३ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

विपद्‌बाट जनता जोगाउन ‘टास्क फोर्स’ बनाउँदै गृह मन्त्रालय

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले मनसुन सुरु भएसँगै जेठ १९ देखि असोज १९ सम्म विपद् जोखिमबाट जनतालाई राहत र उद्धारको लागि गृहमन्त्रालयको नेतृत्वमा ‘टास्क फोर्स’ बनाउने बताएका छन्।

सोमबार सिंहदरबारस्थित गृहमन्त्रालयमा मनसुन सम्बन्धि विपद् जोखिम सम्बन्धि सरोकारवालहरुसँगको छलफलमा बोल्दै उपप्रधान तथा गृहमन्त्री लामिछानेले यस्तो बताएका हुन्।

उनले वर्षायाम शुरु भएसँगै मनसुन जन्य विपतमा जनताको उद्धार राहतको लागि नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना, सडक विभाग, हेलिकप्टर व्यवसायीको प्रतिनिधि, मौसम पूर्वअनुमान, जल तथा मौसम विभागको प्रतिनिधित्व हुनेगरी तीन दिनभित्र ट्याक्स फोर्स बनाउने बताए।

उनले उक्त ट्याक्स फोर्सले तीन दिन भित्रमा विपद्बाट जनतालाई जोगाउनको लागि गर्नुपर्ने काम र अधिकारका विषयमा कार्ययोजना सहितको कार्यविधि बनाउन निर्देशन दिए।

मनसुन शुरु भएकाले प्राकृतिक विपद्मा जनताको राहत र उद्धार गर्नु राज्यको दायित्व भएको भन्दै उनले जोखिम आउनु भन्दा पहिला नै राज्यले तयार गर्नु आवश्यक रहेको जिकिर गरे।

उनले ट्याक्स फोर्सले सम्पूर्ण अधिकार पाउने गरी कार्यविधि बनाएर कामको थालनी गर्न निर्देशन दिएका छन्।

‘एक वर्षको मनसुनको लागि एउटा कार्यविधि बन्छ। अफ्ठ्यारो परेको अवस्थामा कानूनी अड्चन नहुने गरी कार्यविधि बनाउनुपर्छ। त्यसको लागि मैले मन्त्रीपरिषद् वा कसरी काम गर्नुपर्छ तत्काल दिनुस्। तीन दिनभित्र सबै निकायहरुसँगको समन्वयमा ट्याक्स र्फोस बनाउनु होला। समितिमा सडक विभाग, हेलिकप्टर एशोसिएशनका प्रतिनिधि, मौसम पूर्वअनुमान, जल तथा मौसम विभागको प्रतिनिधित्व हुने गरी बनाउनुस्।’ उनले भने।

उपप्रधानमन्त्री लामिछानेले बाढी पहिरोको कारण सडक अवरुद्ध हुँदा तत्कालको लागि बेलीब्रिज आवश्यक पर्ने भएकाले बेलीब्रिजको अवस्था तत्काल सार्वजनिक गरी व्यवस्थित गर्न पनि निर्देशन दिएका छन्।

साथै बाढी पहिरो लगायतका जोखिममा रहेका घरपरिवारलाई सुरक्षित स्थानमा सार्ने काम तत्काल गर्नेगरी टिम तयारी बनाउन निर्देशन दिए।

‘विपतमा सरकारले निर्णय गर्न नसक्दा कुनैपनि नागरिकको ज्यान जानु भएन। त्यो निर्णय कहाँबाट गर्न सकिन्छ तीन दिनभित्रमा कार्ययोजना बनाएर मलाई दिनुस्। विपतमा राज्यले तत्काल उद्धार गर्नसक्ने गरी अहिलेदेखि तयारी गरौं। अति जोखिमको क्षेत्रमा सरकार तत्काल पुग्नुपर्छ।’ उनले भने।

उनले यो वर्षको मनुसन जन्य विपद् जोखिमबाट बचाउने र जोखिम परे तत्काल उद्धार गर्ने र जनतालाई सरकार भएको अनुभुति हुनेगरी काम गर्ने लक्ष्य रहेको बताए।

प्रकाशित: १४ जेष्ठ २०८१ १५:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App