२२ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

चीनको कोरला र भारतको त्रिवेणी नाका जोड्नुपर्नेछ: राष्ट्रपति पौडेल

सातौँ बागलुङ महोत्सव उद्घाटनपछि सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेल। तस्बिरः संगम/नागरिक

राष्ट्रपति रामचन्द्र पौडेलले चीनको कोरला नाका र भारतको त्रिवेणी नाका जोड्नुपर्ने बताएका छन्। बुधबार बागलुङमा सातौँ बागलुङ महोत्सवको उद्घाटन गर्दै पौडेलले सबै प्रदेश भन्दा गण्डकी राम्रो प्रदेश बनेकाले त्यसबाट फाइदा उठाउनुपर्ने बताए। ‘यो गण्डकी प्रदेश निकै नै व्युटिफुल प्रदेश बनेको छ, यसले उत्तरमा चीन र दक्षिणमा भारत दुबै देशलाई छुन्छ,’ राष्ट्रपति पौडेलले भने, ‘यी दुई देशको उन्नतिबाट लाभ लिनका लागि चीन र भारतको सिमाना जोड्ने मार्ग बनाउनुपर्छ। त्यसका लागि कोरला र त्रिवेणी जोड्नुपर्छ।’ चीन र भारतलाई व्यापारिक रुपमा जोड्दा नेपालले लाभ लिने उनको भनाइ छ।

राष्ट्रपति पौडेलले आफू स्थानीय विकास मन्त्री हुँदा बागलुङ बुर्तिबाङ र बागलुङ कुस्मीसेरा सडकको निर्माण सुरु गरेको बताउँदै अहिले लोकमार्ग बनेको र त्यसलाई पूरा गर्नका लागि सबैले ध्यान दिनका लागि आग्रह गरे। ‘मध्य पहाडी लोकमार्ग, कालिगण्डकी करिडोर जस्ता राष्ट्रिय योजनाहरूलाई पूरा गर्नका लागि माननीयज्यूहरूले सम्बन्धित ठाउँमा आवाज उठाउनुस्, म तपाईहरुको साथमा छु,’ पौडेलले भने। पौडेलले बागलुङेहरू संसारभर छरिएर सम्मानजनक काम गरिरहेको समेत स्मरण गरे। ‘म विश्वको जुनकुनै ठाउँमा पुग्दा पनि बागलुङबाट पुगेकाहरूले केही न केही पेसा व्यवसाय गरेको भेट्छु,’ उनले भने, ‘यहाँ आउँदा मैले आफ्नो घर आएको अनुभूति गरेको छु।’ 

पौडेलले बागलुङ महोत्सवले यहाँको पर्यटन प्रवर्द्धन र विकासमा ठूलो योगदान गर्ने समेत विश्वास व्यक्त गरे। ‘यो क्षेत्रको आर्थिक सामाजिक र सांस्कृतिक विकास लागि सहयोग पु¥याउनेछ, बागलुङ सबैभन्दा धेरै विप्रेषण भित्र्याउने ठाउँ पनि हो,‘उनले भने,‘यस क्षेत्रको विशिष्टता, प्राकृतिक सौन्दर्य, संस्कृति र सभ्यतालाई विश्व बजारमा प्रवर्द्धन गरी पर्यटनलाई समृद्धिको आधार बनाउन सकिने म देख्छु।’ यस क्षेत्रको भौगोलिक विकटतालाई नवीन पर्यटकीय थलोको रुपमा विकास गर्न सकिले पौडेलले बताए। उनले पर्यटकीय पूर्वाधारको विकासमा निजी क्षेत्रले लगानी गर्नुपर्ने र त्यसका लागि सरकारले सहयोग गर्नुपर्ने उल्लेख गरे।

‘स्थानीय र प्रदेश सरकार तथा निजी क्षेत्रको सहकार्यमा पहाडी र हिमाली क्षेत्रमा मनोरञ्जनात्मक पर्यटक लागि साहसिक तथा  हिल स्टेसन निर्माण गर्नुपर्ने जरुरी छ,’ उनले भने। राष्ट्रपति पौडेलले पञ्चायत विरुद्ध आन्दोलनको सुरुवात गर्न बागलुङ आएको बखत २०४६ साल मंसिरमा आफू पक्रा पर्दा सँगै बन्दी जीवन बिताएका राजनीतिक सहयात्री र सहयोगीहरूलाई पनि स्मरण गरे। नेपाली काँग्रेसका पूर्व जिल्ला पार्टी सभापति गोविन्द कँडेल, काँग्रेस नेता जगदीशचन्द्र उपाध्याय र सूचना आदान प्रदानमा सहयोग गर्ने सापकोटा बाजे लगायतलाई उनले स्मरण गरेका थिए। उनले बागलुङ राजनीतिक रुपमा सचेत रहेको समेत उल्लेख गरे।

बागलुङ महोत्सव उद्घाटन कार्यक्रममा पूर्व उपप्रधानमन्त्री एवं प्रतिनिधि सभा सदस्य चित्रबहादुर केसी, पूर्व मन्त्री प्रतिनिधि सभा सदस्य देवेन्द्र पौडेल, प्रतिनिधिसभा सदस्य देवीप्रकाश भट्टचन, गण्डकी प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वाताबरणमन्त्री दीपेन्द्र थापा, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्तकुमार श्रेष्ठले महोत्सवले समग्र धौलागिरि क्षेत्रको आर्थिक क्षेत्र चलायमान बनाउनका लागि महोत्सवले टेवा पुग्ने बताए।

बुधबारबाट सुरु भएको भएको महोत्सव पुस २१ गतेसम्म चल्नेछ। महोत्सवको अवसरमा विभिन्न प्रतियोगितात्मक कार्यक्रमहरू राखिएको छ। खुल्ला राष्ट्रिय दोहोरी तथा लाइभ दोहोरी गीत, पालिका स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता, खुल्ला महिला भलिबल प्रतियोगिता, खुल्ला भजन प्रतियोगिता, युवा उद्यमी सम्मेलन, विभिन्न झाँकी प्रदर्शनी राखिएको बागलुङ उद्योग वाणिज्य संघको अध्यक्ष नरेश कँडेलले बताए। 

राष्ट्रपति पौडेलको बागलुङ साइनो

राष्ट्रपति पौडेल मन्तव्यको क्रममा सुरुमै बागलुङ कारागारमा जेल जीवन बिताउँदाका सहयात्रीहरूलाई सम्झे र आफूलाई आफ्नै आर आए जस्तो भएको बताए। राष्ट्रपति पौडेल पञ्चायत विरुद्धको आन्दोलनको तयारीका क्रममा २०४६ साल मंसिरमा बागलुङ आएका बखत उनी यही पक्राउ परे र लामो समय यहाँको कारागारमा बन्दी जीवन बिताए। प्रजातन्त्र प्राप्तिको आन्दोलनका क्रममा चार महिना भन्दा बढी बागलुङ कारागारमा राजबन्दी बनेर बसेका उनले त्यसपछि बागलुङलाई आफ्नो जन्म जिल्लापछि दोस्रो गृह जिल्लाको रुपमा लिन थालेका हुन्। २०४६ साल मंसिर २५ गते पौडेल बागलुङ आएका थिए। त्यति बेल पौडेल नेपाली काँग्रेसका केन्द्रीय सदस्य थिए। नेपाल विद्यार्थी संघका तत्कालीन जिल्ला सभापति जगदीशचन्द्र उपाध्यायको बागलुङ नगरपालिका स्थित घरमा त्यस बखत नेपाली काँग्रेसको भेला गरिएको थियो।

काँग्रेसले पञ्चायती विरोधी आन्दोलनको तयारीको रुपमा भेला गरेका थाहा पाएपछि तत्कालीन पञ्चायतका शासक सलबलाउन थाले । भोलीपल्ट पौडेल म्याग्दी जाने कार्यक्रम तय भएको थियो। तर पञ्चायती शासनकालका प्रमुख जिल्ला अधिकारी र पञ्चायत पक्षधरले म्याग्दी जान दिएनन्। बागलुङमा भेला गरेको थाहा पाएपछि तत्कालीन प्रशासनले जुनसुकै बेला पक्राउ गर्न सक्ने भन्ने जानकारी पाएपछि तत्कालीन नेविसंघ जिल्ला सभापति जगदीशचन्द्र उपाध्यायले पौडेललाई पर्वत फलेवासको बाटो हुँदै भगाउने प्रयास गरेका थिए। उपाध्याय बागलुङ फर्किने क्रममा पक्राउ परे। त्यसपछि पर्वत फलेवास पुगेका काँग्रेस नेता रामचन्द्र पौडेल सहित अन्य नेताहरुलाई समेत पक्राउ ग¥यो।

२०४६ सालको पुस १ गते नेता पौडेललाई पनि बागलुङ कारागारमा ल्याइयो। राजकाज मुद्दामा त्यति बेला बागलुङका तत्कालीन पार्टी सभापति गोविन्दप्रसाद शर्मा कँडेल, रघुपति कँडेल, शेखर कँडेल, ऋषिराम कँडेल विष्णु गिरी र नेविसंघका केन्द्रीय उपसभापति लक्ष्मी आचार्य सहित २० जनालाई कारागार चलान गरिएको थियो। त्यति बेलाको घटना सम्झँदै नेपाली काँग्रेस बागलुङका नेता जगदीशचन्द्र उपाध्याय भन्छन्,‘काँग्रेस आन्दोलनको तयारीमा थियो, मंसिरबाटै धरपकड भएपनि आन्दोलनमा समस्या हुन्छ भनेर मैले पर्वतको पाङ, बागलुङको बलेवा, पर्वत फलेवास हुँदै नेताहरुलाई भगाउने प्रयास गरेको थिएँ, मलाई पक्रा गरिहल्यो, त्यसपछि रामचन्द्र दाइ सहित अन्य नेताहरुलाई पनि पक्राउ गरेर ल्यायो।’

त्यति बेला उनीहरुलाई राज्य विरुद्धको मुद्दा, राजकाज मुद्दा, संघ संस्था ऐन र शान्ति सुरक्षा भनेर चार÷चार वटा मुद्दा लगाएको थियो। उनीहरु बन्दी रहेकै बेला नेपालमा २०४६ सालको आन्दोलन भयो । तत्कालीन राजा वीरेन्द्रले २०४६ साल चैत २६ गते प्रजातन्त्र पुनस्थापनाको घोषणा गरे। प्रजातन्त्र पुनस्थापना भएपछि अन्य बन्दीहरू तत्कालै छुटे। नेता रामचन्द्र पौडेल, तत्कालीन पार्टी सभापति गोविन्द कँडेल, तत्कालीन नेविसंघ सभापति जगदीशचन्द्र उपाध्याय र नेविसंघ केन्द्रीय उपसभापति लक्ष्मी आचार्यलाई रिहाइका लागि सबै प्रक्रिया पूरा गर्दा २०४७ साल वैशाख २ गते मात्रै रिहा भए।

‘केही साथीहरू माघमा धरौटीमा छुटे, रामचन्द्र दाइ, म, गोविन्द कँडेल र लक्ष्मी आचार्यलाई चार वटा मुद्दा लागेको थियो, हामीलाई छुट्न समय लाग्यो, जनआन्दोलनको क्रममा पक्राउ परेका नवराज पौडेल मणिभद्र चालिसेहरू चैत २७ मै छुटे,’ नेता उपाध्याय भन्छन्। राजनीतिक जीवनको महत्त्वपूर्ण समय बागलुङमा बिताएका कारण राष्ट्रपति पौडेलले तनहुँपछि दोस्रो गृह जिल्ला बागलुङ मान्ने गरेको नेता उपाध्याय बताउँछन्। पौडेल देशकै सर्वोच्च पद राष्ट्रपतिमा पुगेपछि त्यसबाट बागलुङले पनि केही न केही लाभ लिन सक्ने नेता उपाध्यायको विश्वास छ।

‘हुन त राष्ट्रपति पद सेरमोनियल पद हो, यति हुँदा पनि बागलुङले प्रशस्त आशा गर्ने ठाउँहरू छन्, उहाँको राजनीतिक जीवनको सबैभन्दा सफल यात्रा बागलुङबाट भयो, लोकतन्त्र प्राप्त गरेर बागलुङबाट जेलमुक्त हुनुभो,’ उनले भने, ‘त्यसपछि उहाँले बागलुङलाई माया पनि गर्नुभयो, अहिलेको मध्य पहाडी लोकमार्ग तत्कालीन बागलुङ बुर्तिबाङ सडक खण्ड र बागलुङ कुस्मीसेरा सडक खण्ड उहाँले पहिलो पटक स्थानीय विकास मन्त्री भएको बेला हाल्दिनुभएको योजना थियो। उहाँले भन्ने पनि गर्नुहुन्थ्यो, मेरा जन्मघर तनहुँ र मेरो दोस्रो घर बागलुङ हो। यहाँको विकास निर्माण लगायत विषयमा सहजीकरणका लागि बागलुङले उहाँबाट आशा गर्नु स्वभाविक पनि हुन्छ।’

पौडेल बागलुङ कारागारमा रहँदा बाहिरबाट उनलाई सघाउने व्यक्ति थिए बिहुँका दिलप्रसाद सापकोटा। उनी त्यति बेला बागलुङमा दूध विक्री गर्न आउँथे। काँग्रेस नेता जगदीशन्द्र उपाध्यायको घरमा उनले नेता पौडेललाई भेटेका थिए। त्यसपछि पौडेल जेलमा रहँदा सापकोटाले सूचना आदान प्रदानमा सहयोग पु¥याउने काम गरे। उनले पौडेलले सापकोटा बाजे भनेर सम्बोधन गर्ने गर्थे। 

प्रकाशित: ११ पुस २०८० ११:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App