२७ पुस २०८१ शनिबार
image/svg+xml
राजनीति

कूटनीतिक मर्यादाप्रति सबै दल संवेदनशील हुनुपर्छ: अध्यक्ष नेपाल

फाइल।

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वैदेशिक हस्तक्षेप भए राष्ट्रिय सुरक्षामा चुनौती आउने बताएका छन्।

पार्टी केन्द्रीय कार्यालय आलोक नगरमा पार्टी निकट राष्ट्रिय हित सुरक्षा विभागका प्रमुख पुष्पाकुमारी कर्ण नेतृत्वको टोलीले बुझाएको सुरक्षासम्बन्धी अवधारणा पत्र सहितको दस्ताबेज बुझेपछि अध्यक्ष नेपालले देशको स्वतन्त्रता तथा अखण्डतामा आँच आउन नदिन सबै दल कूटनीतिक मर्यादाप्रति संवेदनशील हुनुपर्नेमा जोड दिए।

राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर छिमेकी मुलुकसँग पारस्परिक हितका पक्षमा कार्य गर्नुपर्ने बताउँदै उनले असंलग्न पञ्चशीलका आधारमा कूटनीतिक सम्बन्ध विकास गर्नुपर्ने बताए।

विभागले राष्ट्रहित तथा सुरक्षाका लागि अवलम्बन गर्नुपर्ने महत्त्वपूर्ण नीति तथा कार्यक्रमलाई विभिन्न बुँदामा समावेश गरेर अवधारणासहितको दस्ताबेज तयार पारेको हो। उक्त दस्ताबेजमा देशको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण राख्दै विविधताबिचको एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण र प्रवर्द्धन गर्ने विषयलाई सुझाइएको छ।

नेपालीको हकहितको रक्षा, सिमानाको सुरक्षाका साथै आर्थिक समृद्धि र सामाजिक न्याय सुनिश्चित गरी समतामूलक समाज निर्माण गर्न दस्ताबेजले सहयोग गर्ने विभागका अध्यक्ष कर्णले जानकारी दिए।

विभागले सीमा सुरक्षा, आन्तरिक सुरक्षा, कूटनीति र परराष्ट्र नीतिका सम्बन्धमा, छिमेकी र अन्य मित्र राष्ट्रबीचको सम्बन्धमा, राष्ट्रिय हित, विकासका सम्बन्धमा र गैर आवासीय नेपालीका सम्बन्धमा महत्त्वपूर्ण सुझाव अवधारणा पत्रमा समावेश गरिएको छ।

प्रकाशित: ३० मंसिर २०८० १४:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App