१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

माओवादी केन्द्रले तोक्यो प्रदेशका इन्चार्ज र सह इन्चार्ज (विवरणसहित)

नेकपा (माओवादी केन्द्र) को बुधवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले विभिन्न नेताहरूको कार्यविभाजन गरेर जिम्मेवारी तोकेको हो।

बैठकले प्रदेश इन्चार्ज र सह इन्चार्ज पनि तोकेको छ जसअनुसार कोशी प्रदेशको इन्चार्जको जिम्मेवारी उपमहासचिव हरिबोल गजुरेललाई दिएको छ भने सह–इन्चार्जको जिम्मेवारी सावित्रीकुमार काफ्लेलाई दिएको छ।

मधेस प्रदेशको इन्चार्ज सचिव लिलामणि पोखरेल र सह इन्चार्जको जिम्मेवारी स्थायी कमिटी सदस्य विश्वनाथ शाहले पाएका छन्। त्यस्तै बागमती प्रदेशको इन्चार्जको जिम्मेवारी उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटालाई दिइएको छ।

बागमतीमा सह इन्चार्ज तोकिएको छैन। प्रवक्ता सापकोटाकाअनुसार गण्डकी प्रदेश इन्चार्ज सचिव दिनानाथ शर्मा र सह इन्चार्ज हरिराज अधिकारीलाई दिइएको छ। त्यस्तै लुम्बिनी प्रदेशको इन्चार्जको जिम्मेवारी सचिव चक्रपाणि खनाल र सह इन्चार्जको जिम्मेवारी कुलप्रसाद केसीले पाएका छन्।

कर्णाली प्रदेश इन्चार्ज कालिबहादुर मल्ल बनेका छन् भने सह इन्चार्ज तोक्न बाँकी राखिएको छ। त्यसैगरी सुदूरपश्चिम प्रदेश इन्चार्ज गिरिराजमणि पोखरेल र सह इन्चार्ज केन्द्रीय सदस्य बिना मगरलाई बनाइएको छ।

प्रवक्ता सापकोटाले प्रवास प्रदेश समिति मध्यपूर्वको इन्चार्ज उपाध्यक्ष पम्फा भुसाल, प्रवास प्रदेश समिति भारत प्रदेशको इन्चार्ज लक्ष्मण पन्त र सह इन्चार्ज टिबी पाठक तथा प्रवास प्रदेश समिति युरोप अमेरिका इन्चार्ज सुरेन्द्रकुमार कार्कीलाई तोकिएको जानकारी दिए।

बैठकले विशेष प्रदेश समितिको इन्चार्ज हितमान शाक्य र सह इन्चार्ज यशोदा सुवेदीलाई बनाएको पनि उनले जानकारी दिए। माओवादी केन्द्रले मधेस÷तराई राष्ट्रिय जागरण अभियान चैत्र १५ गतेदेखि र हिमाल–पहाड–मधेस राष्ट्रिय एकता अभियान वैशाख १५ गतेदेखि गर्ने निर्णय गरेको छ । त्यस्तै स्थानीयदेखि संघीय जनप्रतिनिधिहरू भने आफ्नो निर्वाचित जिम्मेवारीमा नै रहने निर्णय भएको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए।

स्थायी कमिटी बैठकले मिटरब्याजी पीडित लघुवित्त पीडित र दुग्ध उत्पादक कृषकको समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण समेत गराएको छ। सञ्चारकर्मीहरूको जिज्ञासाको जवाफ दिँदै प्रवक्ता सापकोटाले राष्ट्रिय सभा अध्यक्षमा पार्टीले उम्मेदवारी दिने निर्णय गरेको पनि बताए।

प्रकाशित: १६ फाल्गुन २०८० १२:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App