१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

पार्टी तथा भ्रातृ संस्थाभित्रका अन्याेलमा मुख्य पदाधिकारी जिम्मेवार : महर

फाइल तस्बिर

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टी, भ्रातृ तथा शुभेच्छुक संस्थाको जीवन्तताका लागि मूल नेतृत्वका रूपमा रहेका पदाधिकारी दोषी रहेकाले सच्चिनु आवश्यक रहेको औंल्याएका छन्।

नेपाल विद्यार्थी संघका केन्द्रीय समतिको फागुन १५ गते बैठकका लागि काठमाडौंमा बोलाइएका केन्द्रीय सदस्यहरूको बैठक अहिलेसम्म पनि बस्न नसकेपछि शनिबार बिहान महरको सचिवालय बानेश्वरमा गुनासो गर्न पुगेका संघका केन्द्रीय नेताहरुसँगको छलफलपछि महरले पाँचजना पार्टी पदाधिकारीको स्वार्थका कारण थुप्रै समस्या उत्पन्न भइरहेको बताएका छन्।

’पार्टी शीर्ष नेतृत्वको जिम्मा लिएकाहरुको फाइदाका लागि युवा विद्यार्थीलाई गुट–उपगुटमा विभक्त गरेर झगडा पार्ने काम भएकाले अहिलेसम्म नेविसंघको बैठक बस्न सकेको छैन। भर्खर सम्पन्न महासमितिले उत्साहप्रद निर्णय गर्न सकेन, भ्रातृ संस्था क्रियाशील हुन सकेका छैनन्, पार्टीका विभाग गठन हुन सकेका छैनन् र विधान कार्यान्वयन हुन सकेको छैन’, उनले भने।

व्यक्तिगत लेनदेनका लागि पदाधिकारीले जस्तोसुकै सम्झौता गर्ने र आम कार्यकर्ता, आम जनता, पार्टीको जीवन्तता र पार्टीलाई जनतासँग जोड्ने सवालमा क्रियाशील नदेखिनु चिन्ताको विषय भएको उनले बताए।

‘महासमिति बैठको प्रस्ताव लेखनका लागि संयोजक तोकियो। प्रस्ताव लेखनका लागि समिति निर्माण गर्ने भन्ने थियो। समिति निर्माण नगरेरै र केन्द्रीय समितिका साथीहरू तथा आम कार्यकर्तासँग समन्वय नगरेरै एकैपटक प्रस्ताव केन्द्रीय समितिमा लगियो।

त्यसरी आएको प्रस्ताव परिमार्जनसहित पास गरियो भनियो। महासमितिको हलमा जाँदा प्रस्ताव व्यक्तिगत तवरले प्रस्तुत गरियो। यद्यपि त्यो केन्द्रीय समितिको थियो’, महरले भने।

महासमिति बैठकलगत्तै नेविसंघले केन्द्रीय समिति बैठक आह्वान गरेकोमा सबैको सहयोग हुनुपर्नेमा त्यस्तो हुन नसकेको भन्दै उनले असन्तुष्टि जनाए। उनले १५ फागुनका लागि तय भएको बैठक विभिन्न गुट–उपगुटका कारण प्रभावित भइरहेको टिप्पणी गरे।

कांग्रेसका मूल पदाधिकारी र मुख्य प्रतिस्पर्धी नेता शेखर कोइरालालगायतले प्रशिक्षणात्मक मन्तव्य दिएर बैठक अगाडि बढाउन प्रेरित गर्नुपर्नेमा त्यो तदारुकता कसैमा नदेखिएको बताए। ‘बैठकलाई अगाडि बढाएर शीर्ष नेताहरूले नेविसंघको गति, नेविसंघले खेल्नुपर्ने भूमिका, यसका कामको महत्त्वलगायत विषयमा संवाद गरिनुपर्थ्याे, त्यो हुन सकेन। देशभरबाट आएका केन्द्रीय सदस्यहरू चार दिनदेखि काठमाडौंमा अलपत्र हुनुहुन्छ’, उनले भने।

यस्तो हुँदा पार्टीमा युवाले भविष्य नदेख्ने र युवा आकर्षण कम हुनेतर्फ नेतृत्व चिन्तित हुनुपर्ने महरको धारणा छ।

व्यक्ति बलियो बन्न, गठबन्धन बलियो बनाउन, पद प्राप्त गर्न र गुट बलियो बनाउन नेताहरु चनाखो देखिए पनि आम जनता र कांग्रेसको भविष्यका बारेमा चिन्तित नदेखिनु चिन्ताको विषय भएको महरले बताए।

प्रकाशित: १९ फाल्गुन २०८० १३:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App