१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

एमालेको संकल्प यात्रा: मिसन-८४ कि मध्यावधिको तयारी?

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको मंसिर ६ मा सम्पन्न केन्द्रीय कमिटी बैठकले मंसिर १४ देखि मध्यपहाडी लोकमार्ग यात्रा अभियानलाई कुशलतापूर्वक सम्पन्न गर्ने एउटै अजेन्डा पास गरेको थियो। त्यही बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक परिस्थितिको लामो विश्लेषण गर्दै भनेका थिए, ‘मिसन–८४ मात्र होइन, त्यसअघि नै मध्यावधि पनि हुन सक्छ त्यसको तयारी पनि गर्नु छ’ भनेका थिए।

बैठकमा सहभागी केन्द्रीय सदस्यहरूले यो विषयलाई गम्भीरतापूर्वक लिएका छन् भने त्यसका साथै लामो संकल्प यात्रामा सहभागी हुँदै छन्। कांग्रेससहितको गठबन्धनमा माओवादी अध्यक्ष पुष्पकमल दाहालले सरकारको नेतृत्व गरिरहेका बेला ओलीले मध्यावधिको प्रसंग निकालेका थिए तर अहिले एमालेबाहिर हुँदा पनि गठबन्धनमा रहेका दलहरूको गणपूरक संख्या पुगेको अवस्था छ।  

एमालेले २०७३ सालपछि लामो संकल्प यात्रा गर्न लागेको हो। २०७० सालमा दोस्रो संविधानसभाको निर्वाचनपछि २०७३ सालमा मेची–महाकाली यात्रा तय गरेको थियो। त्यसको परिणाम २०७४ सालमा एमाले संसद्मा पहिलो दल भएको थियो। त्यतिबेला एमालेमाथि मधेसको तिलाठीमा आक्रमणसमेत भएको थियो। यसपटक पनि यात्राको क्रममा पहिचानवादीहरूको नामबाट कोसी प्रदेशमा आक्रमण हुन सक्ने विषयमा पार्टीले सजगता अपनाएको नेताहरूले जनाएका छन्।

गत वर्षदेखि नै एमालेले आफ्नो संगठन मजबुत बनाउन ‘मिसन ग्रासरुट’ चलाएको थियो। सत्तामा एमालेविरुद्ध गठबन्धन भएपछि संगठन मजबुत बनाउन एमाले विभिन्न तहका कार्यक्रम गर्दै आएको छ।

अहिले पनि एमालेले जनतासँग सहकार्य गर्ने, जनतासँग संकल्प गर्ने र समृद्धिका लागि एमालेले गर्न चाहेको कामबारे अन्तक्रिया गर्ने अठोटसहित मध्यपहाडी लोकमार्ग यात्रा आरम्भ गर्न लागेको हो।

एमालेका प्रचार विभागप्रमुख पोलिटब्युरो सदस्य राजेन्द्र गौतमले यो यात्राको क्रममा जटिल भौगोलिक संरचना, छरिएका बस्ती, प्राकृतिक विपत्तिको उच्च जोखिम, वन्यजन्तुका कारण कृषि उत्पादनमा ह्रास तथा जलवायु संकट पहाडको विकासका मुख्य चुनौतीकै सवालमा अन्तक्र्रिया हुने बताएका छन्।

उनले पहाड पूर्वाधार, विद्युतीकरण, खानेपानी र स्वास्थ्य तथा शिक्षामा पहुँचका दृष्टिले उल्लेख्य ढंगले रूपान्तरित हुँदै गएको जनाउँदै मुलुक बन्छ, बन्दै छ भन्ने दह्रो आत्मविश्वास निर्माण गर्नु, प्राप्त उपलब्धिको रक्षा एवं संवद्र्धन गर्नु तथा समाजमा आशावाद र सकारात्मक मनोविज्ञान निर्माण गर्नु अभियानको मुख्य उद्देश्य रहेको बताए।

एमालेका अनुसार पार्टी अध्यक्ष ओलीले बैतडीको झुलाघाटमा राष्ट्रिय झन्डा फहराएर यात्राको उद्घाटन गर्नेछन्। त्यसपछि लोकमार्गमा पर्ने पार्टी कमिटीले यात्राको क्रममा सहभागीलाई साथ दिनेछन्। ‘यो अभियान पुस २ गते पाँचथरको चिवाभन्ज्याङमा पुगेर सकिनेछ,’ प्रचार विभाग प्रमुख गौतमले भने। उनका अनुसार लोकमार्गको ४० स्थानमा कोणसभा, अन्तक्र्रिया र स्थानीय बासिन्दासँग भेटघाट कार्यक्रम राखिएको छ। त्यसमा पार्टी अध्यक्ष ओली आफैं सहभागी हुनेछन्।

‘वक्ता पनि पार्टी अध्यक्ष मात्रै हुने सम्भावना छ, जनतालाई भाषण सुनाउनेभन्दा पनि उनीहरूका कुरा सुन्ने र एमालेको सरकार भएका बेला गरिएको काम र अहिलेका ती काम किन अवरोध भए भन्नेबारे जानकारी गराइनेछ। केन्द्रीय प्रचार विभागका सचिव गगन विष्टका अनुसार पार्टीको स्थापना दिवसलाई वार्षिक रूपमा मनाउने क्रममा एमालेले यो यात्राको थालनी गरेको हो।

‘नेपाल कम्युनिस्ट पार्टी स्थापनाको ७५औं वर्षमा पार्टीले पुर्‍याएको योगदानबारे जनतालाई जानकारी गराउनु र बलियो राष्ट्रिय शक्ति निर्माण गर्न सहयोग पुर्‍याउनु यो यात्राको महत्त्वपूर्ण उद्देश्य रहेको छ,’ प्रचार विभाग सचिव विष्टले भने।

यस क्रममा साना-ठूला गरी २५ जिल्लाका ४० स्थानमा कार्यक्रम हुनेछन्क। उनका अनुसार गत मंसिर ६ गते बसेको केन्द्रीय कमिटी बैठकले अभियानको कार्ययोजना पारित गरेको थियो। सो कार्ययोजनाअनुसार संकल्प यात्रामा अध्यक्ष ओलीको नेतृत्वमा पदाधिकारी, केन्द्रीय निकायका अध्यक्ष/प्रमुखहरू, भूगोल कार्यक्षेत्र नभएका स्थायी कमिटी सदस्य र केन्द्रीय सदस्य तथा तोकिएका व्यक्ति सहभागी भएर यात्राको थालनी हुनेछ। केन्द्रीय कमिटीको बैठक बस्नुअघि एमाले उपमहासचिव विष्णु रिमाल र अर्का उपमहासचिव प्रदीप ज्ञवालीको नेतृत्वमा बैतडीको झुलाघाटदेखि पाँचथरको चिवा भन्ज्याङसम्मको बाटाको वर्तमान अवस्थाबारे अवलोकन गरेको थियो।

अभियानमा सहभागी हुनेहरूका लागि भन्दै पार्टीको केन्द्रीय कार्यालयले १५ बुँदे आचारसंहितासमेत बनाएको छ। जसअनुसार अध्यक्ष ओलीबाहेक कसैले पनि निजी सुरक्षा गार्ड प्रयोग गर्न पाउनेछैनन्। नेताहरूका सवारीसाधनका अतिरिक्त चारवटा विशेष टिम सहभागी गराइएको छ।

यात्रामा एम्बुलेन्ससहितको मेडिकल टिम, सवारीसाधन मर्मतसम्भार गर्ने मेकानिकल टिम, केन्द्रीय प्रचार टिमका साथै न्यूनतम २० जना दक्ष स्वयंसेवकका सहभागी हुने र त्यसका लागि चारवटा गाडी छुट्याइएको छ।

अभियानमा सहभागी हुने केन्द्रीय नेताले आफूले प्रयोग गर्ने सवारीसाधनको इन्धनको व्यवस्था आफैंले गर्नुपर्नेछ। त्यस्तै, सहभागी सबैले नियमित सेवन गर्ने औषधि, न्यानो कपडा, स्लिपिङ ब्याग, ड्राइ फुड, मोबाइल चार्जर र आफूलाई आवश्यक पर्ने रकम पनि बोकेर जानुपर्नेछ।

केन्द्रीय कार्यालयले तयार गरेको आचारसंहितामा यात्राका दौरान नेतृत्वले जनतासँग गर्ने संवादमा अवरोध पुर्‍याउन नपाइने, औपचारिक कार्यक्रममा पनि तोकिएका नेताबाहेकले मञ्चमा भिडभाड गर्न नपाउने, यात्राका क्रममा खानपिन, बोलीचाली र आचरणमा मर्यादा कायम गर्नुपर्ने, स्थानीय भाषा, संस्कृति, परम्परा र चालचलनको सम्मान गर्नुपर्नेलगायत उल्लेख गरिएको छ।

पहाडमा रहेका विविध समस्या, पूर्वाधार र उत्पादनका विषय, पहाडलाई विकास र समृद्धिको नमुना बनाउनेलगायत विषयमा अभियानका लागि एमालेले अलग्गै पाँचवटा प्रश्न बनाएको छक। जसको जवाफ खोज्ने पनि एमालेका नेताहरूले बताएका छन्। एमाले केन्द्रीय कमिटीले यात्राको क्रममा यात्रा गर्नुको कारणबारे पनि स्पष्ट पारेको छ।

‘जटिल भौगोलिक संरचना, छरिएका बस्ती, प्राकृतिक विपत्तिको उच्च जोखिम, वन्यजन्तुका कारण कृषि उत्पादनमा ह्रास तथा जलवायु संकट पहाडको विकासका मुख्य चुनौती रहँदै आएको जनाउँदै एमालेले पहाड पूर्वाधार, विद्युतीकरण, खानेपानी र स्वास्थ्य तथा शिक्षामा पहुँचका दृष्टिले उल्लेख्य ढंगले रूपान्तरित हुँदै आएको दाबी गरेको छ।

तीव्र बसाइँसराइ पहाडको मुख्य समस्या बन्न थाले पनि एकातिर विकासका योजना पहाड चढ्दै जाने, अर्कातिर पहाडबाट जनसंख्याको ठूलो हिस्सा तराई, सहर हुँदै बिदेसिँदै जाने चुनौती नै अर्थ–राजनीतिको सर्वाधिक जटिल प्रश्न समाधानका लागि अभियान केन्द्रित हुनेछ,’ एमालेले यात्राको कारण उल्लेख गर्दै जारी गरेको विज्ञप्तिमा  उल्लेख छ।

एमालेका नेताहरूले यस्तो अभियानबाट राष्ट्रिय एकतालाई विभिन्न बहानामा खलबलाउने, सामाजिक सद्भावलाई कमजोर पार्ने र जनताबीचमा फाटो ल्याउने प्रयास देखा पर्न थालेकाले यात्राले सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई बलियो बनाउन योगदान गर्ने जनाएका छन्।

समाजमा निराशा फैलाउने, नकारात्मक मनोविज्ञान निर्माण गर्ने र नेपाल समृद्ध बन्दैन, बन्नै सक्दैन भन्ने संकथन निर्माण गर्ने प्रयास निकै व्यापक रूपमा भइरहेको भन्दै मुलुक बन्छ, बन्दै छ भन्ने दह्रो आत्मविश्वास निर्माण गर्नु, प्राप्त उपलब्धिको रक्षा एवं संवर्द्धन गर्नु तथा समाजमा आशावाद र सकारात्मक मनोविज्ञान निर्माण गर्नु अभियानको उद्देश्य रहेको पनि एमालेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: १२ मंसिर २०८० ००:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App