२ चैत्र २०८२ सोमबार
image/svg+xml
खेल

पोखरामा आइतबारदेखि प्रतिभा सुपर लिग क्रिकेट प्रतियोगिता हुने

<br>

पोखरामा हुने प्रतिभा सुपर लिगबारे जानकारी दिएसँगै अफिसियल टिम। तस्बिरः नागरिक

पोखरामा आगामि आइतबारदेखि प्रतिभा सुपर लिग (पिएसएल) क्रिकेट प्रतियोगिता हुने भएको छ। पालिखेचोकस्थित प्रतिभा माविको आयोजना तथा पोखरा महानगरपालिका क्रिकेट संघको सहयोग र समन्वयमा हुने अन्तर माध्यमिक विद्यालय क्रिकेट प्रतियोगिता प्रतिभा सुपर लिग हुन लागेको विहीबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो।  

माघ १८ गतेदेखि २५ गतेसम्म हुने प्रतियोगिता पोखरा रंगशालास्थित क्रिकेट मैदानमा सञ्चालन हुने विद्यालयले बताएको छ। प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजक प्रतिभा माविका प्राचार्य किरण सापकोटाले जानकारी दिए। उनका अनुसार प्रतियोगितामा पोखराका विभिन्न १२ विद्यालयले सहभागिता जनाउँदैछन्।

आयोजक प्रतिभा माविसहित पोखराकै कुमुदिनी होम्स मावि, ग्लोबल कलेजियट स्कुल, गुरुकुल विद्यासदन, छोरेपाटन मावि, जनप्रिय मावि, टप्स मावि, डायमण्ड मावि, नेपाल भारत मैत्री विद्यालय, वाराही मावि, बालमन्दिर मावि र मदरल्याण्ड मावि रहेको उनले बताए। प्रतियोगिताको ट्रफी विहीबार नै पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको छ।

सो अवसरमा प्रतिस्पर्धी विद्यालयहरुको समूह विभाजन पनि लक्की ड्रबाट गरिएको थियो। लिग कम नकआउटका आधारमा हुने प्रतियोगिताको समूह ‘ए’ मा कुमुदिनी होम्स, छोरेपाटन र टप्स मावि रहेका छन । त्यस्तै समूह ‘बी’ मा जनप्रिय मावि, गुरुकुल विद्यासदन र मदरल्याण्ड मावि तथा समूह ‘सी’ मा आयोजक प्रतिभा माविसहित नेपाल भारत मैत्री विद्यालय र वाराही मावि र समूह ‘डी’ मा ग्लोबल कलेजियट स्कुल, डायमण्ड र बालमन्दिर मावि रहेका छन्।

समूह चरणमा तीनवटै टिमले आपसमा प्रतिस्पर्धा गर्ने र लिगको बिजेताले सेमीफाइनलमा स्थान पक्का गर्ने पोखरा महानगर क्रिकेट संघका अध्यक्ष विरेन पुनले जानकारी दिए। सेमीफाइनलमा समूह ‘ए’ र समूह ‘बी’ तथा समूह ‘सी’ र समूह ‘डी’को बिजेताले फाइनल प्रवेशका लागि प्रतिष्पर्धा गर्ने उनले बताए।

प्रतिभा मावि सञ्चालक समितिका अध्यक्ष नारायणप्रसाद पौडेलले प्रतियोगिता क्रिकेटको विकास र खेलाडीको प्रतिभा उजागर गर्न कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरे। उनले भने,‘विद्यार्थीको प्रतिभा उजागर गर्न, क्रिकेटप्रेमी विद्यार्थीलाई एक्सपोजर दिन र क्रिकेटको विकासमा यो प्रतियोगिता कोशेढुंगा सावित हुनेमा हामी विश्वस्त छौं ।’

प्रतिभा माविका प्रचार्य सापकोटाले आगामी दिनमा छात्रा क्रिकेट प्रतियोगिता पनि आयोजना गर्ने प्रतिबद्दता जनाए। ‘यो पहिलो प्रयास हो र यसलाई शुरुवातको रुपमा मात्र थालनी गरेका छौ,’ उनले भने,‘आगामी दिनमा हामी छात्रसँगै छात्रा क्रिकेट प्रतियोगिता पनि आयोजना गर्ने प्रतिबद्दता जनाउँछौं।’ गण्डकी क्रिकेट संघका सदस्य रविन्सन प्रजूले नीजि क्षेत्रबाट क्रिकेटको विकासका लागि भएको प्रयास सराहनीय भएको बताए।

प्रतियोगिताको बिजेता विद्यालयले नगद ३० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र, उपबिजेताले नगद २० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने विद्यालयले बताएको छ। प्रतियोगिताको बेष्ट ब्याट्सम्यान, बेष्ट बलर, बेष्ट प्लेयर अफ द सिरिज तथा प्लेयर अफ द म्याचलाई पनि ट्रफी प्रदान गरिने प्राचार्य सापकोटाले जानकारी दिए।

प्रकाशित: १५ माघ २०८२ १७:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App