६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

सरकारले सहकारी ठगहरूको पक्षमा वकालत गर्‍यो: सांसद गौतम

नेपाली काँग्रेसकी सांसद प्रतिमा गौतमले सरकारले सहकारी ठगहरूको पक्षमा वकालत गरेको बताएकी छिन्।

सोमवार प्रतिनिधि सभा बैठकमा समय माग गरी बोल्दै सांसद गौतमले सरकारले सहकारी पीडितहरूलाई न्याय दिनुभन्दा पनि सहकारी ठगहरूको पक्षमा वकालत गरेको बताएकी हुन। उनले गृहमन्त्री रवि लामिछानेलाई सहकारी ठगको संज्ञा दिँदै प्रधानमन्त्रीले संसद्मा उभिएरै गृहमन्त्रीको पक्षमा न्यायाधीश जसरी फैसला सुनाएको बताइन। 

गौतमले प्रधानमन्त्री कार्यकारी पनि आफैँ र न्यायालय पनि आफैँ भएर प्रस्तुत भएको दाबी गरिन्।

उनले गृहमन्त्री लामिछानेले आफू विरुद्ध परेको उजुरीलाई चिर्कटोको संज्ञा दिएको उल्लेख गर्दै उजुरी ताम्र पत्र वा स्वर्ण पत्रमा लेख्ने चलन नभएको बताइन। गौतमले सत्ता गठबन्धनका नेताहरू सहयात्री दलका नेतालाई गुमाउनुपर्छ कि भनेर त्रासमा रहेको उल्लेख गरिन। सरकार टिकाउनका लागि गृहमन्त्रीमाथि सहकारी प्रकरणमा अनुसन्धान नभएको उनको भनाई छ।

सांसद गौतमले भनिन, ‘एउटा सहयात्री दलका अध्यक्ष गृहमन्त्री ज्युलाई गुमाउनुपर्छ कि भन्ने बडो मानसिक पीडामा सरकार रहेको देखियो। त्रसित भएको देखियो। सत्ता साझेदार दलका नेताहरू एउटा व्यक्तिलाई बचाउनु नै आफ्नो धर्म हो भन्ने ठानेझैँ सतिसालझैँ उभिनुभयो। हामी बुझ्दछौँ, सरकार टिकाउनुपर्ने अवस्था छ। सरकारभित्रका बाध्यता होलान्। तर सरकारका मुखिया र गठबन्धनका नेताहरूको कुरा सुन्दा लाग्छ, उहाँहरू सबै आइ एम द स्टेट भन्ने तथ्यमा पुग्नुभएको छ। उहाँहरू कार्यकारी पनि आफैँ हुनुहुन्छ। न्यायालय पनि आफैँ हुनुहुन्छ। वादी, प्रतिवादी दुवै आफै हुनुहुन्छ। अनि फैसला पनि सुनाउनुहुन्छ। आफ्नो अनुकूलमा उहाँहरूले आफ्नो फैसला सुनाउनुहुन्छ।’

उनले सरकार अहिले सहकारी पीडितलाई न्याय दिने कुरामा भन्दा उनीहरूलाई घर न घाटको बनाउने सहकारी ठगहरूको पक्षमा वकालत गरिरहेको आरोप लगाइन। फैसला 

‘प्रधानमन्त्रीज्यू यही संसद्मा आएर गृहमन्त्री रवि लामिछानेविरुद्ध परेको उजुरी कानुनी हिसाबले मुद्दा गर्न अयोग्य भएको फैसला दिनुहुन्छ। मानौँ, वासिङ मेसिनमा राखेर सफा, चट्ट पारेर निकालेको जस्तो गरेर बोल्नुहुन्छ। आरोपित गृहमन्त्रीज्यू आफू विरुद्ध परेको उजुरीलाई चिर्कटोको संज्ञा दिनुहुन्छ। उजुरी त कागजमै लेख्ने होला नि। ताम्र पत्रमा कि स्वर्ण पत्रमा लेख्ने चलन भए त्यो पनि हामीलाई जानकारी गराइदिए हुन्थ्यो नि’, सांसद गौतमले भनिन। 

उनले सहकारी समस्या छानबिनका लागि संसदीय समिति बनाउनुपर्ने बताइन। संसदीय समिति बनाउने प्रतिपक्ष दल काँग्रेसको मागलाई सहजतापूर्वक स्वीकार गर्न सबै दलहरूलाई उनको आग्रह छ।  

प्रकाशित: १९ चैत्र २०८० १२:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App