१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

के सेना सुडान काण्ड दोहोर्‍याउँदै छ ?

नेपाल प्रहरीको चर्चित सुडान घोटालाका मुख्य सहयोगी ठेकेदार नेपाली सेनाले खरिद गर्ने सामानको ठेक्कामा जोडिएको पाइएको छ। सुडान घोटालाका मुख्य व्यक्ति शम्भु भारती हुन्। उनी नेपाली सेनाले भारतबाट खरिद गर्न लागेको महिन्द्रा कम्पनीका चारवटा आर्म पर्सनल क्यारियर (एपिसी) खरिदका लागि नेपाल ‘एजेन्ट’ रहेका छन्।

नेपाल प्रहरीकै शिर झुकाउने उक्त घोटालाका मुख्य सहयोगी ठेकेदार भारतीमार्फत नेपाली सेनाले भारतबाट एपिसी खरिदका लागि एलसीसमेत खोलिसकेको छ। भारती सुडानको डार्फरमा तैनाथ नेपाल प्रहरीका लागि खरिद गरिएको ४४ करोडको एपिसीमा साढे २८ करोडबराबरको भ्रष्टाचारमा मुछिएका थिए। सो काण्डमा उनीलगायत तत्कालीन प्रहरी महानिरीक्षकले जेल सजायसमेत भुक्तान गरेका थिए। भारतीको कम्पनी भगवती ट्रेडर्स नेपाली सेनाको सामान ल्याउने नेपाली सहजकर्ता बनेको सैनिक स्रोतको दाबी छ।

नेपाली सेनाले चीनबाट पनि २६ वटा एपिसी खरिद गर्न ३३ मिलियन अमेरिकन डलर (करिब ४ अर्ब ४२ करोड रकम) बराबरको सैनिक सामग्री खरिद गर्ने निर्णय गर्दै हिमालय बैंकमा एलसी खोलेको छ। गत साता नेपाली सेनाले त्यसका लागि दुईवटा एलसी खोलेको हो।

‘चीनबाट सैन्य सामग्री ल्याउने निश्चित भएको छ। पहिला एलसी खोल्न आनाकानी गरेको हिमालयन बैंकले गत साता एलसी खोलिदिएको छ,’ सैन्य स्रोतले भन्यो। तर नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले सैन्य सामग्री खरिदबारे अनभिज्ञता प्रकट गरे। ‘यो विषयमा मैले केही दिनदेखि बुझ्न खोजेको छु, कुनै जानकारी प्राप्त भएको छैन। अहिले यो विषयमा केही भन्न सकिएन,’ सहायक रथी भण्डारीले भने।

सेनाले ४ अर्ब रुपैयाँबराबरको सैनिक सामग्रीका विभिन्न चरणमा एलसी खोलिसकेको छ। केही भने खोल्ने प्रक्रियामा रहेको बताइएको छ। सेनाले चीनको नर्थ इन्डस्ट्रिज कर्पोरेसन (नोरिन्को)बाट २६ वटा एपिसी र अन्य सैनिक सामग्री खरिद गर्न लागेको हो। सेनाले एपिसी र एम्युनिसन प्लान्टसमेत चीनबाट खरिदका लागि तयारी गरिरहेको छ। 

केही महिनाअघि नै सामान खरिद गर्न भनेर हिमालयन बैंक पुगेको नेपाली सेना रित्तै फर्केको थियो। प्रधानसेनापति प्रभुराम शर्माको चीन भ्रमणपछि सेनाको एपिसी र सैनिक सामग्री खरिद प्रक्रिया अघि बढेको हो। यसअघि अवरुद्ध खरिद प्रक्रियामा प्रधानमन्त्री पुष्पकमल दाहाल र रक्षामन्त्री पूर्णबहादुर खड्कासमेत सहमत भएपछि प्रक्रिया अघि बढेको स्रोतको दाबी छ।

सेनाले भारतबाटै थप १२ वटा एचएमएलटी, ५.५६ को गोली, केस कप्स, बुलेट कप्स, बक्सर प्राइमर (१२०३), डबल बेस प्रोपेलान्टलगायत खरिदका लागि भारतीय कम्पनी एमआइएलसँग प्रक्रिया अघि बढाएको स्रोतको दाबी छ। त्यसका लागि पत्राचार पनि गरिसकिएको बताइएको छ।

सेनाले चीनबाट शान्ति सेनालाई आवश्यक पर्ने गाडी र गोली आफ्नो कल्याणकारी कोषबाट खरिद गर्न लागेको हो। भारतबाट ल्याउन लागिएका एपिसीको मूल्य एउटाको करिब ४ करोड रूपैयाँ पर्छ भने चीनबाट खरिद गर्न लागिएका एपिसीको मूल्य एउटाको ७ करोड ७५ लाख रूपैयाँ रहेको स्रोतको दाबी छ। 

कुनै पनि मुलुकले दिने सैन्य सामग्रीको मूल्य सार्वजनिक गर्न नमिल्ने भए पनि चिनियाँ कम्पनी नोरिन्कोले दररेट नै सार्वजनिक गरिदिएको छ। भारतमा करिब ४ करोड रूपैयाँ पर्ने एपिसीको मूल्य चीनले ७ करोड ७५ लाख रूपैयाँ तय गरेको स्रोतको दाबी छ।

सैनिक स्रोतका अनुसार खरिद गर्न लागिएको एपिसीको अनुगमन, निरीक्षण गर्न एउटा टोली चीन गएको थियो। त्यतिबेला नोरिन्को कम्पनीले उत्पादन गर्ने एपिसीको गुणस्तर कमजोर मानिएको भए पनि अहिले सो कम्पनीको टोली नेपाल आएको छ। 

केही दिनअघि आएको सो टोलीले आफ्नो सामानको औचित्यबारे सेनालाई जानकारी गराएको थियो। सो कम्पनीलाई संयुक्त राष्ट्रसंघले शान्ति मिसनका लागि सैन्य सामग्री बिक्री नगर्न भनेको थियो। सन् २०१९ मा केन्यामा भएको एक घटनामा विद्रोही पक्षले हमला गर्दा राष्ट्रसंघीय मिसनमा खटिएका पाँच सैनिकको मृत्यु भएको थियो।

चीनबाट खरिद गरिएको गुणस्तर कमजोर भएको एपिसीका कारण शान्ति मिसनमा खटिएका सैनिकको मृत्यु भएको प्रतिवेदन प्राप्त भएपछि राष्ट्रसंघले सो कम्पनीलाई सैन्य सामग्री नबेच्न भनेको थियो। सेनाले यस्तो विवादित कम्पनीबाट प्रतिस्पर्धाबिनै हतियार खरिद गर्न लागेको हो। 

सैन्य सामग्री खरिद प्रक्रिया जिटुजीअन्तर्गत हुने दाबी सेनाको छ। चिनियाँ कम्पनी नोरिन्कोको नेपाली ठेकेदार लोकेन्द्र कार्कीका कर्मचारी राजकुमार नाइडु छन्। भारतीय कम्पनी महेन्द्राको नेपाली एजेन्ट शम्भु भारती र एमआइएलका लागि प्रतिनिधि भने ठेकेदार महेश शर्मा छन्।

प्रकाशित: ३ पुस २०८० ००:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App