संविधान दिवस २०८० जिल्लामा तीन दिन सम्म मनाइएको छ।
गृह मन्त्रालयले संविधान दिवस भव्य रुपमा मनाउन जिल्ला प्रशासन कार्यालयलाई गरेको निर्देशन अनुसार असोज २, ३ र ४ गते जिल्लामा विभिन्न कार्यक्रम गरी मनाइयो।
तीन दिनको कार्यक्रममा एक दुई दलका नेता र केही जन प्रतिनिधि नेता बाहेक सबै जसो कर्मचारीहरु मात्र सहभागी रहे। दिवस कर्मचारी केन्द्रित जस्तो देखिएको हो। असोज २ गते कपिलवस्तु अस्पतालमा सम्पन्न रक्तदान कार्यक्रममा जिल्ला समन्वय प्रमुख बाबुराम आचार्य र जसपा नेता मात्र ईरफान खा सहभागी थिए।
४० जना सहभागी रहेको उक्त कार्यक्रममा २ जना बाहेक सबै कर्मचारी मात्र थिए। सोही दिन दिउसो समेत वक्तृत्व कला कार्यक्रममा समन्वय प्रमुख आचार्य र उप प्रमुख रमेश कुर्मी मात्र सहभागी थिए। बाकी सबै कर्मचारी मात्र थिए।
असोज ३ गते कपिलवस्तु अस्पताल र बाल गुहमा सम्पन्न कार्यक्रममा समेत समन्वय प्रमुख आचार्य बाहेक सबै कर्मचारीहरु मात्र सहभागी थिए। असोज ४ गते बिहान तौलिहवा बजारमा गरिएको प्रभात फेरीमा कोही पनि दलका नेता सहभागी थिएनन्।
प्रभात फेरी पछि कपिलवस्तु नगरपालिकामा गरिएको कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख बाबुराम आचार्य र कांग्रेस नेता राम आषिष पाण्डेय बाहेक सबै कर्मचारीहरु मात्र थिए। कार्यक्रममा ८५ जना सहभागी थिए। अरु दलका कोही नेता नदेखे पछि कांग्रेस नेता पाण्डेय पनि केही बेर मै कार्यक्रम स्थलबाट बाहिरिएका थिए।
दिवसमा मनाउन सम्पन्न ३ दिने कार्यक्रममा कर्मचारी, नेपाल र सशस्त्र प्रहरी लगायत कर्मचारीहरुको मात्र जमघट देखियो। कार्यक्रममा सत्तारुढ दल र प्रतिपक्षी दलका नेता कार्यकर्ता थिएनन्।
‘हामी कर्मचारीलाई मात्र संविधान दिवस लागेका रहेछ’ कार्यक्रममा सहभागी रहेको एक कर्मचारीले भने ‘प्रशासन कार्यालयले नबोलाएको भए कर्मचारीहरु पनि कमै आउँथे डरले भए पनि उनीहरु आए’।
कार्यक्रममा सहभागीताकालागि सबै दल र पालिका प्रमुखलाई समेत पत्राचार गरिएको थियो। जन प्रतिनिधि र दलका प्रतिनिधिहरुको बेवास्ता र कर्मचारीहरुको मात्र सहभागीले कार्यक्रम खल्लो देखिएको थियो।
दिवस प्रति नेताहरुले बेवास्ता गरेको देखिएको थियो। जिल्ला समन्वय प्रमुख तथा संविधान दिवस मूल समारोह समितिका संयोजक बाबुराम आचार्यको अध्यक्षता र प्रमुख प्रशासकीय अधिकृत निर्मल पोख्रेलेका संचालनमा कार्यक्रम सम्पन्न भएको थियो।
कार्यक्रममा प्रजिअ शकरहरि आचार्य, प्रहरी उपरीक्षक नवरत्न पौडेल, शमशेर दल गणका प्रमुख सेनानी दिलीप घले लगायत जिल्ला सुरक्षा समितिका सदस्यहरूको सहभागिता थियो।
प्रकाशित: ४ आश्विन २०८० १०:३२ बिहीबार




-600x400.jpg)
