५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

कोशीमा एमाले प्रतिपक्षमा

नेपाली कांग्रेसका सांसद  केदार कार्कीलाई मुख्यमन्त्री बनाउन मुख्य भूमिका खेलेको नेकपा एमाले कोशीमा प्रतिपक्षमा बसेको छ।

सरकारमा गठबन्धनका दलहरू नेकपा माओवादी केन्द्र र एकिकृत समाजवादीलाई समावेश गरेपछि सरकारबाट मन्त्री फिर्ता वोलाएको एमालेले विश्वासको मत फिर्ता नलिई प्रतिपक्षमा बस्ने निर्णय गरेको हो।

सोमबार एमाले संसदीय दलको बैठकले गरेको निर्णय कार्यान्ँवयन गर्दै एमाले प्रदेशसभा बैठकमा प्रतिपक्षको वेञ्चमा बसेको थियो। सोमबारको  बैठकले सरकारलाई दिएको विश्वासको मत हाललाई कायमै राख्ने र विपक्षमा बस्ने निर्णय गरेकाले प्रदेशसभा बैठकमा विपक्षमा बसेको  नेकपा एमाले संसदीय दलका उप नेता रामबहादुर रानाले जानकारी दिए। एमाले नेतृत्वको सरकारले ल्याएको बजेट अध्यादेश अघि बढाउन पनि एमालेले सहयोग गरेको उपनेता रानाले बताए। कोशीमा कांग्रेसका सांसद केदार कार्कीले पार्टी निर्णयको बिद्रोह गरी कांग्रेसमा ७ सांसदसहित एमालेको सहयोगमा संविधानको धारा १६८को उपधारा ५ बमोजिक कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए।

मुख्यमन्त्री बनाउन भूमिका खेलेको नेकपा एमालेले गठबन्धनका दलहरूलाई सरकारमा नल्याउन मुख्यमन्त्री कार्कीलाई आग्रह गरेको थियो। मुख्यमन्त्री कार्कीले एमालेको आग्रहलाई अस्वीकार गरी नेकपा मोओवादी केन्द्र र एकिकृत समाजवादी पार्टीलाई समावेश गरी मन्त्रिपरिषद् विस्तार गरेपछि एमाले रुष्ट भएको थियो। कार्कीले मन्त्रिपरिषद् बिस्तार गरेपछि एमालेले कात्तिक १७ गते सरकारमा सहभागि मन्त्री रामबहादुर रानालाई फिर्ता बोलाएको थियो। एमाले प्रतिपक्षमा बसेपछि कोशी प्रदेशमा सत्तारुढ गठबनधनको मात्रै सरकार कायम भएको छ। सत्तारुढ गठबन्धनसँग कांग्रेसका २९, माओवादी केन्द्रका १३, एकिकृत समाजवादीका ४ र जसपाका एक जना सांसद छन्। ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ जना सांसद चाहिने र उक्त संख्या गठबन्धनसँग छ।

प्रतिपक्षी दलहरू नेकपा एमाले वा राप्रपामध्ये कुनै एक पार्टीलाई सरकारमा समावेश नगरी सरकार र संसदले प्रभावकारी रुपमा काम गर्न सक्ने अवस्था देखिंदैन। कोशीमा राप्रपाले यसअघि नै प्रतिपक्षमा बस्ने निर्णय गरिसकेको छ। राप्रपाले मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिंदा पनि विपक्षमा मतदान गरेको थियो। कोशीमा सभामुखको पद खाली रहेको छ । उपसभामुख सृजना दनुवार एमालेबाट निर्वाचित सांसद हुन्। एमालेको उपसभामुख भएका कारण यस अघि नेपाली कांग्रेसका संसदीय दलका नेता उद्ववा थापा मुख्यमन्त्री हुँदा  विश्वासको मति लिंदा उपसभामुख अनुपस्थित भएपछि सभाको अध्यक्षता गरेका कांग्रेसका सांसद इस्रायल मन्सुरीलाईसमेत मत दानमा सहभागि गराएका थिए। सभामुखलाई विश्वासको मत लिंदा मतदानमा सहभागि गराउनु संविधान विपरित भएको ठहर गर्दै सर्बोच्च अदालतले मुख्यमन्त्री थापालाई पदमुक्त गरेको थियो। कोशीमा प्रतिपक्षी दलहरू एमालेका उपसभामुखसहित ४० र राप्रपाका ६ जना सांसद छन्।  

बजेट अध्यादेश स्वीकृत  

कोशी प्रदेशसभाले यसअघि सरकारले ल्याएको बजेट सम्बन्धी अध्यादेश स्वीकृत गरेको छ। प्रदेशसभाको सोमबार बसेको बैठकले ‘प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको अध्यादेश’ र ‘आर्थिक बर्ष २०८०–८१ को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केही रकम बिनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश’ स्वीकृत गरेको हो।

अध्यादेश कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको तर्फबाट मन्त्री गणेश उप्रेतिले प्रदेशसभामा  पेश गरेका थिए। दुबै अध्यादेश सर्वसम्मतले पारित भएको उपसभामुख सृजना दनुवारले जानकारी दिइन्। यसअघि उक्त अध्यादेश अस्वीकृतको माग गर्दै सत्ता गठबन्धन दलमा आबद्ध सांसदहरुले प्रदेशसभा सचिवालयमा दर्ता गरेको सूचना सांसद नारायणबहादुर बुर्जा मगरले फिर्ता लिएका थिए।  

यस्तै प्रदेशसभाको आजकै बैठकमा ‘प्रदेश निजामती सेवा ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक’ र ‘स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका शर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सभामा प्रस्तुत भएको छ।  मन्त्री शमशेर राईले दुबै विधेयक प्रदेशसभामा पेश गरेका थिए।  

प्रकाशित: २० कार्तिक २०८० १३:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App