१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

एमाले सांसद नेम्बाङ अचानक बिरामी, उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं लगिँदै

एमाले ताप्लेजुङको सचिवालय बैठकमा सहभागिता जनाउन फुङलिङ आएका बेला अकस्मात बिरामी परेका प्रतिनिधिसिभाका सांसद वसन्तकुमार नेम्बाङलाई थप उपचारका लागि काठमाडौं लगिने भएको छ।

जिल्ला अस्पतालले सिटी स्क्यानसहितको आवश्यकता देखाएपछि उनलाई उपचारका लागि काठमाडौं लैजाने तयारी भइरहेको एमाले ताप्लेजुङका अध्यक्ष भूपेन्द्र थेबेले जानकारी दिए। ‘हेलिकोप्टर ल्याउने समन्वय भइरहेकाले यहाँबाट उपचारका लागि काठमाडौं लगिने छ’, थेबेले भने।

पाँचथरबाट निर्वाचित सांसद नेम्बाङ एमाले ताप्लेजुङका इञ्चार्जसमेत हुन्। एमाले कोशी प्रदेश कमिटी अध्यक्ष तथा पूर्व सांसद घनश्याम खतिवडाका अनुसार बिहान फिदिमबाट हिँडेका नेम्बाङसहितका नेताहरू पाथिभरा गेस्टहाउसमा भेला भएका थिए।

सोही बेला उठ्ने तरखर गर्दागर्दै नेम्बाङ बिरामी परेपछि उनलाई नजिकैको तमोर अस्पताल लगिएको थियो। तमोर अस्पतालमा प्रारम्भिक परीक्षणपछि जिल्ला अस्पताल लगिएकोमा चिकित्सकले नेम्बाङलाई थप उपचारका लागि रेफर गरेका छन्।

इलाममा रहेको हेलिकोप्टरसँग पनि समन्वय भइरहेको र सो नभए काठमाडौंबाट हेलिकोप्टर झिकाई मेडिसिटी अस्पताल लैजाने विषयमा छलफल भइरहेको खतिवडाले जानकारी दिए।

जिल्ला अधिवेशनसहितका विषयमा छलफल गर्न एमाले ताप्लेजुङको सचिवालय बैठक बोलाइएको थियो। सोही बैठकका लागि नेम्बाङसहितका नेता फुङलिङ आएका हुन्।

प्रकाशित: १७ माघ २०८० ०८:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App