१९ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री राहत कोषमा काँग्रेसको ५० लाख सहयोग

प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा नेपाली काँग्रेसले ५० लाख रुपैयाँ सहयोग गरेको छ। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासहितका पदाधिकारीहरूको एक प्रतिनिधि मण्डलले आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाललाई बालुवाटारमा भेटी चेक हस्तान्तरण गरेको हो। काँग्रेसले भूकम्प पछिको उद्दार, राहत, पुर्नस्थापना र पुनर्निर्माणका लागि ९ बुँदे सुझाव पेश गर्दै सरकारको ध्यानाकर्षण पनि गराइएको छ।  

काँग्रेसले भूकम्प पछिको खोज र उद्दारमा प्रधानमन्त्रीको तदारुकता र तत्परताको प्रशंसा पनि गरेको छ। सुझावमा राहत र पुनर्निर्माणका लागि अनुभवी कर्मचारी परिचालन, अस्थायी आवासको व्यवस्था, उद्दार र पुनस्र्थापनामा एकद्वार प्रणाली अनुसरण गर्दा प्रदेश सरकार र स्थानीय सरकारलाई नै नेतृत्वदायी भूमिका दिई संघीय सरकारको अनुगमन र सहजिकरण गर्नुपर्ने रहेको छ।  

सो अवसरमा प्रधानमन्त्री दाहालले विगतका राम्रा अनुभवहरुको अनुसरण गर्ने बताए। उनले खोज र उद्दारको पहिलो चरणको कार्य सफलतापूर्वक सम्पन्न भएको बताउँदै अब राहत र पुनर्निर्माणको दोस्रो चरणको कार्यमा द्रुतगतिमा लाग्नुपर्ने बताए। उनले भने, ‘हिजो मात्र दुबै छिमेकी राष्ट्रका राजदूतहरुलाई छुट्टाछुट्टै बोलाएर राहतका लागि कुरा भएको छ। उहाँहरुले राहतका लागि आफूहरु सुरुवात गरेका छन्। यसरी सबैतिरबाट आर्थिक र अन्य सहयोगहरु आउने क्रम जारी छ।’  

प्रधानमन्त्रीले आगामी दिनमा भूकम्प लगायतका अन्य प्राकृतिक प्रकोपका लागि स्थानीय तहमा स्टोरको व्यवस्था गर्ने, भूगोलको अध्ययन गरेर एकीकृत बस्तीको मापदण्ड तोक्ने लगायतका कार्यका बारेमा छलफल भएको बताए। उनले नेपालीहरुमा संकटको बेला एकैठाउँमा उभिने संस्कार विगतका प्राकृतिक विपदामा झैं यसपटक पनि सबै एकजुट भएको बताए।

त्यसैगरि नेकपा एकीकृत समाजवादीले पनि २५ लाख रुपैयाँ सहयोग गरेको छ। पार्टीका अध्यक्ष माधव कुमार नेपाल लगायतका नेताहरु सहितको प्रतिनिधि मण्डलले प्रधानमन्त्रीलाई बालुवाटारमा भेट गरी २५ लाखको चेक प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषको लागि हस्तान्तर गरेको थियो।

प्रकाशित: २१ कार्तिक २०८० ०५:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App