७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
राजनीति

कोशीमा नयाँ सरकार गठनको दाबी गर्ने समय भोलि साँझ ५ बजेसम्म

कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गले नयाँ सरकार गठनका लागि भोलिसम्मको समय तोकेका छन्।

बुधवार प्रदेश प्रमुख खापुङ्गले सविधानको धारा १६८ को उपधारा ५ बमोजिम कोशीमा सरकार गठनको आह्वान गर्दै भोलिसम्मका लागि समय तोकेका हुन्।

खापुङ्गले प्रदेश सरकार गठन गर्न कोशी प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न सक्ने कोशी प्रदेश सभाका कुनै सदस्यलाई वैशाख २८ गते शुक्रवार अपराह्न ५ बजेभित्र आफ्नो दाबी पेस गर्न आह्वान गरेका छन्।

गत असोज २७ मा कांग्रेसबाट विद्रोह गरेर संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री बनेका केदार कार्की अब कामचलाउ बनेका छन्।

फागुन २१ मा प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेससँगको सहयात्रा तोडेर एमालेसित गठबन्धन गरेपछि कार्की नेतृत्वको कोशी सरकार संकटमा परेको थियो।

चैत २६ मा एमाले र माओवादी सांसदहरूले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै मुख्यमन्त्री कार्कीलाई विश्वासको मत लिन निर्देशनसहित प्रदेश सभाबाट संकल्प प्रस्ताव पारित गरेका थिए। समर्थन फिर्ताको ३० दिन मङ्गलवार राति १२ बजे सकिएको भन्दै एमाले र माओवादीले बुधवार नयाँ सरकार गठनको माग गर्दै प्रदेश प्रमुखलाई निवेदन दिएका थिए।

प्रदेश प्रमुखले नयाँ सरकार गठनको आह्वान गरेसँगै हालका कामचलाउ मुख्यमन्त्री कार्की अदालत जाने तयारीमा छन्।  

प्रकाशित: २७ वैशाख २०८१ ०७:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App