१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

एमाले देखाउँदै कांग्रेस कज्याउँदै प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल र उनी नेतृत्वको सरकारविरुद्ध प्रमुख प्रतिपक्षी दल नेकपा एमाले कडा रूपमा उभिँदै आएको छ। एमालेका सांसदहरूले संसद् बैठकमा सबैभन्दा बढी आलोचना प्रधानमन्त्री दाहालकै गरेका छन्। प्रधानमन्त्री संसद् छलेर हिँडेको आरोपसमेत उनीहरूले लगाएका छन्।

फागुन १० गते एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री दाहालका विषयमा कडा टिप्पणी गरे । पार्टी केन्द्रीय कमिटीको बैठकपछि पत्रकार सम्मेलनमा बोल्दै ओलीले कुनै व्यक्ति, कुनै पार्टीका विषयमा सरकार नै निर्लज्ज हुने काम भएको बताएका थिए । ‘प्रधानमन्त्रीलाई यसमा अप्ठ्यारो लाग्नुपर्दैन ? प्रधानमन्त्रीले मन्त्री हटाउनुपर्दैन ? मन्त्रीले राजीनामा नदिने भए आफूले हटाउनुपर्दैन ? मन्त्री निर्लज्ज भयो भने प्रधानमन्त्री, सिंगै सरकार नै निर्लज्ज हुने ?’ ओलीले भनेका थिए । सोही पत्रकार सम्मेलनमै उनले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला तथा स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेतलाई लक्ष्य गरेर भनेका थिए, ‘सरकारले नैतिकता नै छाडिदिने ? भ्रष्टाचारको अभियोग लागेकाहरू झन्डा हालेर हिँडिरहेका छन् ।’ आइतबार पनि ओलीले विवादित मन्त्रीको राजीनामा आउनुपर्ने जिकिर गरे । तर प्रधानमन्त्री दाहालबारे भने उनले खासै टिप्पणी गरेनन् ।

प्रधानमन्त्री दाहाल पनि एमालेलाई खासै चिढ्याउने पक्षमा देखिन्नन् । एमालेले मध्यपहाडी यात्रामार्फत देखेका समस्या समाधानका लागि ज्ञापनपत्र बुझाउने क्रममा दाहालले त्यसमा लेखिएका विषयलाई सम्बोधन गर्न आफू तयार रहेको मात्र बताएनन्, सार्वजनिक रूपमै मध्यपहाडका समस्या साझा भएको अभिव्यक्तिसमेत दिए । यसले पछिल्लो चरणमा माओवादी अध्यक्ष एवं प्रधानमन्त्री दाहाल एमालेप्रति नरम रूपमा प्रस्तुत हुँदै आएको देखाउँछ ।

महासमिति बैठकको आसपासमा कांग्रेसभित्र २०८४ सालमा हुने निर्वाचन लक्षित बहस चलिरहेको थियो । त्यसक्रममा माओवादीका नेताहरूले पनि आफूहरू एक्लै चुनाव लड्न सक्ने हैसियतमा रहेको प्रतिक्रिया सार्वजनिक गरे । उता कांग्रेसमा गठबन्धन गर्ने कि नगर्ने बहस चलिरहेका बेला अहिलेको गठबन्धनमा कुनै पनि असर नपर्ने आश्वासनसमेत प्रधानमन्त्रीले पाइरहे । तर त्यसबीचमा प्रधानमन्त्री दाहालले एमाले अध्यक्ष ओलीसँग औपचारिक रूपमै निरन्तर भेटघाट गरे । उनले कहिले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित त कहिले ओलीसँग मात्रै भेटघाट गरे ।

जानकार स्रोतका अनुसार दाहाल र ओलीको भेटघाट बालुवाटार र सिंहदरबारबाहिर पनि पटकपटक भएका छन् । माघ अन्तिम साता बालुवाटरस्थित एक व्यापारीको घरमा दुई नेताबीच करिब दुई घण्टा भेट भएको थियो । त्यसको चाजोपाँजो मिलाउने जिम्मा माओवादीका तर्फबाट उपमहासचिव वर्षमान पुन र एमालेका तर्फबाट सचिव रघुवीर महासेठले पाएका थिए । तर उनीहरू भने भेटघाटमा सामेल भएनन् । त्यसपछि पनि दाहाल र ओलीबीच दुई पटक गोप्य भेटघाट भएको स्रोतको दाबी छ । ‘माघ तेस्रो साता एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहालबीच गोप्य भेटघाट भयो तर उपलब्धि भएन,’ स्रोतले भन्यो । एमालेका एक नेताले प्रधानमन्त्री दाहालले ‘ललिपप’ देखाइरहेको बताएका छन् । ‘कांग्रेसलाई देखाउन मात्रै भेटघाट गरेजस्तो देखिन्छ । एमाले माओवादीको ललिपपमा यसपल्ट फस्दैन,’ ती नेताले भने । कांग्रेसमा अप्ठेरो परेको अवस्थामा एमालेसँग टाँसिने मेसो मिलाउन दाहालले गोप्य भेटघाट गरेको हुन सक्ने उनको आकलन छ ।

एमाले र माओवादीभित्र मिलेर सरकार बनाउनुपर्ने कसरतमा एकथरी नेताहरू सक्रिय रहेका कारण पनि उनीहरूको भेटघाट सम्भव बनेको स्रोतको दाबी छ । यद्यपि उनीहरूबीच गोप्य भेटघाट भएको विषय स्वतन्त्र रूपले भने पुष्टि हुन सकेको छैन । गोप्य भेटघाट भएको भन्ने विषयलाई दुवै दलका नेताहरूले अस्वीकार गर्दै आएका छन् । नेकपा एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले प्रधानमन्त्रीले बोलाएपछि विपक्षी दलका नेताले भेटघाट गर्नु स्वाभाविक भएको बताए । ‘प्रधानमन्त्रीले बोलाउनुहुन्छ, विपक्षी दलका नेता जानुलाई सामान्य रूपमा लिनुपर्छ । दुई नेताहरूको भेटघाटमा मुलुकको राजनीतिक परिस्थितिबारे छलफल हुनु पनि सामान्य नै हो,’ उनले भने । उनका अनुसार प्रधानमन्त्री दाहालको जोड सत्यनिरूपण तथा मेलमिलाप (टिआरसी) सम्बन्धी विधेयकको विषयमा छ । तर एमालेको धारणा पीडितले न्याय पाउने गरी विधेयक आए अवरोध नहुने भन्ने छ । तर गौतमले प्रधानमन्त्री र विपक्षी दलका नेताहरूको गोप्य भेटघाटबारे भने केही जानकारी नभएको स्पष्ट पारे ।

वर्तमान गठबन्धनबारे प्रधानमन्त्री दाहालको धारणा सार्वजनिक नभएसम्म माओवादीसँगको सहकार्यबारे सोच्न पनि नसकिने एमाले नेताहरूले बताएका छन् । गठबन्धनबारे दाहालको धारणा सार्वजनिक भएपछि मात्र त्यसबारे एमालेले सोच्न सक्ने ती नेताहरूको भनाइ छ । ‘दुई नेताबीच खुला वा गोप्य जुनसुकै भेटघाट भए पनि गठबन्धनबारे सर्वप्रथम माओवादी प्रस्ट हुनुपर्छ । बार्गेनिङ हुने तहबाट कुरा आइरहँदा वा दोस्रो–तेस्रो तहका नेताहरूले मात्र कुरा गर्दा केही हुँदैन,’ एमालेका एक पदाधिकारीले भने ।

माओवादीले शीर्ष नेताहरूको भेटघाटलाई गोप्य नै राख्न चाहेको छ । ‘हामी सबैको चाहना वाम गठबन्धन बनोस् भन्ने हो । त्यसमा एमाले सहभागी होस् भन्ने पनि हो । त्यही आधारमा समाजवादी मोर्चाका तर्फबाट वाम गठबन्धनको कुरा उठाइएको हो । यसमा एमाले सकारात्मक हुनुपर्छ,’ माओवादीका एक पदाधिकारीले भने । ती पदाधिकारीका अनुसार दुई नेताबीचको कुराकानी पनि अघिल्ला विषयहरूलाई बिर्सेर अब कसरी अघि बढ्ने भन्ने नै छ । तर यसलाई बाहिर ल्याउनुपर्ने आवश्यकता नभएको ती पदाधिकारीले बताए ।

प्रकाशित: १४ फाल्गुन २०८० ०६:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App