१५ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

परराष्ट्र मन्त्री साउदको ४९ बुँदे दाबी

विदेश भ्रमण देखि दूतावास खोल्नेसम्म

परराष्ट्र मन्त्री एनपी साउदले सरकारमा सहभागी भएपछि झन्डै एक वर्षमा मन्त्रालय तथा मातहतका निकायका संरचना सुधारसहित विदेश भ्रमणसम्मका ४९ बुँदेकाम गरेको दाबी गरेका छन्।

पार्टी केन्द्रीय समितिको बैठकमा मन्त्रीहरूको कार्यसम्पादनको लिखित धारणा माग भएका बेला शुक्रबारको कांग्रेस बैठकमा साउदले ४९ बुँदे उपलब्धि पेस गरेका हुन्।

उनले विभाग र विदेशस्थित नियोगहरुबाट नेपाली नागरिकहरूलाई प्रदान गरिने सेवालाई अझ प्रभावकारी बनाउन मन्त्रालयको संगठन पुनर्संरचना तथा दरबन्दी पुनरावलोकन गर्ने कार्य भइरहेको दाबी गरेका छन्। सोही क्रममा पोर्चुगलमा नेपाली राजदूतावास खोल्ने निर्णय समेत भैसकेको, श्रम गन्तव्य भएका यूरीपेली मुलुकहरूमा समेत नेपाली राजदूतावास खोल्ने विषयमा प्रारम्भिक छलफल भइरहेको पनि उल्लेख गरेका छन्।

नेपाल र मार्सल आइल्याण्ड बीच कूटनीतिक सम्बन्ध स्थापना भएसँगै नेपालसँग कूटनीतिक सम्बन्ध स्थापना गरिएका मुलुकको संख्या कूल १८१ पुगेको छ। नेपाल र छिमेकी मित्रराष्ट्र बङ्गलादेशबिच कूटनीतिक सम्बन्ध स्थापनाको ५० वर्ष पुगेको अवसरमा अन्तर संवाद, गोष्ठी र सांस्कृतिक कार्यक्रमहरू आयोजना गरी जनाउँदै मित्रराष्ट्र टर्कीमा गएको विनाशकारी भूकम्पमा सहयोग स्वरूप नेपालले औषधि स्वास्थ्य उपकरण, न्यानो कपडा,बेबी फुड लगायतका २२ टन राहत सामाग्री पठाइएको पनि उल्लेख गरेका छन्।

‘वर्तमान सरकारले संयुक्त राष्ट्र संघको बडापत्र, असंलग्नता र पञ्चशीलका सिद्धान्त, विश्व शान्ति एवम् अन्तर्राष्ट्रिय कानुनका सिद्धान्तका आधारमा परराष्ट्र नीति सञ्चालन गर्दै आएको छ।यस अवधिमा सार्वभौमिक समानता, पारस्परिक हित र लाभका आधारमा स्वतन्त्र र सन्तुलित परराष्ट्र नीति सञ्चालन भई छिमेकी लगायत विश्वका सबै मित्र राष्ट्रहरूसँगको मैत्रीपूर्ण सम्बन्ध थप सुदृढ भएका छन्,’ उनले भनेका छन्।

भारत, चीनसहितका देशमा दुई पक्षीय भ्रमण भएको उल्लेख गर्दै विभिन्न सम्झौताहरू भएको जनाएका छन्।

प्रकाशित: १३ पुस २०८० ११:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App