१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

संकटमा गठबन्धन

सरकार सञ्चालनमा गठबन्धन गरिरहेका  नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच असमझदारी बढ्दै गएपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सक्रियता बढेको छ। राष्ट्रियसभा अध्यक्ष कांग्रेस र माओवादी केन्द्र कसले लिने भन्ने विषयमा असमझदारी बढ्दै जाँदा ओलीले सक्रियता बढाएका हुन्।

कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूले आइतबार सभापति शेरबहादुर देउवालाई भेटेर सरकार सञ्चालनमा देखिएको समस्याबारे अवगत गराएका थिए। उनीहरूले सत्ता गठबन्धनभित्र माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले एमाले अध्यक्ष ओलीसँग अस्वाभाविक रूपमा भेटघाट गरिरहेको र राष्ट्रियसभा अध्यक्ष कांग्रेसलाई नदिने गरी गठबन्धन भत्काउन लागिपरेको ब्रिफिङ गरेका थिए। उनीहरूले गठबन्धन जोगिने अवस्थामा सामूहिक राजीनामा दिने पनि वचन दिएका थिए।

कांग्रेसका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूले प्रधानमन्त्रीको हेपाइमा परेको समेत बताएका थिए। प्रधानमन्त्रीले अर्थमन्त्री, स्वास्थ्यमन्त्रीलगायतलाई निकृष्ट व्यवहार गरेको र गठबन्धन जोगिने सर्तमा त्यो पनि सहेर बसेको उनीहरूले बताएका थिए।

‘हामीले सभापतिलाई सबै कुरा भनेका छौं। गठबन्धनमा रहने-नरहने भन्ने सोमबार बस्ने  दलहरूको बैठकबाट निर्भर हुन्छ,’ सभापति देउवासँग छलफलपछि फर्केका एक मन्त्रीले भने। उनका अनुसार देउवाले सरकारमा रहेका मन्त्रीहरूसँग छलफल गरेलगत्तै सोमबार बिहान ८ बजे सत्ता गठबन्धनको बैठक बोलाउन प्रधानमन्त्री दाहाललाई आग्रह गरेका छन्।

कांग्रेसका मन्त्रीहरूले सभापतिसँग छलफल गरिरहेको अवस्थामा एमाले अध्यक्ष ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अध्यक्ष रवि लामिछानेसँग प्रधानमन्त्रीले छुट्टाछुट्टै छलफल गरेका थिए। आइतबार साँझ उनीहरूसँग प्रधानमन्त्री दाहालले छलफल गरेको सुइँको पाएपछि देउवाले मन्त्रीहरूको राजीनामा रोकेका थिए।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले प्रधानमन्त्री र अध्यक्ष ओलीबीचको भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको बताए । ‘प्रधानमन्त्रीले बोलाएपछि विपक्षी दलको नेता जानु स्वाभाविक हो। भेटघाटमा अहिलेको राजनीतिक परिस्थितिबारे छलफल भएको हुन सक्छ,’ उनले भने।

दाहाल–ओली भेटपछि माओवादीका नेताहरू वर्षमान पुनलगायत बालुवाटार पुगेका थिए। राति बालकोटस्थित ओलीनिवासमा एमाले नेताहरूले पछिल्लो पटक विकसित राजनीतिक घट्नाक्रमबारे छलफल गरेका छन्। एमाले नेताहरू ईश्वर पोखरेललगायत बालकोट छलफलमा सहभागी थिए। यसैगरी माधव नेपालको निवासमा पनि नेकपा एकीकृत समाजवादी (नेकपा एस) का नेताहरूबीच विकसित राजनीतिक  घटनाक्रमबारे छलफल भएको छ।

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक आइतबार पारित गर्ने तयारी भए पनि कांग्रेसकै कारण रोकिएको प्रधानमन्त्रीको बुझाइ छ। त्यसले गर्दा पनि गठबन्धनमा दुई पार्टीबीच बढी दरार आएको बताइन्छ। 

एमालेले यसअघि असहमति जनाउँदै आएको गम्भीर मानवअधिकार उल्लंघनका घटनाको परिभाषामा दोहोरो भिडन्तमा मृत्यु भएका बाहेक ‘स्वेच्छाचारी’ रूपले गरेको हत्या भन्ने विषयमा ‘नियतवश’ शब्द थपेर अगाडि बढाउन सहमति जनाएको थियो। तर कानुनमन्त्री धनराज गुरुङले थप छलफल गर्ने भन्दै त्यसलाई रोकिदिए। कानुनमन्त्री गुरुङको यो कदमले पनि प्रधानमन्त्री दाहाल हच्किएको स्रोतको दाबी छ।

दिउँसो संसदीय समितिमा टिआरसी विधेयक रोकिएपछि प्रधानमन्त्रीसँग माओवादीका नेताहरूले कांग्रेससँगको सहकार्य टुटाउन दबाब दिएका थिए। सत्ता गठबन्धनमा आएको खटपटपछि एमाले अध्यक्ष ओली, महासचिव शंकर पोखरेल, रास्वपा सभापति लामिछाने, माओवादी उपमहासचिव वर्षमान पुन, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवबीच छलफल भएको छ। छलफलपछि एमाले उपाध्यक्ष विष्णु पौडेल, माओवादी नेता वर्षमान पुनसहित प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच पनि भेटघाट भएको छ।

आइतबार साँझ दाहाल र ओली तथा दाहाल र लामिछानेबीच भएको भेटघाटले कांग्रेस तर्सिएको छ। यो विषयले सोमबारको सत्ता गठबन्धनमा रहेका दलहरूको बैठकमा प्रवेश पाउने भएको छ। माओवादी प्रवक्ता अग्नि सापकोटाले नेताहरू परस्पर रूपमा भेटघाट गर्दैमा गठबन्धन नटुट्ने बताए।

‘नेताहरूबीच संसद्मा उठेका विषयमा संवाद भइरहेका हुन्छन्। यसले गठबन्धन टुट्छ भन्ने हल्ला फिँजाउनु भ्रम फैलाउनु मात्रै हो,’ प्रवक्ता सापकोटाले भने। सोमबार बिहान बस्ने भनिएको गठबन्धन बैठकमा अहिलेको राजनीतिक परिस्थितिबारे छलफल हुने नेकपा एसका प्रवक्ता जगन्नाथ खतिवडाले बताए। ‘राष्ट्रियसभा अध्यक्षको निर्वाचन, मन्त्री हेरफेरको विषय र अन्य राजनीतिक परिस्थितिबारे छलफल हुन सक्छ,’ उनले भने।

गठबन्धनभित्र गम्भीर समस्या आएकै कारण परराष्ट्रमन्त्री एनपी साउदको फिनल्यान्ड भ्रमण एकाएक रद्द भएको छ। ‘विशेष परिस्थिति’ भन्दै परराष्ट्र मन्त्रालयले भ्रमण स्थगित गरेको हो। ‘विशेष परिस्थितिका कारण परराष्ट्रमन्त्री पूर्वनिर्धारित कार्यक्रमअनुसार हेलसिन्की प्रस्थान गर्न सक्षम हुनुभएन,’ परराष्ट्र मन्त्रालयले एक सूचनामार्फत जानकारी दिएको छ।

परराष्ट्रमन्त्री साउदको भ्रमण स्थगित गर्न लगाएर देउवाले मन्त्रीहरूलाई छलफलका लागि बोलाएका थिए। गत पुसदेखि नै प्रधानमन्त्री दाहालले कार्यक्षमतामाथि प्रश्न उठाएर मन्त्री हेरफेर गर्ने जनाएका थिए। शनिबार मात्रै मन्त्री हेरफेरबारे सहमत भएका देउवाले आइतबार भने कांग्रेसका तर्फबाट सहभागी सबै मन्त्रीको राजीनामा लिने सोच बनाएका थिए। तर दाहाल–ओलीको भेटले मन्त्रीहरूको राजिनामा लिनेभन्दा पनि गठबन्धन दलको बैठकमा छलफल गरेर मात्रै मन्त्रीहरू फिर्ता बोलाउने तयारी गरेको स्रोतको दाबी छ।

प्रकाशित: २१ फाल्गुन २०८० ०६:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App