१९ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

महामन्त्री थापाको प्रस्ताव: मतदातालाई रूखमा भोट हाल्ने वातावरण बनाऔँ

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले निर्वाचन पूर्वगठबन्धन गर्न नहुने प्रस्ताव अगाडि सारेका छन्।

पार्टीको गोदावरीमा सोमवारदेखि जारी महासमिति बैठकमा मङ्गलवार साङ्गठनिक प्रस्ताव पेश गर्दै उनले आगामी आवधिक निर्वाचनमा निर्वाचनपूर्व गठबन्धन गर्न नहुने प्रस्ताव अगाडि सारेका हुन्। ‘यस महासमिति बैठकले भविष्यमा हुने आवधिक निर्वाचनमा आफ्नै तागतले एक्लै लड्ने सङ्कल्प गर्नुपर्छ,’ उनले भने।

महामन्त्री थापाले आगामी निर्वाचनमा मतदातालाई नेपाली कांग्रेसको चुनाव चिह्नमा मत हाल्न पाउने अवस्था सुनिश्चित गर्नुपर्नेमा जोड दिए। उनले सङ्गठनलाई थप चलायमान र ऊर्जाशील बनाउँदै आम जनताको मत र विश्वास बढाएर कांग्रेसलाई एक्लै बहुमत ल्याउनसक्ने पार्टीको रुपमा पुनःस्थापित गर्नुपर्ने बताए।

महासमिति बैठकमा ३८ पृष्ठको साङ्गठनिक प्रस्ताव गर्नुभएका महामन्त्री थापाले विगतमा पाँच वर्षका लागि गठबन्धनसहित मत मागेकाले सो अवधिसम्म जनतासँगको वाचा र अन्य साझेदार दलसँगको सम्झौता बमोजिम राजनीतिक इमान्दारिता प्रदर्शन गर्नुपर्नेमा कांग्रेस सचेत रहेको स्पष्ट पारे। उनले पार्टीले नेतृत्व गरेका सबै तहका सरकार सञ्चालनका लागि सुशासनलाई मूलमन्त्र बनाएर जनतालाई निरन्तर उनीहरूका मुद्दासँग जोडिएको अनुभूत गराउने र अवसर पाएको बेला अब्बल सेवा प्रवाह गर्न भविष्यप्रतिको भरोसा दिलाउने सङ्कल्प गर्नुपर्ने बताए।

महामन्त्रीले कांग्रेसको नेतृत्वमा बनेको सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको स्वामित्व लिँदै उच्च आत्मविश्वासका साथ यसको रक्षा र कार्यान्वयन गर्ने, समुन्नत नेपालः सम्मानित नेपाली निर्माणको ध्येयमा सिङ्गो पार्टीलाई एकताबद्ध गर्दै हरेक तहमा, हरेक क्षेत्रमा क्रियाशील बनाउने सङ्कल्प पार्टीले गर्नुपर्ने उनको भनाइ छ।

यसैगरी, जनता र समुदायका विषय र चासोलाई विशेष प्राथमिकतामा राख्दै पार्टीमा बहस, संवाद, प्रशिक्षण, छलफलका माध्यमबाट पार्टीलाई विचारको केन्द्र बनाउने, सबै किसिमका भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति लिने, पार्टीलाई सामाजिक रुपान्तरणको संवाहक बनाउनुपर्ने महामन्त्रीले दोहोर्‍याए। रासस

प्रकाशित: ९ फाल्गुन २०८० ११:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App