१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

नेपाल भ्रमणमा आउँदै भारतीय विदेशमन्त्री जयशंकर

भारतका विदेशमन्त्री एस जयशंकर दुई दिने नेपाल भ्रमणमा आउन लागेका छन्। नेपाल परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको सातौं बैठकमा भाग लिन उनी बिहीवार नेपाल आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।

भारतीय वायु सेनाको विशेष विमानबाट उनको बिहीवार बिहान १० बजे नेपाल आउने कार्यक्रम रहेको परराष्ट्र मन्त्री एनपी साउदको सचिवालयले जनाएको छ।

परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका बेला भएका सम्झौताहरू कार्यान्वयनका विषयमा छलफल हुने सचिवालयले जनाएको हो।

भ्रमणको क्रममा विद्युत व्यापार सम्झौता, भारतले नेपाललाई दिँदै आएको साना सहयोग परियोजना अन्तर्गतको सहयोग, लगायतको विषयमा छलफल हुने सम्भावना रहेको बताइएको छ।

नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठक २०७७ माघ १ र २ गते नयाँ दिल्लीमा भएको थियो। यसपटक नेपालको आग्रहअनुसार नै नेपालमा हुन लागेको हो।

दुई दिनसम्म काठमाडौंमा रहँदा मन्त्री जयशंकरले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री दाहाल, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगायतसँग शिष्टाचार भेटवार्ता गर्नेछन्।

प्रकाशित: १७ पुस २०८० ०७:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App