९ फाल्गुन २०८० बुधबार
राजनीति

‘नेपाललाई प्रयोग गरी चीन पुग्न चाहन्थ्यो अमेरिका’

राजा वीरेन्द्रसँग शिष्टाचार भेटमा हेनरी किसिन्जर। तस्बिर: डा. भेषबहादुर थापाको पुस्तकबाट।

हेनरी किसिन्जरसँग भेटाउने कार्यक्रम राख्ने क्रममा उनीसँग रमाइलो वार्ता भयो। उनी अमेरिकी सुरक्षा सल्लाहकार तथा परराष्ट्रमन्त्री भइसकेका थिए। मैले फोन गरेपछि उनले निकै अप्ठ्यारो परिस्थिति सिर्जना गरे। उनले एकदम कडा ढंगले जर्मन लबजमा भने, ‘तिम्रा महाराज मसँग किन कुरा गर्न चाहन्छन्?’

एकातिर हाम्रो दरबारिया शिष्टाचारमा किसिन्जरले राजासँग दर्शनभेट गर्न चाहेको देखाउनुपर्ने थियो। वास्तविकता भने राजाले किसिन्जरको दर्शनभेट खोज्नुपर्ने थियो। 

मैले किसिन्जरसँग भनें, ‘के विषयमा कुरा गर्ने, मलाई थाहा छैन। तर कुनै समय तिमी प्रोफेसर थियौ, राजा वीरेन्द्र तिम्रा विद्यार्थी। तिमीबाट उनले के सिके, उनका बारे तिमीले के बुझेका छौ, तिमीहरू दुई जनालाई मात्र थाहा छ। त्यसपछि दुवैतिर धेरै परिवर्तन भइसकेका छन्। गरिब मुलुक भए पनि उनी राजा र राष्ट्राध्यक्ष हुन्। तिमी राष्ट्रिय सुरक्षा सल्लाहकार र मन्त्रीबाट फेरि प्रोफेसर भएका छौ। दुवैले धेरै ज्ञान हासिल गरिसकेका छौ। दुवैले विचार आदानप्रदान गर्दा दुवैलाई फाइदा नै होला।’ त्यसपछि किसिन्जर पग्लिए।

राजालाई भेट्न किसिन्जर होटलमै आएका थिए। ब्रिजेन्स्कीसँग राजाको भेटघाट भयो। पछि किसिन्जर र ब्रिजेन्स्की दुवै नेपाल भ्रमणमा पनि आएका थिए। तर दरबारियाले किसिन्जरसँग भेट्ने कि नभेट्ने भन्ने बखेडा उत्पन्न गरेका थिए। दरबारका सचिवहरूको नियत नै खोजीखोजीकन अत्तो थाप्ने हुन्थ्यो। तय भइसकेका कार्यक्रमबाट पछाडि हट्दा त्यसले तिक्तता ल्याउने थियो। त्यसैले कार्यक्रमलाई अडिग राख्न मैले निकै संघर्ष गर्नुपर्‍यो। 

उता राजा वीरेन्द्र एकदम भलादमी, मानवीय सोचाइमा धेरै माथि थिए । तर एकदम कमजोर प्रकृतिका। कसैले केही कुरा सुनाइदियो भने त्यसमा आत्तिएर पछाडि हट्न खोज्ने या उल्झनमा पर्न नचाहने स्वभाव थियो। दृढतासाथ निर्णय गर्ने र कार्यान्वयनमा उत्रने शैलीका व्यक्ति थिएनन्। नेपालको राज्य सञ्चालन प्रक्रियामा ‘प्रोटोकल’ अर्थात् मर्यादाक्रम विडम्बनाकै विषय थियो।

म अमेरिकाको राजदूत भएपछि अमेरिकामा नेपालको अवैतनिक वाणिज्य दूत पाँच ठाउँमा नियुक्त गरेको थिएँ। तिनमा एक जना लुपी मर्किन्सन थिए, जो टेक्सासमा तेलकुपका मालिक थिए। तिनी अत्यधिक धनी व्यक्ति मानिन्थे।

एटलान्टामा अवैतानिक वाणिज्यदूत मेरी रबिन्सन थिए, जसका छोरा अमेरिकी एक्सप्रेस बैंकका अध्यक्ष थिए। सिकागोमा वाणिज्य दूत मेरी सेटनेस थिए, कोकोकोला फर्मुलामा एकाधिकार राख्ने उनको परिवारलाई अमेरिकामै अति धनाढ्य मानिन्थ्यो। सानफ्रान्सिस्कोमा रिचर्ड ब्लमलाई नियुक्त गरिएको थियो, उनकी पत्नी सिनेटर डाइआन फाइनस्टाइन थिइन्। 

राजाका भ्रमण तिनीहरू भएको ठाउँमा गराउँदा बढी सत्कार हुन सक्छ भन्ने धारणा बनाएको थिएँ। धनाढ्य व्यक्तिको काम त्यति हुँदैन, केवल एउट ‘टाइटल’ चाहिएको हुन्छ।  महावाणिज्य दूत हुँदा एउटा कूटनीतिक मर्यादा पाउँछन्, खर्च उनीहरू आफैंले गर्नुपर्ने हुन्छ ।वाणिज्यदूतको नियुक्ति केवल ‘औपचारिक’ मात्र थियो।

तर परेका बखत उनीहरू धेरै खर्च गरी नेपालको स्वार्थलाई अघि बढाउन सहयोगी बनेका थिए। उनीहरूले बोलाएको कार्यक्रममा उपल्ला तहका व्यक्ति सहजै उपस्थित हुन्थे। सामाजिक र आर्थिक रूपले सम्पन्न व्यक्तिहरूको घेरा फराकिलो हुने नै भयो। टेक्सासमा वाणिज्य दूत मिसे मर्किन्सन डालास काउ ब्वाइज भन्ने फुटबल टिमकी मालिक थिइन्। उनले आफ्नै बक्समा लगेर हामीलाई फुटबल खेल देखाइन्।

राजाको भ्रमणपछि नेपालमा पेट्रोलियम पदार्थको उत्खनन गर्न आएका कम्पनीमध्ये मर्किन्सनको कम्पनी पनि थियो। झापादेखि महेन्द्रनगरसम्म पेट्रोलियम पदार्थको खोजी भएको थियो। विश्व बैंकबाट सहायता लिएर ठाउँठाउँमा ‘ड्रिल’ गरियो । तर कतै पनि सम्भावना भेटिएन । 

राजाको सम्मानमा एटलान्टामा मेरी रबिन्सनले दिएको भोजमा देखिएको जत्तिको चमक मैले जिन्दगीमै देखेको थिइनँ । त्यहाँ आमन्त्रित धनाढ्य व्यक्तिहरू लामो ‘स्टेट लिमोजिन’ हुनेहरू थिए । टेबलमा अनेकौं थरीका खाना सजाइएका थिए। 

त्यो देखेर राजाको सवारीसाथ गएका विदेश मन्त्रालयका अधिकारीले भनेका थिए, ‘भेष, मलाई लाग्छ, यहाँ कोठामा प्रदर्शित र देखिएको सम्पत्ति नेपालको जिडिपी (कुल गार्हस्थ्य उत्पादन) भन्दा बढी छ।’ मैले जवाफ दिएँ, ‘हामीसँग जेजति छ, हामीलाई त्यसैमा गर्व छ, जसरी यिनीहरूलाई छ।’

राजालाई अमेरिकाका पूर्वराष्ट्रपतिहरूसँग भेटघाट गराउने योजना पनि बनाएको थिएँ। तर त्यसमा केही विवाद परेको थियो। राजा वीरेन्द्र अमेरिकामा अध्ययनरत रहँदा उनले ह्वाइट हाउसमै जेरी फोर्डलाई भेटेका थिए।

निवर्तमान राष्ट्रपति जिम्मी कार्टरसँग चाहिँ मानवअधिकार र प्रजातन्त्रको सवालमा दुःख दिएको निष्कर्ष निकाल्दै राजाले भेट्न मानेनन्। तर राजाले अप्रत्याशित रूपमा भने, ‘म रिचर्ड निक्सनसँग भेट्छु।’ मलाई भने निक्सनसँग भेट नभए हुन्थ्यो भन्ने लागेको थियो। किनभने उनी वाटरगेट जस्तो बहुचर्चित काण्ड र बखेडामा परी राजीनामा दिएर बाहिरिएका थिए।

त्यस्तो विवादित व्यक्तिलाई किन भेट्ने भन्ने मलाई लागेको थियो। तर राजा वीरेन्द्रले भने, ‘होइन, चीनसँग सम्बन्ध सुधार गर्न उनले नेपालको सक्रियता खोजेका थिए। उनी नेपालप्रति सद्भाव राख्ने व्यक्ति हुन्।’ राजाले निक्सनलाई भेट्नुका पछाडि कारण रहेछ, त्यो पछि मात्रै थाहा पाएँ। निक्सन र हेनरी किसिन्जरले पाकिस्तानबाट चीनसित सम्पर्क राख्नुअघि नेपाललाई प्रयोग गरी ‘गोप्य भ्रमण’ गर्न सकिन्छ भन्ने पहलकदमी भएको रहेछ। 

अमेरिकामा कुलशेखर शर्मा नेपालको राजदूत हुँदा ह्वाइट हाउसबाट एउटा आग्रह आएको रहेछ, निक्सनले नेपाल भ्रमण गर्ने र त्यससम्बन्धी प्रबन्ध मिलाउने। भ्रमण गोप्य हुनुपर्छ भन्ने आभास पनि दिइएको रहेछ। राजदूतले त्यसबारे दरबारमा जानकारी गराए पनि त्यसउपर व्यापक छलफल भएन। त्यसैले नेपालबाट त्यसबारे हुन्छ या हुन्न भनी जवाफ दिन ढिला गरियो। शर्माले नै मलाई भनेका थिए, ‘अमेरिकी राष्ट्रपतिलाई नेपाल पुर्‍याउने एउटा मौका आएको थियो, त्यो अगाडि बढ्न सकेन। हामीले गुमायौं भनौं या परिस्थितिले नदिएको हो । तर राम्रो मौका गुम्यो।’

त्यसबखत अमेरिकाले परिस्थितिको मूल्यांकन गरी नेपालभन्दा पाकिस्तानलाई नै उपयुक्त ठहर्‍यायो। किनभने नेपालमा हराएर चीनमा पुग्नु पूर्वाधारका हिसाबले पनि कठिन थियो। त्यसमा भारतको दृष्टि पनि पर्ने भयो। निक्सनका पालामा भारतसँग अमेरिकाको सम्बन्ध राम्रो थिएन। नेपालले त्यस्तो खाले भ्रमण गराउन सक्थ्यो या सक्दैनथ्यो। गरेको भए के हुन्थ्यो भन्ने प्रश्न आफ्नो ठाउँमा छ। 

पाकिस्तानले भ्रमणको गोपनीयता कायम राख्यो। सन्चो नभएको बहाना देखाउँदै किसिन्जर अस्पतालमा उपचारमा रहेका जनायो। तर किसिन्जर चीन पुगे। त्यस्तो व्यवस्थापन नेपालले मिलाउन सक्दैन भन्ने निष्कर्षसहित उनीहरू पाकिस्तान लागे। राजाको दिमागमा निक्सन नेपाल आउन चाहेका थिए भन्ने परेको रहेछ। त्यही भएर उनले भेट्ने इच्छा देखाएका थिए। 

निक्सनसँग भेट्ने कार्यक्रम तय भयो। उनले आफ्नो घरमै रात्रिभोज आयोजना गर्ने व्यवस्था मिलाएका थिए। तर पछि उनकी पत्नी बिरामी परेको हुँदा न्युयोर्क पब्लिक लाइब्रेरीमा भेटघाट र रात्रिभोज आयोजना गरियो। राजाको मनमा अमेरिकाले कुनै न कुनै प्रकारले नेपाललाई हातहतियार देओस् भन्ने थियो।

भारतसँगको परनिर्भरता घटाउन र हाम्रो सुरक्षा निकायलाई प्रतिस्पर्धी तुल्याउन नेपाललाई हतियार चाहिएको थियो । राजाको मनमा कसको माध्यमबाट कसरी हतियारसम्बन्धी आफ्नो धारणा अघि बढाउन सकिन्छ भन्ने थियो। राजाले मलाई भने, ‘एकचोटि सामरिक विषयमा नेपाललाई पनि चुस्त पार्नुपर्छ भनी निक्सनसँग कुरा गर न। यिनले पनि भूमिका खेल्न सक्छन्। उनले भनेपछि अरूले सुन्न सक्छन्। तिमी पहिला भन, त्यसपछि म पनि कुरा थप्छु।’

मैले निक्सनलाई एउटा कुनामा लगें अनि भनें, ‘हामीसँग भएका हतियार धेरै पुराना छन्। भारतबाट हतियार त लिन्छौं तर त्योभन्दा आधुनिक हतियार उपलब्ध हुन सक्छ। यसमा कसरी अघि बढ्न सकिन्छ ?’ त्यसमा निक्सनले भने, ‘तपाईं हतियार खरिदको कुरा गर्दै हुनुहुन्छ कि अनुदानमा हतियार खोज्दै हुनुहुन्छ ?’ घोषित रूपमा अमेरिकाले कसैलाई पनि सामरिक सहायता उपलब्ध गराउँदैनथ्यो।

उनले थपे, ‘नेपालले हतियार किन्न चाहेको हो भने म त्यस्ता व्यक्तिहरूलाई भेटाइदिन सक्छु।’ यसले हतियार खरिदबिक्रीको प्रक्रिया राजनीतिक तहसँग पनि जोडिएको देखाउँछ। अमेरिका हतियार निर्यात गर्ने प्रमुख मुलुक थियो। उनीहरू आफ्नो गठबन्धनमा रहेका मुलुक र अरब मुलुकहरूलाई बढी मात्रामा हतियार बेच्थे। असंलग्न आन्दोलनमा लागेको तर अमेरिकाबाट भित्रभित्रै केही पाइन्छ भन्ने उद्देश्य राख्ने मुलुकमा हामी पर्‍थ्यौँ। राजाले पनि पछि निक्सनसँग कुराकानी गरे। तर राजासँग पनि त्यस्तै कुराकानी भएको जानकारी पाएँ।

अर्का पूर्वराष्ट्रपति जेरी फोर्ड पाम स्प्रिङमा बस्थे। लस एन्जलसबाट त्यहाँ कसरी जाने ? ह्युजेज टुल्स कम्पनीले हेलिकप्टर बनाउँथ्यो। त्यसका उपाध्यक्षसँग मेरो चिनजान थियो। मोटरबाट जाँदा धेरै लामो पर्‍थ्यो।अमेरिकाले राजालाई मात्र हेलिकप्टर दिएको थियो। उनले एक दिनका लागि बिनाशुल्क पाँच ओटा हेलिकप्टर पठाइदिए। हामी हेलिकप्टर लिएर जे फोर्डलाई भेट्न गयौं। हेलिकप्टर प्याडबाट

उनको निवासमा जाँदा राजारानी चढ्ने कारमा अघिल्तिर ‘बकेट सिट’ थियो। त्यसमा म र मेरी पत्नी बसेका थियौं। मोटरबाट निस्कँदा ‘बकेट सिट’ का मानिस पहिला निस्कनुपर्ने थियो। फोर्ड र उनकी पत्नी मोटरको ढोका खुल्नेबित्तिकै सत्कार गर्न बसेका थिए । बकेट सिटमा भएको हुँदा पहिला म निस्किएँ, फोर्डले मसँग हात मिलाउँदै भने, ‘वेलकम योर म्याजेस्ट्री।’

म त एकदमै अप्ठ्यारोमा परें । हतपत पछि हटेर हिज म्याजेस्ट्री इज कमिङ भनें। उता फोर्डले मेरी पत्नी रीतालाई त्यही कुरा गरिछन्। कहिलेकाहीँ कस्तो अप्ठ्यारो स्थिति आउँदो रहेछ। फोर्डसँग खासै कुराकानी भएन। खालि वीरेन्द्र युवराज हुँदाका बखत भेटघाट भएको हुँदा त्यसलाई नवीकरण गर्ने काम भयो। 

अमेरिकामा पदबाट हटेका राष्ट्रपतिसँग गम्भीर कुराकानी गर्नुको अर्थ रहँदैन। खालि शिष्टाचार देखाउने मात्रै हो। शक्तिशाली राष्ट्रपति पदबाट हटेपछि केवल बौद्धिक र सामाजिक क्षेत्रमा मात्रै उनीहरूको प्रभाव रहन्छ। शासकीय प्रक्रियामा उनीहरूले प्रभाव पार्न सक्दैनन्।

भ्रमणको अन्तिम थलो हवाई थियो। साउथ एसिया हेर्ने सुरक्षा हेडक्वार्टर हवाईमा थियो। एडमिरल कोए त्यहाँका प्रमुख थिए। उनी पछि अमेरिकी ‘नेटो’ प्रमुख पनि भए। हामीले त्यहाँ उनीहरूको सुरक्षा रणनीतिभित्र पसेर महाशक्ति राष्ट्रको विश्वव्यापी सामरिक पहुँच कहाँसम्म हुन्छ भन्ने देख्यौं। अझ हामीले कल्पना नै गर्न नसकिने दृश्य त्यहाँ देखियो। कहीँ घटना भयो भने त्यसको सूचना लिनेदेखि प्रतिकार गर्नेसम्मको रणनीति क्षणक्षणमा बनिरहेको हुँदो रहेछ। उनीहरू त्यत्तिकै महाशक्तिराष्ट्र भएको होइन रहेछ भन्ने त्यहाँ देखियो।

पलपलमा घटित घटनाहरूको रिपोर्टिङ भइरहने, त्यसको विश्लेषण गर्ने र प्रतिकारको रणनीति तत्काल तय हुन्थे। हामी अमेरिकी स्वार्थ सुरक्षाको घेराभन्दा बाहिर परेका थियौं। तर बाँकी विश्वलाई उनीहरूले सघन सुरक्षा दृष्टिले हेरेका थिए। उनीहरूको सुरक्षा घेराभन्दा बाहिर पर्नु हाम्रै चाहना थियो। त्यो शीतयुद्धताकाको समय थियो। 

उनीहरूले कसलाई मित्र मान्ने, कसलाई विरोधीका रूपमा चित्रण गर्ने र को दुस्मन भन्ने छुट्याएका थिए। त्यहीअनुरूप उनीहरू विश्वभरबाट सूचना संकलन गरिरहेका हुन्थे। उनीहरूका निम्ति कुनै कुरा असम्भव छैन भन्ने देखिन्थ्यो। नेपालकै बारेमा पनि उनीहरू कति जानिफकार छन् भन्ने प्रस्टै देखिन्थ्यो। हामीले अनुमान नै गर्न नसकिने दृश्य देखियो। त्यो दृश्य हेरेर राजा वीरेन्द्र हवाईबाट नेपाल फर्किए।

अमेरिकी नीतिअनुसार राजकीय भ्रमण पाँच दिनको मात्रै हुन्छ। त्यसमा १० जनाभन्दा बढी प्रतिनिधि सामेल गर्न पाइँदैन। त्यसमा पाँच दिनको पुरै खर्च उसले बेहोर्छ, बाँकी आफैंले बेहोर्नुपर्छ। राष्ट्राध्यक्षबीच दुई सय अमेरिकी डलरभन्दा बढीको उपहार आदानप्रदान गर्न मिल्दैन। राजाले दिएको उपहार ‘आर्काइभ’मा जान्छ, राष्ट्रपतिले राख्न पाउँदैनन्। राजकीय भ्रमणपछि राजा थप पाँच दिन अमेरिकामा रहे।

(शनिबार दिवंगत विख्यात अमेरिकी कूटनीतिज्ञ हेनरी किसिन्जरमा आधारित रहेर हालैमात्र प्रकाशित पुस्तक राष्ट्र–परराष्ट्र: एकतन्त्रदेखि गणतन्त्रसम्म मा समावेश रोचक प्रसंग। पूर्वमन्त्रीसमेत रहेका कूटनीतिज्ञ डा. भेषबहादुर थापाद्वारा लिखित पुस्तकमा यसको शीर्षक ‘किसिन्जर र निक्सनसित भेट’ रहेको छ।)

प्रकाशित: १७ मंसिर २०८० ००:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App