१९ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

‘२०८१ साल कांग्रेसका लागि मौका’

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले २०८१ साल कांग्रेसका लागि मौका भएको बताएका छन्। ‘संवाद यात्रा’ का क्रममा नेपालगन्ज आइपुगेका उनले शनिबार स्थानीय त्रिभुवन चोकमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘२०८० सालमा के–के भयो भनेर छलफल गरौं, समीक्षा गरौं। तर यसमै नअड्किऔं। २०८१ साल कांग्रेसका लागि मौका हो।’

२०८१ सालभर कांग्रेसले सरकारतिर आँखा लगाउन नहुने महामन्त्री थापाको तर्क छ। ‘आनन्दले प्रतीक्षामा बसौं, एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टीलगायत कोको पार्टीलाई सरकार चलाउन दिनुपर्ने हो, चलाउन दिऔं,’ उनले भने, ‘पार्टीको शुद्धीकरण, पार्टीलाई शुद्ध गरौं, संगठन सुदृढ गरौं, पार्टीलाई बलियो बनाऔं, हामी गठबन्धनको फोहोरमा जाकिएका थियौं, अब त्यसबाट बाहिर निस्कियौं।’

२०८१ सालमा नुहाईधुवाई गरेर गठबन्धनको फोहोरबाट बाहिर निस्कनुपर्ने महामन्त्री थापाले जोड दिए। ‘कांग्रेसले यो नयाँ वर्षमा के संकल्प गर्ने हो भने योभन्दा अगाडिको यात्रामा अब जति पटक चुनाव होला बरु चुनाव हारिएला, कांग्रेसको मान्छेले अब उपरान्त रुखबाहेक अरू चुनावचिह्नमा भोट हाल्दैन,’ उनले थपे।

कांग्रेस सरकारबाहिर बसे पनि एउटा विषयमा एमाले र कांग्रेसबीच संवाद हुन जरुरी रहेको बताए। ‘गठबन्धनको राजनीति अन्त्य गर्ने कुरामा कांग्रेस र एमाले मिलेर लड्नुपर्छ, मिल्छ सकिन्छ संविधान संशोधन गरौं, निर्वाचनको प्रणाली बदलौं, सकिँदैन भने कानुन भए पनि संशोधन गरौं,’ सरकार परिवर्तनको कुनै ठेगान नभएको बताउँदै महामन्त्री थापाले भने, ‘सरकार त कतिखेर बन्ने र कतिखेर जाने कसैलाई पनि थाहा छैन, यस्तो अवस्थामा हामी छौं, एउटा सरकार आएपछि बनाउने, अर्को सरकार आएपछि फाल्ने, अहिले भूमि आयोग फालियो, अदालतमा मुद्दा छ।’

संवाद यात्राका क्रममा आफूले समुदाय स्तरका ससाना कुरालाई पनि टिपोट गरेर राखेको बताए। यात्रा सकेपछि आफूले प्रधानमन्त्री पुष्पकमल दाहालसहित सबै दलका अध्यक्षलाई भेटेर समस्या समाधानका लागि आग्रह गर्ने बताए। ‘मैले टिपोट गरेका कुरालाई प्रधानमन्त्रीसमक्ष राख्नेछु, विभिन्न पार्टीका अध्यक्षलाई भेटेर पनि राख्नेछु, संसद्मा पनि बोल्नेछु,’ उनले भने।

प्रकाशित: २ वैशाख २०८१ ०७:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App