११ असार २०८१ मंगलबार
image/svg+xml
राजनीति

संघीय संसदमा आज राष्ट्रसंघका महासचिवको सम्बोधन

संघीय संसद्को प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा आज संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। दिउँसो ४ बजे बोलाइएको संयुक्त बैठकमा महासचिव गुटेरेसको सम्बोधन गर्ने कार्यक्रम भएकाले सभामुख देवराज घिमिरेले संयुक्त सम्बोधन तयारीबारे संसद् सचिवालयसँग जानकारी लिएका छन्। 

सभामुखले सोमबार बेलुका संयुक्त सदनको बैठक (प्रतिनिधि सभा) कक्षको व्यवस्थापकीय र प्राविधिक पक्षको निरीक्षण गरेका छन् । सभामुखले संसद् सचिवालयका महासचिवलगायत उच्च अधिकारीलाई व्यवस्थापन पक्षलाई त्रुटिरहित सम्पन्न गर्न निर्देशन दिएको सभामुखको सचिवालयले जनाएको छ । सभामुख घिमिरेले आइतबारको प्रतिनिधिसभा बैठकमा सांसदहरूलाई मंगलबार दिउँसो पौन ४ बजेभित्र औपचारिक पोसाकमा सदनमा उपस्थित भइसक्न निर्देशन दिएका छन् ।  

गुटेरेसले सम्बोधन गर्ने समयमा उपस्थित हुन संवैधानिक निकायका पदाधिकारी, सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार र रजिस्ट्रार, न्याय परिषद् सचिवालयका सचिव, महान्यायाधिवक्ता र नायब महान्यायाधिवक्ता, विभिन्न मन्त्रालयका सचिव, राष्ट्रपति कार्यालयका सचिव, उपराष्ट्रपति कार्यालयका सचिव, महालेखा परीक्षकको कार्यालय र महालेखा नियन्त्रक कार्यालयका सचिव, नेपाल राष्ट्र बैंकका गभर्नर, भाषा आयोगका पदाधिकारीहरूलाई निमन्त्रणा गरिएको छ ।  

त्यस्तै नेपाल कानुन आयोगका पदाधिकारी, सत्यनिरूपण तथा मेलमिलाप आयोगका सचिव, बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका सचिव, प्रधानसेनापति, प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी महानिरीक्षक, नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रतिनिधिहरूलाई निमन्त्रणा गरिएको छ ।  

आइतबार नेपाल भ्रमणमा आएका महासचिव गुटेरेस सोमबार सोलुखुम्बुबाट सिधै नेपालस्थित संयुक्त राष्ट्रसंघको कार्यालय पुल्चोक ललितपुरमा आयोजित बैठकमा सहभागी भए । त्यसपछि उनी पोखरा पुगेका छन् । मंगलबार बिहान उनी अन्नपूर्ण आधार शिविर पुगेर लुम्बिनी जानेछन् । लुम्बिनीबाट फर्किएपछि मंगलबार दिउँसो ४ बजे उनले संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्नेछन् । आइतबार दिनभर उनले राष्ट्रपति, प्रधानमन्त्री, परराष्ट्रमन्त्री, विभिन्न दलका नेतासँग भेटघाट गरेका थिए । उनी बुधबार राष्ट्रसंघको मुख्यालय फर्कने कार्यक्रम छ ।

प्रकाशित: १४ कार्तिक २०८० ०१:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App