१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

कांग्रेसले भन्यो, ‘गृहमन्त्री लामिछानेको राजीनामा एक मात्र विकल्प हो’

नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेको छ। नेपाली कांग्रेसका सांसद दीपक गिरीले प्रतिनिधिसभाको आकस्मिक समयमा उनको राजीनामा माग गरेका हुन्। ‘उपप्रधानमन्त्रीले राजीनामा दिनै पर्छ। रवि लामिछानेलाई प्रधानमन्त्रीले किन गृहमन्त्री नियुक्ती गर्नुभयो जवाफ दिनै पर्छ’, उनले भने।

करिब डेढ घण्टा पछि सुरु भएको बैठकमा बैठकको सुरुमै उठेर राजीनामा माग गरेको हो। ‘गृहमन्त्री नियुक्तिबारे तत्काल जवाफ दिनुस् प्रधानमन्त्री, बाहिर बाहिर जवाफ दिएर हुँदैन’, गिरीले भने।

नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछाने माथिको आरोप र उनलाई सरकारमा लगेकोबारे प्रधानमन्त्री पुष्पकमल दाहालले तत्काल जवाफ दिनुपर्ने अडान कायम राखेपछि मंगलबार ११ बजे बस्ने भनिएको प्रतिनिधिसभा बैठक अहिलेसम्म बस्न सकेको छैन।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र अन्य विपक्षी दलहरूले नयाँ गठबन्धन सरकार गठनपछि विभिन्न माग राखेर बैठक अवरुद्ध गर्दै आएका थिए। यी दलले आफ्ना प्रश्न र मागको सम्बोधन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्नुपर्ने माग राख्दै आएका छन्।

त्यसैले मंगलबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली कांग्रेसलगायत अन्य प्रतिपक्ष दलहरूले राखेका प्रश्नको जवाफ दिने कार्यक्रम छ। साथै प्रधानमन्त्री दाहालले निर्धारित कार्यक्रम अन्तर्गत सांसदहरूले उठाएका प्रश्नको जवाफ पनि दिने कार्यक्रम छ।

विशेष गरी नेपाली कांग्रेसले सहकारी प्रकरणमा मुछिएका रवि लामिछानेलाई किन उपप्रधानमन्त्री एवं गृहमन्त्री बनाएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रश्न गरिरहेको छ। यो प्रश्नको उत्तर प्रधानमन्त्रीले नै दिनुपर्ने अडान कांग्रेसले राख्दै आएको छ। अन्य प्रतिपक्ष दलहरूले पनि यही प्रश्न गरिरहेका छन्।

कांग्रेसले छानबिनको घेरामा रहेको व्यक्तिनै गृह मन्त्रालयको नेतृत्वमा रहँदा सहकारी ठगीका पीडितहरूले न्याय पाउन नसक्ने तर्क गरिरहेको छ। यसको जवाफ तत्काल दिनुपर्ने माग गर्दै गत शुक्रबार कांग्रेसले बेल समेत घेराउ गरेको थियो।

कांग्रेसले सभामुख देवराज घिमिरेलाई यस बिषयमा सरकारलाई रुलिङ गर्न दबाब पनि दिएको थियो। सभामुख घिमिरेले सरकारलाई कांग्रेसको मागबारे ध्यानाकर्षण गराएका थिए।

ध्यानाकर्षण पनि प्रधानमन्त्रीले जवाफ दिने निश्चित भएपछि प्रतिनिधिसभाका बैठक नियमित भएका थिए। 

यसैबिच उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नेपालीका कांग्रेसलाई ‘पढाउन’ आफू आतुर भएको प्रतिक्रिया दिएका थिए। उनले संसदमा बोल्ने मौका पाउने बित्तिकै नेपाली कांग्रेसलाई पढाउने उनले बताएका थिए। 

प्रकाशित: ६ चैत्र २०८० १२:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App