१९ मंसिर २०८२ शुक्रबार
image/svg+xml
राजनीति

मुख्य सचिवमा १४ आकांक्षी

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् बैठकको निर्णय पुस्तिकामा लेख्ने र प्रमाणीकरण गर्ने निजामती सेवाका कर्मचारीको सर्वोच्च पद मुख्य सचिवका लागि १४ सचिव प्रतिस्पर्धामा छन् । हालका मुख्य सचिव एकनारायण अर्याल ५८ वर्ष उमेरहदका कारण यही मंसिर ९ गते अनिवार्य अवकाशमा जाँदैछन् । 

करिब डेढ लाख कर्मचारीको नेतृत्व गर्ने मुख्य सचिव पदका आकांक्षी विभिन्न मन्त्रालयका सचिवहरूले आआफ्नो योग्यता र क्षमताको विवरणबारे प्रधानमन्त्री सुशीला कार्कीलाई जानकारी गराइरहेका छन् ।

आकांक्षी केही सचिवले प्रधानमन्त्रीलाई भेटेर आफ्ना कुरा राखेका छन् भने केहीले मुख्य सचिव अर्यालमार्फत आफ्नो सन्देश प्रधानमन्त्रीसमक्ष पुर्‍याएका छन् । अर्याल २०८१ भदौ १३ गते मुख्य सचिवमा नियुक्त भएका थिए । 

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले अर्याललाई मुख्य सचिवमा बढुवा गरेको थियो । जेनजी आन्दोलनकारी र जेनजी कर्मचारीले मुख्य सचिवबाट अर्याललाई हटाउनुपर्ने माग राखे पनि कार्की नेतृत्वको सरकारले त्यसो गर्न चाहेन ।

नयाँ मुख्य सचिवको प्रतिस्पर्धामा सुमनराज अर्याल, प्रमिलादेवी बज्राचार्य, मधुसुदन बुर्लाकोटी, खगेन्द्रप्रसाद नेपाल, रामप्रसाद घिमिरे, किरणराज शर्मालगायत छन् । तत्कालीन गृह सचिव गोकर्णमणि दुवाडी पनि मुख्य सचिवको दौडमा रहे पनि गृह मन्त्रालय बस्दा ट्र्याक रेकर्ड राम्रो नभएले सम्भावना कमजोर छ । 

मुख्य सचिव नभए दुवाडी पनि अर्यालसँगै अवकाशमा जाने छन् । जेनजी आन्दोलनका बेला गृह सचिव रहेका दुवाडी परिचालनमा चुक्दा उनको मुख्य सचिव बन्ने सम्भावना सकिएको स्रोतको दाबी छ ।

सचिवहरूको वरीयतामा दोस्रो नम्बरमा रहेका अर्याल नयाँ मुख्य सचिवको प्रबल दाबेदार मानिन्छन् । उनी हाल रक्षा मन्त्रालयको सचिव छन् । नेपाल प्रहरीमा एआइजीको वरीयतामा पहिलो नम्बरमा रहेका दानबहादुर कार्की आइजीमा बढुवा भएको नजिर निजामती सेवामा पनि लागु भए अर्याल मुख्य सचिव हुने छन् । 

‘सुमनराज अर्याल नै मुख्यसचिव हुने अवस्था छ । सरकार कर्मचारीको सरुवाबढुवा विवादमा पर्न चाहँदैन’, प्रधानमन्त्री निकट एक अधिकारीले भने, ‘मेरिटमा जो अघि छ उही बढुवा हुन्छ ।’

अर्याल २०७७ माघ १९ गते सचिवमा बढुवा भएका हुन् । मुख्य सचिव भए अर्यालले करिब ८ महिना (२०८३ असार २५ गतेसम्म) निजामती सेवाको नेतृत्व गर्ने छन् ।

२०२५ साल असार २६ गते काठमाडौंको जोरपाटीमा जन्मिएका अर्यालले कोसी प्रदेश सरकारको प्रमुख सचिव, महालेखा नियन्त्रक, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको सचिव, युवा तथा खेलकुद मन्त्रालयको सचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सचिव, राष्ट्रिय योजना आयोगको सचिव र रक्षा मन्त्रालयको सचिवको भूमिकामा काम गरिसकेका छन् । 

उनले राष्ट्रिय तथ्यांक कार्यालयभन्दा बाहिर गएर काम गरेको सचिव भएपछि मात्रै हो । सचिवहरूमा वरीयतामा पहिलो नम्बरमा रहेका भरतमणि सुवेदीले राजीनामा दिएपछि दोस्रो नम्बरमा रहेका अर्यालको मुख्य सचिव हुने सम्भावना प्रबल बनेको हो ।

त्यस्तै खानेपानी मन्त्रालयकी सचिव बज्राचार्य पनि मुख्य सचिवको आकांक्षी हुन् । २०७८ असार १७ गते प्राविधिकतर्फको सचिवमा बढुवा भएकी उनी महिला प्रधानमन्त्री भएका बेला मुख्य सचिव बन्न चाहन्छिन् ।

राष्ट्रिय तथ्यांक कार्यालयमा कार्यरत सचिव मधुसुदन बुर्लाकोटी पनि मुख्य सचिव पदका दाबेदार हुन् । २०७८ असार २१ गते सचिवमा बढुवा भएका बुर्लाकोटी मुख्य सचिव भए उनले करिब एक वर्ष काम गर्न पाउनेछन् । 

२०२५ भदौ २७ गते धादिङमा जन्मिएका बुर्लाकोटीको प्रधानमन्त्री कार्कीसँग स्वभाव मिल्छ । मनमा लागेको कुरा प्रष्ट भन्न सक्ने बुर्लाकोटीको यातायात क्षेत्रमा सुधार गर्न खोज्दा सरुवा भएको थियो । 

बुर्लाकोटीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिव, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सचिव, उपराष्ट्रपति कार्यालयको सचिव, सार्वजनिक खरिद अनुगमन कार्यालयको सचिव, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सचिव र सुदूरपश्चिम प्रदेश सरकारको प्रमुख सचिव भएर काम गरिसकेका छन् ।

मुख्य सचिव पदका अर्का आकांक्षी वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव घिमिरे हुन् । ५८ वर्ष उमेरहदका कारण फागुन १० गते अनिवार्य अवकाशमा जाने भएकाले उनी मुख्य सचिव बन्ने सम्भावना देखिँदैन । 

शर्माचाहिँ २०८३ साउनमा उमेरहदका कारण् अनिवार्य अवकाशमा जाँदैछन् । अहिले अर्याल मुख्य सचिव बने त्यसपछि मुख्यसचिवमा शर्माको सम्भावना छ । तर उनीमाथि विदेशी पिआरधारीको आरोप छ । 

त्यस्तै सचिवहरू गोविन्दप्रसाद शर्मा, डिल्लीराम शर्मा, राजकुमार श्रेष्ठ, गोपाल सिग्देल, रविलाल पन्थ, कृष्णबहादुर राउत, रामेश्वर दंगाल, मुकुन्दप्रसाद निरौला पनि मुख्य सचिवको प्रतिस्पर्धामा छन् ।

मुख्य सचिव निजामती प्रशासनको नेता मात्र नभएर सरकारको पनि सचिव हो । मुख्य सचिवले सरकार र संसद्, सरकार र न्यायपालिका, सरकार र कर्मचारीबिच पुलको काम गर्ने भएकाले नियुक्ति गर्दा सरकारले पारदर्शिता, योग्यता र क्षमतालाई ध्यान दिनुपर्ने हुन्छ । 

मुख्य सचिवले प्रधानमन्त्रीको प्रत्यक्ष निर्देशनमा रही काम गर्ने, मन्त्रिपरिषद् बैठक बोलाउने, बैठकका अजेन्डा बाँड्ने, निर्णय उतार्ने र प्रमाणित गर्ने भएकाले यो पदमा प्रधामन्त्रीले योग्यतममध्येबाट आफूलाई काम गर्न अनुकूल हुनेलाई ल्याउन खोज्छन् । 

मुख्य सचिवले मन्त्रालयहरूले पेस गरेका सम्पूर्ण प्रस्तावहरू अध्ययन गरी परिमार्जन गर्ने, गराउने र ती प्रस्ताव मन्त्रिपरिषद् बैठकमा राख्नुपूर्व प्रधानमन्त्रीलाई ब्रिफिङ गर्छन् । प्रशासनिक क्षेत्रमा लामो अनुभव बटुलेको मुख्य सचिव प्रधानमन्त्रीको एउटा असल सल्लाहकार पनि हो ।

प्रकाशित: ३ मंसिर २०८२ २१:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App