प्रतिनिधि सभा सदस्य डा. तोसिमा कार्कीले ललितपुरको भैसेपाटीमा प्रदेश मुख्यमन्त्रीहरूका लागि बनाइएका निवास वरपरका स्थानीयले बाटो नपाएर हारगुहार गरेको वर्षौँ बित्दा समेत सुनवाइ नभएको भन्दै आपत्ति जनाइन्।
आइतबार संसद्को शून्य समयमा बोल्दै उनले ५ वर्षदेखि स्थानीयले बाटो चाहियो भन्दै आवाज उठाउँदा समेत सरकारले नसुनेको बताएकी हुन्।
ललितपुर क्षेत्र नम्बर ३ कि सांसद डा. कार्कीले निवास परिसरको पश्चिम तर्फको बाटो ५ मिटरको मात्र रहेको र त्यो बाटो फराकिलो बनाइदिन स्थानीय जनताले पटक–पटक आग्रह गर्दा पनि सुनवाइ नभएको उल्लेख गरेकी हुन्।
‘जनताबाट जग्गा लिएर जनताकै करबाट आलिसान भवन निर्माण गर्ने? अनि तीनै जनताले बाटो दिनुस् भन्दा नसुन्ने, आन्दोलन गरिरहनु पर्ने?’, उनले भनिन्।
डा. कार्कीले यसबीचमा पाँच पटक मन्त्रीहरू फेरिएको र आफूले समेत पटक–पटक सरकारको ध्यानाकर्षण गराउँदा पनि सुनवाइ नभएको बताइन्।
प्रकाशित: ६ फाल्गुन २०८० १२:११ आइतबार