११ असार २०८१ मंगलबार
image/svg+xml
राजनीति

खानेपानी निर्वाचनमा केन्द्रीय राजनीतिक प्रभाव

गठबन्धन दलका साझा उम्मेदवारलाई हराउँदै कांग्रेसका उम्मेदवार विजयी

खानेपानीको निर्वाचनमा विजयी उम्मेदवारहरु।

केन्द्रीय सत्ता गठबन्धनको प्रभाव सुर्खेतको एक खानेपानी आयोजनामा देखिएको छ।

सुर्खेतको गुर्भाकोट नगरपालिकास्थित सुभाघाट सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको नयाँ कार्यसमिति चयनका लागि सत्ता गठबन्धन दलहरु र प्रमुख प्रतिपक्षी दल कांग्रेसबीच निर्वाचन भएको छ।

नेकपा एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीले गठबन्धन गरेर खानेपानीको निर्वाचनमा होमिएका थिए भने कांग्रेसले छुट्टै प्यानल बनाएको थियो।

तीन हजार ६ मतदाता रहेको खानेपानी आयोजनाका लागि शनिबार मतदान भएको थियो। कुल मतदाता मध्ये दुई हजार ६५ जनाले मतदान गरेका थिए।

निर्वाचनमा गठबन्धन दलका साझा उम्मेदवारलाई पराजित गर्दै कांग्रेसको प्यानलै विजयी भयो। निर्वाचन समितिका अनुसार गठबन्धन दलका उम्मेदवारले पुतली चुनाव चिन्ह पाएका थिए भने कांग्रेसका उम्मेदवारले कैँची चुनाव चिन्ह पाएका थिए।

यस्तै स्वतन्त्र उम्मेदवारहरुको संख्या पनि उल्लेख्य थियो। अध्यक्ष पदका लागि सात जना उम्मेदवार चुनावी मैदानमा थिए।

आइतबार सार्वजनिक भएको निर्वाचन परिणाम अनुसार खानेपानी संस्थाको अध्यक्षमा कांग्रेस उम्मेदवार पदम खत्री निर्वाचित भएका छन्। उनले ६३९ मत प्राप्त गरे। गठबन्धन दलका साझा उम्मेदवार नेकपा एमालेका टेकबहादुर रोकाय ‘सुरेश’ ले ५८९ मत प्राप्त गरे।

परेवा चुनाव चिन्ह पाएका राप्रपाका लक्ष्मीप्रसाद शर्माले ३३ मत प्राप्त गर्दा कांग्रेसबाट विद्रोही उम्मेदवार बनेका कृष्णबहादुर विक (बोतल चुनाव चिन्ह) ले ४६७ मत प्राप्त गरे। यस्तै अटो चुनाव चिन्ह लिएका सूर्यदीप रेग्मीले ११७ मत प्राप्त गरे।

उपाध्यक्षमा कैँची चुनाव चिन्ह लिएका कांग्रेसका पदमलाल शर्मा निर्वाचित भए। उनले ८३० मत प्राप्त गर्दा प्रतिद्वन्द्वी गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका जयबहादुर डाँगीले ७३६ मत प्राप्त गरे।

सचिवमा कांग्रेसका उम्मेदवार गोविन्द वलीले ८३३ मत प्राप्त गरेर विजयी भए भने प्रतिद्वन्द्वी गठबन्धन दलका उम्मेदवार धर्मेन्द्र पुनले ७९४ मत प्राप्त गरे।

यस्तै, कोषाध्यक्षमा कांग्रेसबाट उम्मेदवार बनेकी लक्ष्मीकुमारी पाण्डेले ८१९ मत प्राप्त गरेर विजयी भइन् भने दुर्गादेवी वलीले ६८९ मत प्राप्त गर्दै पराजित भइन्।

महिला सदस्यमा कैँची चुनाव चिन्ह लिएकी मेनुका विक विजयी भइन्। उनले ८५३ मत प्राप्त गर्दा प्रतिद्वन्द्वी पुतली चुनाव चिन्ह लिएकी बेलकुमारी वलीले ७३६ मत प्राप्त गरिन्।

यस्तै, खुल्ला सदस्यमा कैँची चुनाव चिन्ह लिएका कृष्ण परियार ८५१ र यानबहादुर नगाल ८३१ मत ल्याएर विजयी भए। पुतली चुनाव चिन्ह लिएर चुनावी मैदानमा उत्रिएका बुँदे रानाले ७१९ र हर्कबहादुर डाँगीले ६३९ मत ल्याएर पराजित भए।

यसअघि नै गठबन्धनका उम्मेदवार महिला सदस्यमा जैसरा विक र खुल्ला सदस्यमा  रुपकुमारी विक निर्विरोध निर्वाचित भइसकेका थिए।

प्रकाशित: २ असार २०८१ १४:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App