१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

धनी देशका कारण नेपाललाई जलवायु परिवर्तनको असर: गुटेरेस

अन्नपूर्ण आधारशिविरबाट पोखरा फर्केपछि पत्रकारसँग कुरा गर्दै राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस। तस्बिरः उमेश पुन/नागरिक

राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले प्रकृतिबिरुद्धको लडाईं रोक्ने सन्देश दिनु आफ्नो भ्रमणको प्रमुख उद्देश्य रहेको बताएका छन्।नेपाल भ्रमणमा रहेका राष्ट्रसंघका महासचिव गुटेरेसले मंगलबार विहान अन्नपूर्ण आधारशिविर (एबिसी) पुगेर भने, ‘जलवायु परिवर्तन प्रकृति बिरुद्धको लडाईं हो, त्यसैले यसलाई रोक्ने सन्देश दिनु मेरो भ्रमणको प्रमुख उद्देश्य हो।’ 

महासचिव गुटेरेसले जलवायु परिवर्तन विकसित र सम्पन्नशाली देशहरुको कारणले भइरहे पनि त्यसको नतिजा नेपाल र नेपाल जस्ता विकासोन्मुख र अल्प विकसित देशहरुले भोगिरहेको बताए। ग्लोवल वार्मिङ निम्त्याउने मुख्य देशहरु भनेको विकसित र सम्पन्नशाली राष्ट्रहरु रहेको उनको भनाई छ। ‘जलवायु परिवर्तनको असर निम्त्याउनुमा नेपालको कुनै हात छैन,’ उनले भने, ‘अरु धनी राष्ट्रहरुले गर्दा खेरी जलवायु परिवर्तन भइरहेको छ। तर, नेपालले त्यसको नतिजा भोगिरहेको छ।’

एबिसीबाछ पोखरा फर्किएपछि पोखराको पूरानो विमानस्थलमा विशेष पत्रकार सम्मेलन समेत गरेका महासचिव गुटेरेसले जलवायु परिवर्तनका कारण हिमालय र हिमनदीहरु पग्लिरहेको बताए। त्यसको प्रत्यक्ष अनुभव गर्न नेपाल आउन विश्व जगतलाई उनले आग्रह समेत गरे। जलवायु परिवर्तनकै कारण मानव र समुदायमा नकारात्मक असर पर्ने गरी हिमपहिरो, पहिरो, बाढी लगायतका प्राकृतिक विपत्तीहरु आइरहेको उनको भनाई थियो। उनले जलवायु परिवर्तन रोकेर सुन्दर हिमाल र हिमनदीहरु जोगाउनुपर्ने बताए ।

महासचिव गुटेरेसले जलवायु परिवर्तनमा हात नभएपनि त्यसको नकारात्मक असर भोगिरहेका नेपाल र नेपालजस्ता देशलाई अन्तर्राष्ट्रिय जगतले साथ र सहयोग गर्नुपर्ने बताए। नेपाल र नेपालजस्ता देशहरुको जलवायु परिवर्तनमा कुनै हात छैन तर, नतिजा भने उनीहरुले भोगिरहेका छन्। त्यसैले नेपाल लगायतका देशहरुलाई अन्तर्राष्ट्रिय समुदायले अनुकुलन लगायतका लागि साथ, समर्थन र फण्डिङ (सहयोग) गर्नुपर्छ।’ 

सोमबार दिउँसो पोखरा आएका महासचिव गुटेरेस मंगलबार विहान नेपाली सेनाको हेलिकप्टरमार्फत बेसक्याम्प पुगेका थिए। त्यहाँ उनले करिब आधाघण्टा बिताएका थिए। त्यहाँ उनले स्थानियसँग भलाकुसारी गर्नुका साथै जलवायु परिवर्तनबारे भिडियो सन्देश रेकर्ड गराएका थिए। महासचिव गुटेरेस सोहि विमानबाट आज विहान लुम्विनी गएका छन्।

प्रकाशित: १४ कार्तिक २०८० ०५:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App