१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

‘दिपक मनांगे नै एमालेका उम्मेदवार’

सन्तोष पोखरेल/किसान संगीत नेपाली

पोखरा/लमजुङ- एमालेले प्रदेशसभा निर्वाचनका लागि मनाङमा दिपक मनांगे (राजीव गुरुङ) लाई उम्मेदवार बनाउने तयारी गरे पनि अन्तिम समयमा विवाद हुँदा खण्डा लामा गुरुङलाई उम्मेदवार चयन ग¥यो । टिकट नपाएका मनांगेले प्रदेशसभा निर्वाचन क्षेत्र ‘ख’ बाट स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

स्वतन्त्रबाट उम्मेदवारी दिए पनि खण्डालाई ‘ब्याक’ गरेर अझै पनि दिपकलाई नै अन्तिम समयमा अगाडि सार्ने तयारी एमालेको छ । एमाले चार नम्बर प्रदेश कमिटी सदस्यसमेत रहेका मनाङका नेता ट्रिपल पी गुरुङले घुमाउरो पारामा दिपकलाई नै अगाडि ल्याउने सम्भावना रहेको बताए । ‘खण्डा एमालेकी सामान्य कार्यकर्ता हुन्,’ उनले भने, ‘तर, कतैबाट पनि विवाद नहोस् भनेर मात्रै हामीले खण्डालाई ल्याएका हौं ।’ दिपकलाई सहजै बाटो खुल्न सक्ने पनि उनले बताए ।

खुलेरै नबोले पनि पार्टीले अन्तिममा दिपकलाई अगाडि सार्ने तयारी भइरहेको बताइएको छ । ‘खासमा एमालेका मुख्य उम्मेदवार नै मनांगे हुन् । उनलाई देखिने गरी अगाडि सार्दा अप्ठेरो पर्ने भएकाले खण्डालाई अगाडि देखाएका हौ,’ मनाङ एमालेका एक नेताले भने । ती नेताका अनुुसार अन्तिम समयमा खण्डाको उम्मेदवारी फिर्ता गराउन पहल भइरहेको छ । कार्यकर्ताका अनुसार खण्डाभन्दा ‘हेभिवेट’ नेतालाई उम्मेदवार बनाउँदा फिर्ता गराउन नसक्ने भएपछि कमजोर उम्मेदवार रहेकी खण्डालाई अगाडि सारिएको हो।

स्वतन्त्र उम्मेदवार बनेका मनांगे खण्डालाई राजनीतिमा भन्दा व्यापारमा जमेको बताउँछन् । ‘राजनीतिभन्दा पनि सामाजिक काम र व्यापारमा उहाँ निकै नै जम्नुभएको छ,’ मनांगेले नागरिकसँग भने, ‘त्यही भएर पनि उहाँको चासो राजनीतिमा कम छ ।’ उनका अनुसार खण्डा गार्मेन्ट व्यापारी हुन् ।

खण्डा र आफू नजिकको नातेदार रहेको समेत मनांगेले बताए । मनांगे र खण्डाको नाता दिदीभाइकोे छ । ‘मनाङमा पार्टीभन्दा पनि परिवारको राजनीति हेरिन्छ । जसको परिवार ठूलो छ, उसैले जित्छ,’ उनले भने । मनांगेले आफ्नो परिवारको आकार ठूलो रहेकाले पनि आफूले स्वतन्त्र उम्मेदवारी दिएको बताए । ‘अन्तिममा सहमतिमा दिदीभाइमध्येबाट एकजना उम्मेदवार हुन सक्छौं,’ उनले भने, ‘दिदीले पनि मलाई नै उम्मेदवार बन्न दबाब दिनुभएको छ ।’

केही युवा कार्यकर्ताले एमालेले सीधै उम्मेदवार नबनाएपछि आफूलाई स्वतन्त्रबाट उठ्न लगाएको उनले बताए । एमालेसँग कसले उम्मेदवारी फिर्ता लिने भन्नेमा छलफल भइरहेको उनले बताए ।

उनका अनुसार दुवैजना उम्मेदवार चुनावी मैदानमा जाँदा दुवैजना नै पराजित हुने अवस्था आउने भएकाले एकजना मात्र मैदानमा उत्रिने उनले बताए । ‘मलाई निर्वाचनमा होमिन कानुनी रूपमा कुनै पनि बाधाअड्चन छैन । बाहिर हल्ला भएजस्तो समस्या छैन,’ उनले भने, ‘मैले धेरै मुद्दा जितिसकेको पनि छु । संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा आरोप लागे पनि त्यसको आधार केही छैन । ती सबै मुद्दा अहिले खारेज भएका छन् ।’

राप्रपाका जिल्ला अध्यक्षसमेत रहेका उनी केही समयअघि एमालेमा प्रवेश गरेका थिए । राप्रपा टुक्राटुक्रा भएपछि आफूले एमालेलाई समर्थन गरेको उनले बताए ।

एमाले प्रदेश–४ का सहसंयोजक गणेश तिमिल्सेनाले पनि कानुनी हिसाबले मनांगेबारे विवाद निस्किएपछि सट्टामा खण्डालाई उम्मेदवार बनाएको बताए । उनले पनि स्थानीय नेतृत्वले आवश्यकता ठानेमा खण्डालाई फिर्ता गराएर मनांगेलाई उम्मेदवार बनाउन सक्ने सम्भावना रहेको बताए । खण्डालाई फिर्ता गराएर मनांगेलाई ल्याउने वा नल्याउने भन्ने अहिल्यै नै निर्णय भइनसकेको उनले बताए । 

प्रकाशित: ८ कार्तिक २०७४ ०३:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App