुसी सेनामा भर्ती भएका नेपाली फिर्ता ल्याउन के पहल भएको छ ?’ भन्दै प्रश्न गरेका थिए। उनले ‘यो देशमा सरकार र प्रधानमन्त्री पनि छ ?’ भन्ने प्रश्न गरेका थिए।
त्यसको जवाफमा प्रधानमन्त्रीले आफू युद्ध लडिरहेकासँग राति १२ बजे पनि संवाद गरेको बताए।
'प्रश्न सोध्ने माननीयज्यू यहीँ हुनुहुन्छ कि जानुभयो ? नेपालमा प्रधानमन्त्री छ र त्यो पनि अहिले प्रचण्ड भन्ने मान्छे प्रधानमन्त्री छ,' उनले भने, “सरकारले पठाएर रुसी सेनामा गएका हैनन्। जे भए पनि नेपाली नागरिक जानु र युद्धमा मारिनु दुःखद कुरा हो।'
प्रकाशित: ११ असार २०८१ १३:३० मंगलबार