१४ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

दलीय घेराबन्दीमा संसद्, मंगलबारको बैठक अझै सुरु भएन

सहमति जुटाउने नाममा बारम्बार छलफल

फाइल तस्बिर

प्रतिनिधि सभाको मंगलबारका लागि बोलाइएको बैठक अझै सुरु हुन सकेको छैन । बिहान ११ बजे बस्ने तयारी भएको बैठक सहमतिका लागि सभामुख देवराज घिमिरेले पहल जारी राखेपछि सुरु हुन नसकेको हो ।

विपक्षी दलका प्रमुख सचेतक र सचेतकसँग प्रारम्भमा छलफल गरेका सभामुख घिमिरेले अहिले सबै दलका प्रमुख सचेतकसँग समूहिक छलफल गरिरहेका छन् ।  

मार्सल लगाएर प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार विश्वासको मत लिएपछि रुष्ट बनेको कांग्रेसले संसदीय छानबिन समिति गठन नभएसम्म अब संसद चल्न नदिने अडान सभामुखसँगको छलफलमा राखेको छ । 

सोमबारको प्रतिनिधिसभा बैठकमा सभामुख घिमिरेको भूमिकामाथि नै कांग्रेसले प्रश्न उठाउँदै दलको कार्यकर्ता जस्तोमात्र देखिएको टिप्पणी गरेको थियो ।  

सहकारी ठगी प्रकरणमा गठन गर्ने भनिएको संसदीय छानबिन समितिको कार्यादेशलाई दलहरुले अझै टुंगो लगाउन भने सकेका छैनन् । जसका कारण संघीय संसदका दुवै सदन पछिल्लो समय दलीय घेराबन्दीमा पर्दै आएका छन् । 

राष्ट्रिय सभाको बैठक पनि मंगलबारै दिउँसो सवा एक बजेका लागि बोलाइएको छ। सहमति नजुटे राष्ट्रियसभा पनि नियमित कार्यसूचीमा प्रवेश गर्न नसक्ने पक्का छ । 

प्रकाशित: ८ जेष्ठ २०८१ १२:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App