१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

यी हुन् एमाले अध्यक्ष ओलीका बदनाम सारथी

सत्ता र शक्तिको आडमा बदमासी गर्न पल्केका मानिसले आफ्नो स्वार्थका मुलुकका ठुला, साना राजनीतिक दललाई उपयोग गर्दै आएका छन्। भ्रष्टाचार, ठगी, मानव बेचबिखन, हत्यालगायत आपराधिक र विसंगत गतिविधिमा संलग्न व्यक्तिहरूले आफ्नो कर्तुत लुकाउन राजनीतिक दलहरूलाई उपयोग मात्र गरेका छैनन, बदनामसमेत गराएका छन्। बदनाम र विवादित पात्रहरूलाई पार्टीमा आश्रय र संरक्षण दिनुमा दलका नेताको पनि आफ्नै स्वार्थ देखिन्छ।  

डेढ वर्षअघि विशेष अदालतले दोषी ठहर्‍याएर तीन करोडभन्दा बढी रूपैयाँ जरिवाना तोकेका पप्पु कन्स्ट्रक्सनका सञ्चालक रहेका हरिनारायण रौनियार केही दिनअघि एमालेमा प्रवेश गरे। यही मंसिर ५ गते एमाले अध्यक्ष केपी शर्मा ओलीले रौनियालाई फूलमाला लगाएर पार्टीमा स्वागत गरेका हुन्। बदनाम पात्रलाई पार्टीमा ल्याउँदा केही नेता त खुसी भएका होलान् तर आमकार्यकर्तालाई भने ‘नामुद ठग’हरूको भारी बोक्न गाह्रो परिरहेको छ। रौनियार एमाले प्रवेशप्रति पार्टीकै पदाधिकारी असन्तुष्ट छन् । तर उनीहरू खुलेर बोल्न सकेका छैनन्।

रौनियार २०७४ सालमा तत्कालीन संघीय समाजवादी पार्टीको टिकटमा पर्साबाट संसद् सदस्यमा निर्वाचित भएका थिए। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले २०७५ असोजमा भ्रष्टाचार मुद्दा दायर गरेपछि उनी निलम्बनमा परे। त्यसपछि उनी संसद्मा फर्किन पाएनन्। विशेष अदालतले २०७९ वैशाखमा सुनाएको फैसलाअनुसार रौनियारले अब चुनावमा प्रतिस्पर्धा गर्न पनि पाउँदैनन्। सर्वोच्च अदालतले पनि विशेषको फैसला सदर गरे रौनियारको संसदीय राजनीति करिबकरिब सकिनेछ । तत्कालीन संघीय समाजवादी पार्टी अहिले जनता समाजवादी पार्टी (जसपा) बनेको छ। जसपा अध्यक्ष उपेन्द्र यादवले वास्ता नगरेपछि रौनियार एमालेको आडमा मधेसमा राजनीति गर्ने कोसिस गर्दैछन्। प्रमुख प्रतिपक्षी एमालेले भावी सरकारको नेतृत्व गर्ने सम्भावना छ । यसैकारण रौनियारले आफ्नो स्वार्थ पूरा गर्न एमालेको फेरो समातेको आकलन गर्न सकिन्छ।

रौनियार ठेकेदार पनि हुन्। उनले ठेक्का लिएका दर्जनौं योजना अलपत्र छन्। यसबाट राज्यलाई अर्बौंको नोक्सानी भएको छ। रौनियारको हातमा अहिले पनि अझै पनि २० अर्ब ९५ करोड रूपैयाँबराबरका विभिन्न ठेक्का रहेको जानकारको दाबी छ। सडक विभागका अनुसार पक्की पुल र सडकका ६६ वटा ठेक्का उनको कम्पनी पप्पु कन्स्ट्रक्सनले पाएको छ। तीमध्ये दर्जनौं अलपत्र छन्।  

एमालेले समृद्धिका लागि यही मंसिर १४ गतेदेखि मध्यपहाडी लोकमार्गको झुलाघाटदेखि चिवाभन्ज्याङसम्म पदयात्रा गर्दै छ। कार्यकर्ता परिचालन र संगठन निर्माण, राष्ट्रिय एकताको आधार निर्माण र सरकार पक्षबाट भएका गलत कामको उजागर गर्न पदयात्रा गर्न लागिएको उसले जनाएको छ। एमालेले पदयात्रा तय गरेको मध्यपहाडी लोकमार्गमा पप्पु कन्स्ट्रक्सनले ठेक्का लिएका दर्जनौं पुल अलपत्र छन्। सरकारी बजेट दोहोन गर्ने र विकास निर्माण अलपत्र पार्ने ठेकेदारदलाई बोकेर एमालेले मध्यपहाडी लोकमार्गकेन्द्रित पदयात्रा गर्दा कार्यकर्तामा कस्तो सन्देश जाला ? रौनियार आफूले गरेका बदमासी ढाकछोप गर्न ओलीलाई ‘रिझाएर’ एमालेमा पसेको पार्टीकै कार्यकर्ता बताउँछन्।

विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईं पनि यसअघि ओलीको आशीर्वादमा एमालेमा प्रवेश गरेका थिए । अहिले तिनै प्रसाईं एमाले छाडेर नेताहरूमाथि गालीगलौजमा उत्रेका छन् । २०७८ कात्तिक ७ गते झापाको बिर्तामोडमा आयोजित एक कार्यक्रममा एमाले अध्यक्ष ओलीले प्रसाईंलाई पार्टीमा औपचारिक रूपमा स्वागत गरेका थिए। त्यसअघि प्रसाईं माओवादी केन्द्रनिकट मानिन्थे । एमाले सत्तामा पुगेपछि उनी हजुरबा साइनो लगाएर ओलीसँग नजिकिएका थिए। औपचारिक रूपमा एमालेमा प्रवेश नगर्दै प्रसाईं केन्द्रीय सदस्यको रूपमा २०७८ असोज १५ देखि १७ गतेसम्म ललितपुरको गोदावरीमा भएको प्रथम विधान महाधिवेशनमा पनि सहभागी भएका थिए । एमाले प्रवेश कार्यक्रममा प्रसाईंले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको चर्को आलोचना गरेका थिए। अहिले उनी राजसंस्था फर्काउनुपर्ने नारा लगाउँदै सडक आन्दोलनमा छन्।  

अर्का विवादित लक्ष्मी महतो पनि जनता समाजवादी पार्टी छाडेर २०७९ असोज २३ गते एमाले प्रवेश गरे । सोही साल मंसिरमा भएको संसदीय निर्वाचनमा एमालेले महतोलाई महोत्तरी–१ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनायो । उनले चुनाव पनि जिते । फरार भनिएका उनलाई प्रहरीले पक्राउ गरेको छैन । उनी अहिले भारतमा छन् ।  

त्यस्तै कुनै बेलाका चर्चित उद्योगी तुल्सीराम अग्रवाल अपहरण काण्डका योजनाकार मानिएका उमेश गिरीलाई एमाले अध्यक्ष केपी ओलीले २०७४ मंसिर ४ गते फूलमाला लगाएर पार्टीमा प्रवेश गराएका थिए । गिरीको गुन्डागर्दीको विरोधमा एमालेले बेलाबखत संसद्समेत तताउने गरेको थियो । एमाले नेताहरूले गिरीलाई कारबाही गर्न  

पटक–पटक माग गरेका थिए । तर पछि तिनै गिरीलाई ओलीले पार्टीमा भिœयाए । भारतीय गुन्डा पप्पु भूमिहारको समूह परिचालन गरी अग्रवाललाई अपहरण गरी फिरौती लिएको, एमालेका नेता–कार्यकर्तामाथि आक्रमण गरेको आरोपसमेत उनीमाथि थियो। उनको प्रवेशलाई लिएर एमाले नेतृत्वको आलोचना भएको थियो। अहिले गिरी गुमनाम छन्।  

हिन्दु युवा संघको केन्द्रीय अध्यक्ष रहेका ४५ वर्षीय काशी तिवारीको २०६७ जेठ २९ गते वीरगन्जमा गोली हानेर हत्या गरियो।

तत्कालीन माओवादी नेता प्रभु शाह, जलिम मियाँलगायतको योजनामा तिवारीको हत्या भएको अभिव्यक्ति त्यसबेलाका प्रहरी अधिकारीहरूले सार्वजनिक रूपमै दिएका थिए। पर्साको जगरनाथपुर गाउँपालिकाका अध्यक्षसमेत रहेका मियाँमाथि कान्छा छोराकी सालीको हत्यामा संलग्न रहेको आरोपसमेत थियो। तिवारी हत्या प्रकरणमा मुछिएका साह र मियाँ पछि एमाले प्रवेश गरे। पर्सा र रौतहट एमाले वृत्तमा त्यसको विरोध भयो। अन्ततः पार्टीको निर्णय भन्दै कार्यकर्ताले ती विवादित पात्रलाई स्वीकार गरे।

त्यसैगरी तिवारी हत्यामा मुछिएका साहलाई जोगाउन ८ लाख रूपैयाँ घुस दिने पूर्वसहसचिव नागेन्द्र झा एमाले प्रवेश गरे। झालाई एमाले अध्यक्ष ओलीले २०७९ वैशाख ३ गते सर्लाही पुगेर पार्टीमा भित्र्याएका हुन्। झाले २०६८ असोज २६ गते तिवारीकी पत्नी बबितालाई ८ लाख रूपैयाँ दिई साहको नाम नलिन प्रलोभन दिएका थिए। त्यसको अडियोसमेत सार्वजनिक भएको थियो। तिवारी हत्यामा प्रभु साहको मुख्य संलग्नता भएको किटानी जाहेरी तत्कालीन पर्साका प्रहरी प्रमुख रमेश खरेलले सरकारी वकिल कार्यालयमा पेस गरेका थिए।

२०५८ सालसम्म राजावादी रहेका ल्हाक्र्याल लामा पनि एमालेमा प्रवेश गरे। स्थानीय विकास मन्त्रालयमा कमल थापाको प्रशासन चल्दासम्म गुम्बा व्यवस्थापन समितिको अध्यक्ष लामा हुन्थे। एमाले प्रवेश गरेपछि लामा झलनाथ खनाल नेतृत्वको सरकारमा अर्थ राज्यमन्त्री बने। दोहोरो नागरिकता र पासपोर्ट लिएका उनले राज्यमन्त्री भएको १० दिनमै राजीनामा दिनुपर्‍यो। पार्टीमा खारिएका र त्यागी वीरबहादुर लामालाई पन्छाएर खनालले लामालाई अर्थराज्यमन्त्री बनाएका थिए। यसको पार्टीभित्र चर्को आलोचना भयो। तिनै लामा पछि माओवादीमा गए। अहिले उनलाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारले लुम्बिनी विकास कोषको उपाध्यक्ष बनाएको छ।  

विवादित मेडिकल व्यवसायी वीरगन्जका बसरुद्धिन अन्सारी पनि अहिले एमालेमा सक्रिय छन्। त्यस्तै अर्का व्यापारी मोती दुुगड एमाले उद्योग विभागको सदस्य छन्। उनी एमाले अध्यक्ष ओलीका आर्थिक व्यवस्थापक मानिन्छन्। एमाले नेतृत्वले ६० लाख रूपैयाँ लिएर विराटनगरकी उद्योगपति राज्यलक्ष्मी गोल्छालाई समानुपातिक सांसद बनाएको भन्दै पार्टीभित्र ठूलो आलोचना भएको थियो। युवा संघका नेताले गोल्छाबाट पैसा बुझेको समाचारमा आएको थियो ।

ओखलढुंगाका एमाले नेता छवि कार्की, शिक्षक उज्जन श्रेष्ठ र गणेश श्रेष्ठ, गुरु लुइँटेललगायतको हत्यामा सजाय भोगेका माओवादी नेता बालकृष्ण ढुंगेललाई पनि एमालेले संरक्षण गरेको आरोप थियो। ढुंगेलको निधन भैसकेको छ।

एमाले अध्यक्ष ओलीले माओवादीका विवादित नेता कालीबहादुर खामको पनि बेलाबेलामा चर्चा गर्छन्। गुण्डा नाइके राजीव गुरुङ (दीपक मनाङे) लाई पनि मनाङबाट सांसद बनाउन एमालेले सहयोग गरेको थियो। अर्का गुण्डा दिनेश अधिकारी ‘चरी’लाई पनि एमालेको साथ र सहयोग थियो। उनलाई प्रहरीले इन्काउन्टर गरेको थियो। अर्का गुण्डा चक्रे मिलन एमालेमै क्रियाशील छन्। युवा संघमा उनको कोटाबाट ५० जना केन्द्रीय सदस्य भएको बताइन्छ। विगतमा भीमप्रसाद गौचन, भूपाल किराँती, सत्यमान लामालगायत पञ्चलाई एमालेमा प्रवेश गराएर त्यागी र इमानदार कार्यकर्तामाथि अन्याय गरिएको पीडित बताउँछन्।

प्रकाशित: १० मंसिर २०८० ००:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App