सत्ता गठबन्धन टुटेर नयाँ गठबन्धन बनेसँगै त्यसको पराकम्पन प्रदेश सरकारमा देखिएको छ।
सुदूरपश्चिम प्रदेशमा नेपाली काँग्रेसबाट मुख्यमन्त्री बनेका कमलबहादुर शाहले मंगलबार आफ्नो सरकारमा रहेका नेकपा माओवादी केन्द्रका मन्त्रीहरुलाई बर्खास्त गरेका छन्। केन्द्रमा सत्ता गठबन्धन टुटेपछि मुख्यमन्त्री शाहले माओवादी केन्द्रका दुई जना मन्त्री र राज्यमन्त्रीलाई बर्खास्त गरेका हुन।
मुख्यमन्त्री शाहले उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रमेश धामी, सामाजिक विकास मन्त्री झपट साउँद र उद्योग राज्यमन्त्री गितादेवी माललाई बर्खास्त गरिएको पत्रकार सम्मेलन नै आयोजना गरेर जानकारी दिए।
२०७९ माघ २६ गते मुख्यमन्त्री नियुक्त भएका मुख्यमन्त्री शाहले गत जेठ ६ गते मन्त्री धामी, साउँद र मुख्यमन्त्री माललाई नियुक्त गरेका थिए।
गठबन्धनको विषयमा निर्णय लिइनसकेका नेकपा एस र नागरिक उन्मुक्ति पार्टीका मन्त्रीहरु प्रदेश सरकारमा रहने वा बाहिरिने भन्ने टुंगो लाग्न सकेको छैन। सुदूरपश्चिम प्रदेशसभामा ७ प्रदेश सभा सदस्य भएको नागरिक उन्मुक्ति पार्टी सरकारको लागी निर्णायक मानिँदै आएको छ।
गत मंसिर ४ गते भएको निर्वाचनबाट निर्वाचित सुदूरपश्चिम प्रदेश सभामा एक्लै सरकार बनाउन कुनै पनि दलको बहुमत छैन।
गत वर्षको पुस १० गते निर्वाचन अघि भएको सत्ता गठबन्धन भत्केर नयाँ गठबन्धन बनेपछि नेकपा एमालेका संसदीय दलका नेता राजेन्द्र सिंह रावलले ५३ सदस्यीय प्रदेश सभाका २९ (बहुमत) सदस्यको हस्ताक्षर जुटाएर वि.सं. २०७९ पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए।
रावलले नेकपा एमालेका १०, माओवादी केन्द्रका ११, नागरिक उन्मुक्ति पार्टीका ७ र राप्रपाका १ गरि २९ प्रदेश सभा सदस्यको हस्ताक्षर सहितको हस्ताक्षर बुझाएर मुख्यमन्त्री नियुक्त भएका थिए।
मुख्यमन्त्री नियुक्त हुँदा हस्ताक्षर गरेका नागरिक उन्मुक्ति पार्टीका ७ प्रदेश सभा सदस्यले विश्वासको मत नदिएपछि मुख्यमन्त्री रावलको सरकार विस्तार गर्न नपाउँदै एक महिनामै (माघ २६ गते) ढल्न पुग्यो।
संविधानको धारा १६८ को १ बमोजिम कुनै दलको बहुमत नपुगेकाले १६८ को २ बमोजिम उनी मुख्यमन्त्री नियुक्त भएका थिए।
रावलको सरकार विश्वासको मत प्राप्त गर्न नसकेर ढलेपछि संविधानको धारा १६८ को ३ बमोजिम प्रदेश सभामा सबैभन्दा ठूलो दलको नेताका हैसियतले नेपाली काँग्रेसका संसदीय दलका नेता कमल बहादुर शाह २०७९ माघ २६ गते मुख्यमन्त्री नियुक्त भएका थिए। फागुन महिनामा केन्द्रमा सत्ता गठबन्धन बदलिएपछि मुख्यमन्त्री शाहले सहजै विश्वासको मत पाउन सफल भए।
नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र नेकपा एकीकृत समाजवादी प्रदेश सरकारमा सहभागी भएका थिए।
पुन सत्ता गठबन्धन बदलिएसँगै सुदूरपश्चिम प्रदेश सरकार पनि धरापमा परेको छ। नागरिक उन्मुक्ति पार्टी नयाँ सत्ता गठबन्धनमा सहभागी भएमा प्रदेश सरकार अल्पमतमा पर्ने छ। नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेशमा निर्णायक मानिएको छ।
५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा सुदूरपश्चिम प्रदेश सभामा नेपाली काँग्रेसका १८, माओवादी केन्द्रका ११, नेकपा एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७, नेकपा एकीकृत समाजवादीका ४, राप्रपा १ र स्वतन्त्र १ प्रदेश सभा सदस्य रहेका छन् भने। एक सदस्य पद रिक्त रहेको छ।
प्रकाशित: २२ फाल्गुन २०८० २०:३९ मंगलबार