१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

आफ्ना ‘प्लान’ तुहिन थालेपछि आत्तिए देउवा, बैठकका लागि डाँके उपसभापति र महामन्त्रीहरू

सत्तारुढ गठबन्धनमा खटपट भइरहेका बेला नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आकस्मिक रूपमा ‘छलफल गर्न भन्दै’ उपसभापति र महामन्त्रीहरूलाई आफ्नो निवास बुढानीलकण्ठमा डाँकेका छन्।

उनले आजै तीन बजेका लागि निवासमा बोलाएका हुन। बैठकमा उपसभापतीद्वय पूर्णबहादुर खड्का, धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा पुग्दै छन्। राष्ट्रिय सभा अध्यक्षको निर्वाचन र उम्मेदवार तय र केन्द्रीय समिति बोलाउने एजेन्डामा बैठक हुन लागेको पार्टी स्रोतले जानकारी दिएको छ।

त्यसो त पछिल्ला घटनाक्रमहरू हेर्दा सत्तारुढ गठबन्धन भित्र खटपटका सङ्केत देखिएका छन्। हिजो मात्र सरकारको नेतृत्व गरिरहेको सत्तारुढ गठबन्धन दलमध्येको एक नेकपा माओवादी–केन्द्र«ले राष्ट्रिय सभा अध्यक्षको निर्वाचनमा आफ्नै उम्मेदवार उठाउने निर्णय गरेपछि तरङ्ग उत्पन्न भएको छ।

यति मात्र होइन भर्खरै सम्पन्न नेपाली कांग्रेसको महासमिति बैठकमा महामन्त्री गगन थापाको ‘निर्वाचन अघि गठबन्धन’ गर्न नहुने प्रस्ताव सर्वसम्मत रूपमा पारित भयो। यसबाट गठबन्धनको आडमा सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी–केन्द्र« अतालिएको छ। यसले गर्दा सकारले पछिल्ला दिनहरूमा गरेका विभिन्न कारबाही रूपमा पनि त्यसको छनक आउन थालेको बुझाइ सर्वसाधारणको छ।

यसअघिसम्म कांग्रेसले कृष्णप्रसाद सिटौलालाई राष्ट्रिय सभा अध्यक्षमा गठबन्धनको उम्मेदवारका रूपमा अघि सार्ने गृहकार्य गरेको थियो। विशेष गरी सभापति देउवाकै पहलमा सत्ता गठबन्धनबाट सिटौला उम्मेदवार बन्ने निश्चित जस्तै भएको थियो। तर माओवादी केन्द्रको स्थायी कमिटी बैठकले आफ्नै उम्मेदवार उठाउने निर्णय गरेपछि कांग्रेसको यो ‘प्लान’ तुहियो।

कांग्रेसको हालै सम्पन्न महासमिति बैठकबाट सर्वसम्मत रूपमा पारित भएका सबै प्रतिवेदनहरू केन्द्रीय समितिले अनुमोदन गर्नुपर्ने प्रावधान पनि छ। यस विषयमा पनि बिहीबारको बैठकमा छलफल हुने पार्टी स्रोतले बताएको छ। 

प्रकाशित: १७ फाल्गुन २०८० १४:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App