२७ फाल्गुन २०८२ बुधबार
image/svg+xml
राजनीति

कांग्रेसमा विशेष महाधिवेशनविरुद्ध दबाब: १७ भ्रातृ संगठनद्वारा संयुक्त अपिल

नेपाली कांग्रेसभित्र विशेष महाधिवेशन आह्वानको विषयले नयाँ विवाद चर्किएको छ। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको प्रस्ताव अघि सारेपछि संस्थापन पक्ष निकट १७ भ्रातृ संगठनले त्यसको विपक्षमा संयुक्त अपिल जारी गरेका हुन्।

अपिलमा वर्तमान राजनीतिक अवस्थामा देश र जनतालाई संकटबाट मुक्त गर्न पार्टी एक ढिक्का भएर अघि बढ्नुपर्नेमा जोड दिइएको छ। सभापति, पदाधिकारी तथा केन्द्रीय समितिको ध्यानाकर्षण गराउँदै अपिलमा भनिएको छ, ‘नियमित महाधिवेशनको मिति वैशाख २८ गतेदेखि ३१ गतेसम्म तोकिसकिएको छ र फागुन २१ गते आमनिर्वाचन सम्पन्न हुन गइरहेको परिप्रेक्ष्यमा पार्टी एकताबद्ध भएर अघि बढ्नुको विकल्प छैन।’

भ्रातृ संगठनहरूले यही संवेदनशील समयमा सबै नेता, कार्यकर्ता तथा शुभेच्छुकलाई संयमित र जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरेका छन्। पार्टीभित्र सबैको सहअस्तित्व स्वीकार गर्दै सहमतिमार्फत अघि बढ्नुपर्ने उनीहरूको धारणा छ।

यसैबीच, पुस २२ गते कार्यसम्पादन समितिको बैठकमा सहभागी हुन पार्टी कार्यालय प्रवेश गर्ने क्रममा कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिलगायत नेताहरूमाथि भएको कथित अपमानजनक व्यवहारको समेत उनीहरूले कडा निन्दा गरेका छन्। घटनाले पार्टीको छवि र आन्तरिक एकतामा नकारात्मक असर पर्ने भन्दै यस्ता गतिविधि रोक्न नेतृत्वलाई सचेत गराइएको छ।

प्रकाशित: २५ पुस २०८२ १५:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App