१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

कोसीको झट्काले सत्ता गठबन्धनमा संशय

फाइल तस्बिर

कोसी प्रदेसको सरकार गठनमा भएको राजनीतिक ध्रुविकरणको असर संघीय सरकारमा पनि पर्ने संकेत देखिएको छ । कोसीको यो झट्काले माओवादी केन्द्रको नेतृत्वमा बनेको संघीय गठबन्धन सरकार १० महिना पुग्दानपुग्दै परिवर्तन हुने स्थिति देखापरेको हो । कोसी प्रदेश सरकारको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला पक्षका केदार कार्की नियुक्त भएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले शनिबार बिहान कांग्रेससहितको सत्ता गठबन्धनलाई निरन्तरता दिन नयाँ सहमति गर्नुपरेको छ ।  

कोसीमा भएको राजनीतिक धु्रवीकरणको बाछिटाले संघीय सरकार प्रभावित हुने देखिएपछि दाहालले सत्ताको प्रमुख घटक कांग्रेसका दुई नेताहरू शेरबहादुर देउवा र कोइरालासँग यही गठबन्धन र सरकारलाई निरन्तरता दिने सहमति गर्नुपरेको हो ।

कोसीका नवनियुक्त मुख्यमन्त्री कार्कीलाई माओवादी केन्द्रको समेत समर्थन रहेको जनाउँदै दाहालले प्रधानमन्त्री पद जोगाउन कांग्रेसका दुई नेतालाई बोलाएर यस्तो सहमति गरेका हुन् ।  

गठबन्धन दलको बुधबारको बैठकले कोसीको मुख्यमन्त्रीमा माओवादी केन्द्रका इन्द्र आङ्बोलाई अघि सार्ने निर्णय गरेको थियो । तर कांग्रेस नेता कोइरालाले गठबन्धन दलको निर्णय अस्वीकार गर्दै कार्कीलाई एमालेको समर्थनमा मुख्यमन्त्रीमा दाबी गर्न लगाए । कोइरालाको चाहनाअनुसार नै कार्की मुख्यमन्त्री बनेपछि त्यसले कोसी प्रदेशको राजनीतिक समीकरण मात्र होइन, संघीय सरकारको समीकरणमा पनि धक्का पुग्ने आकलन हुन थालेको छ ।

‘कोसीमा नेपाली कांग्रेसले आफ्ना सांसदलाई एक बनाउन नसकेपछि संघीय सरकारको आयु पनि कम हुन्छ भन्ने महसुस हामीलाई भयो’, माओवादीका एक पदाधिकारीले भने । ती पदाधिकारीका अनुसार यसले संघीय सरकार दाहालको नेतृत्वमा लामो समय रहँदैन भन्ने संकेत गरेको छ । ‘दाहालले गठबन्धन दलको निर्णयविपरीत कोसीमा कांग्रेसको कोइराला पक्षबाट मुख्यमन्त्री बनेका कार्कीलाई गठबन्धनकै मुख्यमन्त्री हुन् भन्नुपरेको कारण पनि यही हो’, ती पदाधिकारीले भने । कोसी प्रदेशको समस्यालाई लिएर शुक्रबार प्रधानमन्त्री दाहालले कोइरालालाई फोन गरी कार्कीबाहेकका नेतालाई मुख्यमन्त्रीमा समर्थन गर्ने बताएका थिए । तर कोइरालाले नमानेपछि दाहाल शनिबार बिहान उनै कार्कीलाई गठबन्धनको मुख्यमन्त्री मान्न तयार भएका हुन् ।

‘हिजो प्रधामन्त्रीज्यू कांग्रेस नेताहरूको बैठकमा सहभागी हुनु भयो । यसलाई एकथरी कांग्रेसले राम्रो मानेका छैनन्, पार्टीभित्र माओवादीले खेल्न खोज्यो भन्ने भान परेको छ, जसको असर संघीय सरकारमा पनि पर्ने सम्भावना बढिरहेको छ’, माओवादीका ती पदाधिकारीको विश्लेषण छ । दाहालले कांग्रेस नेताहरूसँगको बैठकमा सहभागी भएपछि कोइरालालाई फोन गरेको कुरा कांग्रेस प्रवक्ता मीन विश्वकर्माले पनि स्वीकार गरेका छन् ।

प्रधानमन्त्री दाहालले पनि गठबन्धनमा समस्या रहेको स्विीकारेका छन् । भरतपुर विमानस्थलमा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले गठबन्धनमा समस्या रहेको बताए । ‘गठबन्धनमा समस्या त पक्कै पनि हो । तर पनि हामीले यसलाई व्यवस्थापनको ठाउँतिरै लगेका छौं । अब गठबन्धन बलियो हुने ठाउँतिर नै जान्छ भन्ने विश्वास छ’, उनले भने ।

दाहाल शनिबार बिहान आफू, कांग्रेस सभापति देउवा र नेता कोइरालाबीच भएको सहमतिप्रति पनि ढुक हुन सकिरहेका छैनन् । ‘बिहानमात्रै कांग्रेस सभापति शेरबहादुर, म आफैं र शेखरबीच एउटा समझदारी भएका छ । हामी गठबन्धनलाई बलियो बनाउन दृढ र स्पष्ट छौं । कुनै पनि हालतमा गठबन्धनलाई कमजोर बनाउन दिइने छैन भन्ने सहमति भएको छ,’ उनले भने ।

एमाले समर्थनमा कार्की मुख्यमन्त्री बन्ने पक्का भएपछि उनी गठबन्धनकै मुख्यमन्त्री भएको दाहालले बताएका थिए । तर दाहालले आफ्नो पार्टीका सांसदलाई कार्कीको समर्थनमा कोसी प्रदेश प्रमुखको कार्यालयमा पठाएनन् ।  

कोसीमा कांग्रेसकै कोइराला पक्षले गठबन्धन दलको निर्णयलाई चुनौती दिएपछि केन्द्रीय सरकार जुनसुकै बेला धरापमा छ भन्ने संकेत मिलेको छ । ‘कांग्रेसले धोका दिन्छ । २०५१ सालमा कांग्रेसले आफ्नै सरकार ढालेर मध्यावधिमा गएको इतिहास हामीले बिर्सेका छैनौं । २०५६ सालमा कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्रीबाट हटाउन कांग्रेसका नेताहरू कसरी लागेका थिए भन्ने पनि हामीलाई राम्रै सम्झना छ । कांग्रेसले माओवादीलाई खेलाउन सक्छ । अघिल्लो दिन कोसीमा माओवादीका इन्द्र आङबोको नेतृत्वमा सरकार बनाउने सहमति भयो तर कांग्रेसले आफ्ना सांसदलाई सम्झाउन सकेन । कांग्रेसबाट विद्रोह गरेका केदार कार्की मुख्यमन्त्री बन्न पुगे । प्रधानमन्त्री दाहालले लाचार भएर हाम्रो पनि समर्थन छ भन्नुप¥यो’, माओवादीका ती पदाधिकारीले भने । ती पदाधिकारका अनुसार दाहालले आफ्नो प्रधानमन्त्री पद जोगाउन खोजे तर कोसीमा कार्यकर्ताको मनोबल गिरेको चाहिँ देखेनन् ।

कांग्रेसले जुनसुकै बेला माओवादीलाई धोका दिन सक्छ भनेर माओवादी युवा नेताहरूले एमालेसँग सहकार्यका लागि बेलाबखत छलफल गरिरहेका छन् । अहिले माओवादी नेता वर्षमान पुनले एमालेसँगको सहकार्य टाढा छैन भनिरहेका छन् । उनले एमालेलाई गाली नगर्न आफ्ना नेता कार्यकर्तालाई आग्रह गरिरहेबाट पनि यो बुझ्न सकिन्छ ।

कोइराला पक्षले संघीय सरकारमा माओवादी मन्त्रीका कार्यशैलीका कारण कांग्रेस बढी बदनाम भएको बताउँदै आएको छ । कांग्रेसमा माओवादीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन हुन थालेकाले पनि संघीय सरकार परिवर्तन उन्मुख देखिन्छ ।

संसदीय मूल्य मान्यतामा अडिग रहने हो भने कार्कीसँग विद्रोह गरेका आठ सांसदलाई कांग्रेसले अनुशासनको कारबाही गर्नुपर्ने थियो । तर कांग्रेसले अनुशासनको कारबाही गर्न सकेन । ‘कांग्रेसले उनीहरूलाई कारबाही गर्दैन भन्ने हामीलाई लागेको थियो । हामीलाई गठबन्धन जोगाउनु थियो । त्यसैअनुसार सहमति गरिएको हो तर यो सहमतिले सरकार टिक्छ भन्ने ढुक्क बनाएको छैन’, माओवादी ती पदाधिकारीको दाबी छ ।

माओवादी र कांग्रेस संस्थापन पक्षबीचको गठबन्धन टुट्ने अवस्थामा प्रमुख विपक्षी एमालेले एक पक्षलाई सहयोग गर्ने वातावरण बनिरहेको छ । कोसीमा एमालेकै बलमा कोइराला पक्षका कार्की मुख्यमन्त्री बनेका छन् । कांग्रेस संस्थापन इतर समूहले केन्द्रमा सरकार बनाउन चाहे एमालेले सहजै समर्थन गर्ने अवस्था छ । ‘हामी पहिला कोसी प्रदेश सरकारलाई हेर्छौं ।  

त्यहाँ कांग्रेसको कोइराला समूह कसरी अघि बढ्छ । त्यसैअनुसार केन्द्रमा के गर्ने भन्ने नीति तय गर्छौं’, एमालेका एक उच्च नेताले भने, ‘सरकार बनाउनु ठूलो कुरा होइन, माओवादीले एमालेलाई जसरी धोका दियो, उसले पनि धोका पाइँदोरहेछ भन्ने महशुस हुनु ठूलो कुरा हो । तत्काल एमाले–माओवादीको सरकार बन्ने सम्भावना भने छैन ।’ ती नेताका अनुसार माओवादीका केही नेताले अनौपचारिक रूपमा सहकार्यका लागि संवाद अघि बढाए पनि एमालेले गत पुसमा माओवादीबाट पाएको धोकालाई राम्रोसँग बुझेकाले अहिले नै सहकार्यको सम्भावना छैन ।

प्रकाशित: २८ आश्विन २०८० ००:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App