१९ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

आखिरमा कमल थापा हुन के?

कमल थापा नेपाली राजनीतिको एउटा चर्चित विम्ब हुन्। पञ्चायतकालमा विद्यार्थी मण्डलबाट राजनीतिमा छिरेका उनी आफुलाई गणतन्त्रवादी नेता देखाउने प्रयास समेत नगरेका होइनन्।

पछिल्लो पटक नेकपा एमालेको चुनाव चिन्ह सूर्यमा चुनाव लडेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले फेरी बोली फेर्न थालेका छन्।

पछिल्लो समय आफूलाई ‘गणतन्त्रवादी नेता’का रूपमा चिनाउने प्रयासको नाटक गरेका थापा अहिले फेरी ‘राजासहितको प्रजातन्त्र’ भन्न थालेका छन्। मङ्गलवार उनले ‘गणतन्त्र’लाई छाडातन्त्र समेत भन्न भ्याए।

राष्ट्रिय प्रजातन्त्र पार्टीको २०७८ महाधिवेशनमा राजेन्द्र लिङदेनसँग पराजित भएपछि उनी पछिल्लो संघीय निर्वाचनमा नेकपा एमालेको शरणमा गएका हुन्।  र, उनले राप्रपा नेपाल नामको नयाँ पार्टी पनि खोलेका हुन्।

महाधिवेशनमा लिङदेनसँग पराजित भएपछि उनले पूर्व राजा ज्ञानेन्द्र शाह र परिवारले आफूलाई महाधिवेशनमा हराउन भूमिका खेलेको समेत भन्न र लेख्न भ्याए। त्यही अधिवेसन पछि पूर्व राजा र उनको परिवारका सदस्यहरूसँगको सम्बन्ध चिसियो। र, उनी टाढिँदै गए। राजसंस्था स्थापनाको मुद्दानै छाडिदिएका थिए।

अहिले फेरी तीनै थापा, ‘राजासहितको प्रजातन्त्र’ भन्दै छन्। आखिर यीनी हुन के? अवसरवादी वा अरू केही?

राप्रपा महाधिवेशन अघि उनले आफूलाई हिन्दु राज्यसहितको राजतन्त्रात्मक नेपालको पक्षमा रहेको बताउँदै आएका थिए। महाधिवेशनमा पूर्व राजाले आफूलाई हराउन भूमिका खेलेको महसुस गर्दै उनले त्यो मुद्दा त्यागे। सायद चुनाव जितिन्छ की भन्ने आशाले होला संघीय चुनाव अघि आफूलाई गणतन्त्रवादी नेताका रूपमा उभ्याउने प्रयासको नाटक मञ्चन गरे।

यसबीचमा उनले आफूलाई तीन किसिमले प्रस्तुत गरेका छन्।  हिन्दु राज्यसहितको राजतन्त्रात्मक नेपाल, गणतन्त्र र राजासहितको प्रजातन्त्र। आखिर यीनी हुन चाहिँ के? यीनको राजनीतिक धार र सिद्धान्त हो चाहिँ कुन?

शायद यही कारणले होला उनलाई अवसरवादी नेताका रूपमा पनि चित्रण गरिन्छ। पटक–पटक राजनीतिक धार र कित्ता परिवर्तन गर्न माहिर भएकालेनै होला थापा माथि यस्तो आरोप लाग्दै आएको छ।

अध्यक्ष थापाले मङ्गलवार पार्टीद्वारा आयोजित कार्यक्रममा गणतन्त्र छाडातन्त्र र भ्रष्टतन्त्रमा परिणत भएको जिकिर गर्दै राजासहितको प्रजातन्त्र नै मुलुकका लागि उपयुक्त भएको दाबी गरे।

उनले ठुला दलहरूले राजाको नाममा निरङ्कुश व्यवस्था ल्याउन आफ्नो पार्टीले खोजेको भनेर भ्रम सृजना गरेको समेत भनन भ्याए। यस्ता उल्लेख गर्दै आफूहरू राजासहितको प्रजातान्त्रिक व्यवस्था स्थापना गर्न लागि लागि परेको उनले बताएका हुन्। यति मात्र होइन थापाले नेपालमा छिट्टै राज संस्था र हिन्दु राष्ट्र कायम हुने समेत दाबी गरे।

थापाले भने, ‘हामी देशमा आन्दोलनको आँधीबेहरी सृजना गर्ने र चाँडोभन्दा चाँडो यो भ्रष्ट व्यवस्थालाई अन्त्य गर्ने हिन्दु राष्ट्र र राज संस्थालाई स्थापना गर्नसक्छौं भन्ने मलाई लाग्छ। यही कारणले गर्दाखेरि भ्रष्ट व्यवस्थाका संवाहकहरू अहिले आत्तिएका छन्। अत्तालिएका छन्। आतङ्कित भएका छन्।’ उनी भन्छन्, '(उहाँहरू (नेताहरू)ले जसलाई लोकतन्त्र, गणतन्त्र भनिराख्नुभएको छ। यो छाडातन्त्र हो, मनपरीतन्त्र हो। यो सिन्डिकेट र भ्रष्टतन्त्र हो।'

थापा सूर्य चिन्ह लिएर मकवानपुर निर्वाचन क्षेत्र १ बाट संघीय निर्वाचन लडेका थिए। त्यसो त उनी २०४८ पछिका सबै निर्वाचनमा उम्मेदवार भएका छन्। अधिकांश निर्वाचनमा उनी एमालेकै उम्मेदवारसँग पछारिएका पनि हुन्। 

तर पछिल्लो निर्वाचनमा एमालेकै शरणमा पुगे। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नै उनलाई सूर्य चिन्ह दिएर चुनावमा सहयोग गरेका थिए। उनी उठेको मकवानपुर १ मा राष्ट्रिय प्रजातन्त्री पार्टीकै उम्मेदवार दिपककुमार सिंहले जितेका थिए।

थापा अहिलेसम्म दुई पटक सांसद र नौ–नौ पटक मन्त्री भइसकेका छन्। त्यसैले पनि उनीमाथि अवसरवादी नेताको आरोप लागेको हुनसक्छ।

प्रकाशित: ४ पुस २०८० ०३:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App