५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

युट्युबर ध्रुव राठी : मोदी सत्ताका एक्ला प्रतिपक्षी !

भारतमा जारी लोकसभा चुनावको तेस्रो चरणअन्तर्गत मंगलबार गुजरातमा मतदान हुँदै छ। यसबेला भारतीय जनता पार्टी (भाजपा) का कार्यकर्ता एवं प्रधानमन्त्री नरेन्द्र मोदीका प्रशंसक बडोदराका गणेशभाइ नेपाल भ्रमणमा छन्। मुक्तिनाथको दर्शन सकेर पोखरा हुँदै काठमाडौं फर्केका गणेशले चुनावमा भोट हाल्न नभ्याए पनि भाजपाले नै चुनाव जित्नेमा चाहिँ ढुक्क रहेको बताए।

‘हामीले भोट हालौं, नहालौं, मोदीले चुनाव जित्छन्,’ सुन्धारास्थित चाइना टाउनमा किनमेल गर्न आएका गणेशभाइले भने, ‘हामी ढुक्क छौं।’ मोदीका प्रतिस्पर्धी नहुँदा उनले निर्वाचन जित्नेमा आफू ढुक्क भएको उनी सुनाउँछन्। ‘तपाईं नै भन्नुस् न, मोदीलाई हराउन सक्ने को छ?’ भाजपाभन्दा पनि मोदीलाई केन्द्रित गर्दै उनले भने, ‘समग्र देशमा मोदीले जित्नेछन्।’

अहिले भारतमा भारतीय कांग्रेस आई पार्टी कमजोर भएको उनको भनाइबाट प्रस्ट बुझिन्छ। ‘बरु केजरीवालसँग केही डर लाग्थ्यो,’ उनले हाँस्दै भने, ‘केजरीवाल जेल परेपछि ढुक्क छ।’ भारतीय राजनीतिमा प्रमुख प्रतिपक्षीका रूपमा उदाउँदै गरेका अरविन्द केजरीवाल ‘रक्सी घोटाला’ मा संलग्न रहेको आरोपमा जेल परेका छन्।

गुजरातका २६ सिटमै भाजपा एक्लैले उम्मेदवार उठाएको छ। त्यहाँ भारतीय कांग्रेस आईले २४ र केजरीवालको आम आदमी पार्टीले दुई स्थानमा उम्मेदवारी दिएका छन्। ‘उनीहरू मिले पनि भाजपालाई डर छैन,’ गणेशभाइ भन्छन्, ‘हामी भाजपाले चुनाव जित्नेमा ढुक्क छौं।’

सुन्धारामा भेटिएका २५ गुजरातीमध्ये दुईजना मात्र भारतीय कांग्रेसका कार्यकर्ता थिए। बाँकी सबै मोदी र भाजपाले निर्वाचन जित्नेमा ढुक्क छन्। उनीहरू ढुक्क भए पनि कांग्रेसप्रति सहानुभूति राख्ने विजेन्द्रभाइ भने यसपटक फरक नतिजा आउने सुनाउँछन्। ‘यो भाजपाको हल्ला मात्र हो,’ उनले भने, ‘यसपटक नतिजा फरक आउने छ।’

चाइना टाउनमा आएका गुजरातीजस्तै पशुपतिनाथ मन्दिर किनारमा भेटिएका मध्यप्रदेशका ज्ञानेशसिंह पनि मोदीले चुनाव जित्नेमा ढुक्क छन्। उनी पनि गणेशभाइले भनेजस्तै यतिबेला प्रधानमन्त्री मोदीलाई टक्कर दिने प्रतिपक्षी नभएको बताउँछन्।

‘मोदीले चुनाव जिते केही अचम्म हुनेछैन,’ उनी भन्छन्, ‘चुनावअगाडि नै धेरैले आकलन गरेका छन्, फेरि पनि मोदी सरकार आउनेछ।’ विगतका चुनावमा भाजपाको नाम आए पनि अहिलेको चुनाव मोदीको भएको उनी सुनाउँछन्। ‘हामीलाई पार्टीको नामभन्दा पनि मोदीको चुनावजस्तो लाग्छ,’ ज्ञानेशसिंह भन्छन्, ‘उनकै लोकप्रियताले चुनाव चर्चामा छ।’

भारतमा चुनाव जारी छ तर यसैबेला नेपाल आउने पर्यटकको पनि कमी छैन। भारतका विभिन्न राज्यबाट धार्मिक पर्यटनमा आएका उनीहरूले मत नहाले पनि आफ्नो राय राख्न भने पछि परेनन्। ‘हाम्रोमा त ‘दिदी’ (ममता बनर्जी) ले चुनाव जित्ने पक्का छ,’ पश्चिम बंगालका विक्रम रायले भने, ‘पश्चिम बंगालमा मोदी लहर छैन।’

भारतीय निर्वाचन आयोगले सार्वजनिक गरेको तालिकाअनुसार पहिलो चरणको मतदान १९ अप्रिल, दोस्रो चरणको २६ अप्रिलमा सकिएको छ। त्यसैगरी तेस्रो चरणको ७ मेमा, चौथो चरणको १३ मेमा, पाँचौं चरणको २० मेमा, छैटौं चरणको २५ मेमा र सातौं चरणको १ जुनमा मतदान हुने निर्वाचन आयोगले जनाएको छ।

सबै चरणमा खसेको मतको गणना ४ जुन (जेठ २२) मा सुरु हुनेछ। धेरैले वर्तमान प्रधानमन्त्रीको अगुवाइमा भाजपाले चुनाव जित्ने आकलन गरेका छन्। वर्तमान सरकारको कामभन्दा पनि कमजोर विपक्षीका कारण भाजपाले चुनाव जित्ने उनीहरूको बुझाइ छ।

‘मोदी सरकारले गरेका वाचा अझै पूरा गरेको छैन,’ उत्तर प्रदेशका विनय यादव भन्छन्, ‘फेरि पनि जनताले प्रधानमन्त्री मोदीको पार्टी भाजपालाई नै भोट हाल्ने देखिएको छ।’

कतिपय स्वतन्त्र विश्लेषक भने चुनावअगाडि नै चुनाव जित्ने यो हल्ला मोदी सरकारको हल्ला मात्र भएको बताउँछन्। सरकारी संयन्त्र र सञ्चार माध्यम प्रयोग गरेर एकोहोरो रूपमा मोदी लहर ल्याउन खोजिएको उनीहरूको बुझाइ छ। ‘म कुनै पार्टीसँग आबद्ध छैन तर मोदी सरकारको काम मलाई मन परेको छैन,’ दिल्लीका मनोज गुप्ता भन्छन्, ‘तर मैले अर्को गतिलो विकल्प पनि पाएको छैन।’

गणेश, विक्रम, ज्ञानेश र मनोजको व्यक्तिगत धारणले ९६ करोड ८८ लाख २१ हजार ९२६ मतदाता रहेको भारतको निर्वाचनमा खासै ठुलो प्रभाव नपार्ला। तर, विभिन्न भूगोलबाट आएका उनीहरूको रायले आम भारतीय मतदाताको भावनाको भने प्रतिनिधित्व गर्ने छ।

नयाँ सरकारका लागि वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदी र कांग्रेस अध्यक्ष राहुल गान्धीबिच प्रतिस्पर्धा हुने देखिएको छ। यीबाहेक देशभर सयभन्दा बढी पार्टी पनि प्रतिस्पर्धामा रहने अधिकारीहरूले बताएका छन्। तर त्यो प्रतिस्पर्धा टक्करको नभएको कतिपयको बुझाइ छ।

विपक्षीहरू एक भएर चुनाव लडेजस्तो देखिए पनि साँचो अर्थमा एक हुन नसकेको कतिपयको धारणा छ। विपक्षीहरू साँचो अर्थमा एक हुन नसक्दा मोदीका विभिन्न नाटक चलिरहेका उनीहरू सुनाउँछन्।

यसअघि  लगातार दुई निर्वाचनमा बहुमत प्राप्त गरी भारतीय जनता पार्टी (भाजपा) का नेता मोदी प्रधानमन्त्रीमा निर्वाचित भएका हुन्।  हिन्दु राष्ट्रवादी मुद्दा, मोदीको व्यक्तिगत लोकप्रियता, आकर्षक चुनावी नारा, पाकिस्तानसँगको लडाइँलगायतका कारण मोदीले निर्वाचन आफ्नो पक्षमा पार्न सफल भएको बताउने गरिएको छ।

यसपटक  अयोध्यामा राममन्दिर निर्माण गरेर चुनाव लड्न लागेको कतिपयको बुझाइ छ। भारतीय जनताको मनस्थिति बुझ्न सक्ने क्षमता रहेका कारण मोदी फेरि पनि सफल हुने कतिपयको तर्क छ।

सत्तामा लगातार रहेकाले राज्य संयन्त्र र सञ्चार माध्यमसमेत प्रभावमा पार्न सकेका कारण संसारको सबैभन्दा ठुलो लोकतान्त्रिक देशमा भारतीय जनता पार्टी र तिनका नेता मोदीलाई चुनौती दिन सक्नेको कमी हुँदै  गएको महसुस गरिएको छ।

भारतका चर्चित  युट्युबर ध्रुव राठी भने मोदी सरकार विपक्षीलाई जेलमा हालेर एक्लै चुनाव लड्न चाहेको आरोप लगाउँछन्।  वर्तमान समयमा निकै चर्चित राठीले भारतीय लोकतन्त्रका लागि यो खतरनाक अवस्था रहेको औंल्याएका छन्।

‘सिङ्गो भारतका एक्ला प्रतिपक्षी’  

प्रतिस्पर्धामा आउन सक्नेलाई विभिन्न बाहनामा जेल पठाउने गरेको आरोप लागेको वर्तमान सरकारलाई चुनौती दिनेको सङ्ख्या भारतमा एकदमै कमी देखिएको छ। भारतका चर्चित मिडियामा समेत मोदी प्रभाव परेको समयमा झिना मसिना विरोधको स्वर दबिन थालेको छ।

कालो बादलमा चाँदीको घेरा भनेजस्तै एक युट्युबरले भने सिङ्गो भारतमा लोकतन्त्रको पक्षमा आवाज उठाउँदै आएका छन्। प्रमुख प्रतिपक्षीहरूले समेत विरोधको चर्को स्वर निकाल्न नसकेको अवस्थामा उनी प्रखर आलोचक भएर निस्केका छन्। उनी हुन्– ध्रुव राठी। भारतीय लोकतन्त्रको निराशाको कालो आकाशमा राठी  ध्रुव ताराजस्तै चम्किएका छन्।

हिन्दी भाषामा भिडियो पोस्ट गर्ने भारतीय युट्युबरले मूल धारका मिडियामा नआउने, कम आउने कन्टेन्ट दिएर बलियो वैकल्पिक मिडियाकर्मीको रूपमा आशा जगाएका छन्। उनले तयार गरेका सामग्रीले केही क्षणमै करोडौं भ्युज पाउन थालेका छन्।

अरविन्द केजरीवाल जेलमा परेपछि उनले बनाएको ‘के भारतमा तानासाही सुरु भएको हो ? भन्ने भिडियो त निकै लोकप्रिय बनेको छ। चुनावको मुखमा भारतको इतिहासमै पहिलोपटक बहालवाला मुख्यमन्त्रीलाई दोषी प्रमाणित नभईकनै जेल हालिएको भन्दै राठीले केही अगाडि राहुल गान्धीका लागि पनि सांसदबाट अयोग्य घोषणा गरेर निकाला गरिएको कुरालाई सटिक ढंगले विश्लेषण गरेका छन्।

राठी विश्वका सर्वाधिक लोकप्रियमध्येका एक युट्युबर भएका छन्। उनका एक करोड ६६ लाख सब्स्क्राइबर छन्। राजनीतिक, सामाजिक, आर्थिक, ऐतिहासिक तथा मानवीय चासोका भिडिओहरू बनाउनु र तथ्य जाँच गर्ने काम राठीले गर्छन्। उनी भारतमा मात्र नभएर विश्वभर चर्चित छन्। उनलाई अमेरिकाको टाइम म्यागेजिनले सन् २०२३ मा अर्को पुस्ताका विश्व नेताहरूको सूचीमा उभ्यायो।

टाइम्स म्यागेजिनले उनलाई भारतीय तथ्य जाँचकीका रूपमा चिनाएको छ। भारतीय मिडियाको तथ्य जाँच गाह्रो भएको तर राठीले युट्युब प्रयोग गरेर तथ्य जाँच गरेको टाइम्सले लेखेको छ।

युट्युब अरू सामाजिक सञ्जालमा पनि चर्चित छन्। त्यसैले उनले  राखेको प्रस्ट विचारहरूले अर्थ राख्न थालेका छन्। यस्तो लाग्छ, लोकतन्त्रवादी भारतीयहरू राठीको आवाजमा आवाज मिलाउँदैछन्।

राठीको इन्स्टाग्राममा ३८ लाख, फेसबुकमा २६ लाख फलोअर छन्।  ‘ध्रुव राठी भ्लग्स’ भन्ने च्यानलमा उनका सब्स्क्राइबर २४ लाखभन्दा बढी छन्। ट्विटरमा उनका फलोअर १९ लाखभन्दा बढी छन्। उनी आफूलाई कुनै पार्टीको नभएर राष्ट्रवादी भन्छन्।

भारतीय नयाँ पिँढीका आशाका केन्द्रसमेत रहेका ध्रुवले राष्ट्रवादीको नारा दिने भारतीय जनता पार्टीलाई एक अर्थमा एक्लै चुनौती दिइरहेका छन्। अनि भारतीय जनता पार्टी राठीसँग भन्दा उनीसँग जोडिएका लाखौं आवाजसँग थोरै भए पनि डराउन थालेको देखिन्छ।

प्रकाशित: २२ वैशाख २०८१ ०६:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App