४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

संविधानमा समयानुकूल संशोधन आवश्यक: उपसभापति खड्का

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले संविधानलाई समयानुकूल संशोधन आवश्यक रहेको बताएका छन्।

उनले कांग्रेस नेतृत्वमा संविधान जारी गर्दा नै मधेसी, महिला, आदिवासी, जनजाति, धर्म–संस्कृतिसँग जोडिएका विषयहरू सम्बोधन गर्न बाँकी नै रहेकाले संविधान कार्यान्वयन गर्दै जाँदा ती कुराहरूलाई सम्बोधन गर्ने प्रतिबद्धता जारी गरिएको बताए।

‘संविधानसभामा मत हाल्नुअघि तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले आज संविधान जारी गरौँ, कार्यान्वयन गर्दै जाँदा महिला, आदिवासी, जनजाति, धर्म–संस्कृतिसँग जोडिएका विषयहरू संशोधनमार्फत सम्बोधन गरौँला भनेर बोल्नु भएको थियो,’ इसाई समाज सुर्खेतले आयोजना गरेको इष्टर महोत्सवको आइतबार उद्घाटन गर्दै उपप्रधानमन्त्री खड्काले भने, ‘अहिले संविधानमा लेखिएका कुराहरूलाई अक्षरस कार्यान्वयन गर्दै बाँकी रहेका विषयहरू समेट्न कांग्रेस सधैं तयार छ।’

पूर्व उपप्रधानमन्त्री तथा रक्षा मन्त्रीसमेत रहेका खड्काले संविधान, कानुन र ऐनहरूमा नमिलेका कुराहरूलाई संशोधन गर्न आवश्यक रहेको बताए। उनले सरकारले कुनै जातजाति, भाषा, धर्म र संस्कृतिमाथि भेदभाव गर्न नहुने पनि बताए। ‘नागरिकको मतबाट सञ्चालन भएको शासनमा भेदभाव संभव छैन,’ उनले भने, ‘राज्यले सबैकाप्रति समान व्यवहार गर्नुपर्छ, कहीँ पनि पक्षपात हुनु हुँदैन।’

उपसभापति खड्काले आफ्नै पार्टीको नेतृत्वमा जारी भएको संविधानप्रति कांग्रेस पूर्ण प्रतिबद्ध रहेको दोहो¥याए। ‘लोकतान्त्रिक पार्टी भएकाले पार्टीमा हरेक विषयमा खुल्ला छलफल हुन्छ, महासमितिको बैठकमा पनि भयो, धार्मिक विषयमा पनि कुरा उठ्यो’ उपसभापति खड्काले भने, ‘कांग्रेस आफ्नो नेतृत्वमा जारी भएको संविधानप्रति प्रतिबद्ध छ, दायाँ र बायाँ कुरै छैन।’

उनले संविधान जारी गर्दा काँग्रेससँगै साथमा रहेका दलहरु पनि संविधानप्रति पूर्ण प्रतिबद्ध रहेको बताए। ‘धर्म निरपेक्षता र धार्मिक स्वतन्त्रताका सवालमा त्यति बेला संविधान जारी गर्ने सबै दलहरु पनि पूर्ण प्रतिबद्ध छन्,’ उनले भने, ‘यसमा कसैले पनि शङ्काको दृष्टिकोणले हेर्नु हुँदैन।’ उनले संविधानमा रहेका केही कमीकमजोरी भने संशोधन गर्नु आवश्यक रहेको बताए।

प्रकाशित: १८ चैत्र २०८० १७:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App