२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

एमाले कर्णाली अधिवेशनमा गुटगत प्रतिस्पर्धा : राजबहादुर शाही र प्रेमबहादुर सिंहकाे उम्मेदवारी फिर्ता

फाइल तस्बिर

पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्देशनको अवज्ञा गर्दै नेकपा एमाले कर्णाली प्रदेशको जारी अधिवेशनमा गुटगत प्रतिस्पर्धा भइरहेको छ।अध्यक्षका मुख्य प्रतिस्पर्धी गुलावजंग शाह र मीनबहादुर शाही प्यानलै बनाएर चुनावी मैदानमा होमिएका छन्। कर्णाली प्रदेशको अध्यक्षका लागि हालसम्म तीन जना प्रतिस्पर्धी छन्। शुक्रवार अध्यक्षमा उम्मेदवारी दिएका मध्ये दैलेखका राजबहादुर शाही र कालिकोटका प्रेमबहादुर सिंहले उम्मेदवारी फिर्ता लिएका हुन्।

उम्मेदवारी फिर्ता लिएका राजबहादुर शाहीले मीनबहादुर शाहीलाई समर्थन गरेका छन् भने सिंहले गुलावजंग शाहलाई समर्थन गरेका छन्। शाहको प्यानलबाट उपाध्यक्षमा जुम्लाका टेकराज पछाई उम्मेदवार छन्। कर्णाली प्रदेशसभा सदस्य रहेका उनी निवर्तमान प्रदेश सचिव पनि हुन्। शाहको प्यानलबाट सचिवमा सुर्खेतका ध्रुवकुमार शाही चुनावी मैदानमा छन्। उनी एमाले सुर्खेतको पूर्व अध्यक्ष हुन्।

यस्तै शाहीको प्यानलबाट उपाध्यक्षमा जाजरकोटका लालबहादुर महतारा उम्मेदवार छन्। सचिवमा दैलेखका रुद्र शाही उम्मेदवार बनेका छन्। सचिवमा उम्मेदवारी दिएका सुर्खेतका डण्डीप्रसाद शर्माले शाहीलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका छन्।

प्रदेश अधिवेशन उद्घाटनका क्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले गुटगत प्रतिस्पर्धा सैह्य नहुने बताएका थिए। उनले उम्मेदवार हुन पाउने तर, प्यानलगत चुनाव लडे कारबाही गर्ने चेतावनी दिएका थिए। कर्णालीमा भने पोलिटब्युरो सदस्य याललाल कँडेल र गोरखबहादुर बोगटी प्यानलबिच प्रतिस्पर्धा छ। शाह कँडेल पक्षीय हुन् भने शाही बोगटी पक्षीय उम्मेदवार हुन्।

निर्वाचन समितिका संयोजक मात्रिका खनालले २ बजेबाट निर्वाचन सुरु हुने बताए। महाधिवेशनमा ६०४ जना प्रतिनिधिहरू सहभागी छन्। जारी अधिवेशनबाट एमालेले १३५ सदस्यीय प्रदेश कमिटी गठन गर्नेछ।

प्रकाशित: १३ आश्विन २०८० ०८:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App