१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

भारतीय बाँधले सदरमुकाम गौर डुबानमा

बागमती र बकैया नदीको पानीले सदरमुकाम गौर डुबानमा परेको छ। गत बिहीवारदेखि शनिवारसम्म परेको पानीले बागमती र बकैया नदीमा बनाइएको तटबन्ध विभिन्न ठाउँमा भत्किन गई सदरमुकाम गौर डुबानमा परेको हो।

सदरमुकाम गौरको दक्षिणी सीमाना दशगजा लगत्तै भारतले बनाएको अग्लो बाँधका कारण सदरमुकाम गौरमा पानी थुनिएको छ।

भारतीय पक्षले अग्लो बाँध निर्माण गरेर पानीको प्राकृतिक निकास नै बन्द हुँदा सदरमुकाम गौर डुबानमा परेको हो। गौर भन्सारस्थित सशस्त्र प्रहरीको बेस क्याम्प, नेपाल प्रहरी भन्सार सुरक्षा गार्डको कार्यालय तथा भन्सार कार्यालय पनि डुबानमा परेका छन्।

सदरमुकाम गौरको अधिकांश भाग डुबानमा परेको हो। शनिवार साँझदेखि सदरमुकाम गौरमा प्रवेश गरेको बाढीको पानीले गौरका अधिकांश घरको भुइँतल्लामा पानी प्रवेश गरेको छ।

सदरमुकाम गौरमा सर्वसाधारणको सम्पूर्ण आवागमन ठप्प रहेको छ। सडक र गल्लीमा कम्तीमा दुई फिटसम्म पानी जमेको छ। बिहान दश बजेसम्म पनि पानी कम हुन सकेको छैन।

बागमती नदीमा बनाइएको तटबन्ध गढीमाई, माधवनारायण र राजदेवी नगरपालिकामा बाढीले भत्काएको छ। यसैगरी बकैया नदीको तटबन्ध कटहरिया, मौलापुर, राजपुर तथा ईशनाथ नगरपालिकामा बाढीले भत्काएको हो।

जिल्लाका सबै साना र ठूला नदीमा पानीको बहाव अत्यन्त धेरै भएकोले जिल्लाको लाखौँ बिगहा धानखेत डुबानमा परेपछि धानखेतीमा ठूलो क्षति भएको किसानहरुले बताएका छन्।

बाढीले गर्दा रौतहटमा अहिलेसम्म कुनै पनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी दिलिप घिमिरेले बाढीका कारण हालसम्म १ हजार २ सय ४५ घर डुबानमा परेका छन्। जिल्लामा अहिलेसम्म ४ घर बाढीले भत्काएको र ७ स्थानमा बाढीले बाटो पूर्ण रुपले अवरुद्ध रहेको प्रहरीको भनाइ छ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाले बाढीमा फसेका ४० भन्दा बढीको उद्धार गरिसकेका छन्।

सुरक्षाकर्मीलाई उद्धारका सबै उपाय अपनाउनका लागि निर्देशन दिइएको र अहोरात्र खटेर सुरक्षाकर्मीले सर्वसाधारणको बाढी र पानीजन्य समस्यामा साथ दिइरहेको रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी गराएका छन्। 

प्रकाशित: १३ आश्विन २०८१ १०:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App