१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

बाबुरामको नसिबमा अर्को पार्टी फुट, महिन्द्र यादव समूह माओवादीमा समाहित

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टी (नेसपा) फुटेको छ। जनता समाजवादी पार्टी (जसपा) बाट फुटेर आउँदा सँगै आएका महिन्द्र राय यादव समूहले छुट्टिएर नेकपा माओवादी केन्द्रसँग शनिबार पार्टी एकता गर्ने सहमति गरेसँगै नेसपा फुटको संघारमा पुगेको हो।  

महिन्द्र पक्षधर नेसपाका महासचिव रमेशप्रसाद यादव र माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले आज चारबुँदे सहमतिपत्रमा हस्ताक्षर गर्दै माओवादी केन्द्रमा सहमति गर्ने निर्णय गरेका छन्।

यता बालुवाटारमा पार्टी माओवादी केन्द्रमा समाहित हुने सहमति हुँदै गर्दा नेसपा अध्यक्ष भट्टराई भने उपस्थित थिएनन्। बैठकमा अर्का अध्यक्ष यादव, सहअध्यक्ष गंगानारायण श्रेष्ठ र महासचिव रमेशप्रसाद यायद सहभागी थिए।

गएको संसदीय निर्वाचनका बेला माओवादी केन्द्र र नेसपाबीच पार्टी एकतासम्म गर्ने सहमति थियो। सोहीअनुरुप नेसपाका उम्मेदवारहरू माओवादी केन्द्रकै निर्वाचन चिन्हमा निर्वाचन लडेका थिए। तर पछिल्लो समय अध्यक्ष भट्टराई माओवादीसँग असन्तुष्ट देखिन थालेका थिए। यसैक्रममा माओवादी केन्द्रले पछिल्लो समय भट्टराईलाई उपेक्षा गर्दै अर्का अध्यक्ष यादवलाई महत्व दिन थालेको थियो।

केही समयअघि माओवादीले पार्टी एकीकरणका लागि यादवलाई नै पत्राचार गरेपछि भट्टराई झनै असन्तुष्ट बनेका थिए। त्यसपछि उनले आफ्नो दलबाट निर्वाचित सांसदहरूलाई माओवादी केन्द्रबाट अलग गर्दै नेसपामा सूचीकृत गरिदिन संसद् सचिवालयदेखि निर्वाचन आयोगसम्म निवेदन दिएका थिए।

यसैक्रममा अध्यक्षद्वय भट्टराई र यादवबीच मतभिन्नता झन् चुलिएको थियो। भट्टराई समूह नेसपालाई माओवादी केन्द्रसँग एकीकरण नगरी वैकल्पिक राजनीतिक यात्रामा नै लैजाने भनिरहँदा यादव समूह माओवादी केन्द्रमा समाहित गराउने पक्षमा थियो। यही मतभिन्नता पार्टी फुटसम्म पुगेको छ।

२०७२ सालमा संविधान जारीभएसँगै माओवादीसँगको सहयात्रा पूर्णविराम लगाउँदै भट्टराईले वैकल्पिक शक्ति निर्माण गर्ने भन्दै नयाँ शक्ति पार्टी खोलेका थिए। त्यसपछि २०७४ सालमा नयाँ शक्ति र उपेन्द्र यादव तथा अशोक राईको पार्टी संघीय समाजवादी फोरमसँग एकता गर्दै समाजवादी पार्टी नेपाल बनेको थियो।

उक्त पार्टी जुट र फुट हुँदै जसपा बनेको थियो। २०७९ मा जसपासँग छुट्टिएर भट्टराईले नेपाल समाजवादी पार्टी गठन गरेका थिए।

प्रकाशित: ३ चैत्र २०८० १२:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App