६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

मेयर नागेश कोइरालाको राजीनामा माग गर्दै विराटनगरमा जसपाको प्रदर्शन

जनता समाजवादी पार्टी (जसपा)ले विराटनगर महानगरपालिका अगाडि प्रदर्शन गरेको छ। शुक्रबार विराटनगर महानगरपालिका अगाडि र्‍यालीसहित पुगेका जसपाका कार्यकर्ताले दुव्र्यवहार गर्ने नगर प्रहरीलाई कारबाहीको माग गर्दै प्रदर्शन गरेका हुन्।

प्रदर्शनकारीले विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाविरुद्ध पनि नारवाजी गर्दै मेयरको राजीनामा समेत मागेका थिए। प्रदर्शनकारीहरूले प्रदर्शन गर्दा विराटनगर महानगर अगाडि केहि वेर प्रहरीसँग वादविवाद समेत भएको थियो। बुधबार सिटी रिक्सालाई ह्वील लक लगाएको विषयमा जसपा अध्यक्ष राजकुमार यादव र नगर प्रहरीवीच विवाद भएको थियो।

विवादका क्रममा जसपा अध्यक्ष यादव र डिउटीमा खटिएका नगर प्रहरीवीच धकेला धेकेल भएको थियो। विवाद पछि नगरप्रहरीहरूले यादवले सञ्चालन गरेको कोशी अस्पताल अगाडिको फार्मेसीबाट यादवलाई बुधबार साँझ पक्राउ गरी वडा प्रहरी कार्यालय विराटनगरमा लगेका थिए। वडा प्रहरी कार्यालयमा दुबै पक्षवीच मिलापत्र भए पनि यादवलाई कठालो समाएर फार्मेसीबाट निकालेको भिडियो भाइरल भएपछि पुनःविवाद चुलिएको हो।

जसपा विराटनगर महानगर समितिको अगुवाईमा शुक्रबारदेखि महानगरपालिका विरुद्ध आन्दोलन सुरु भएको छ। घटनामा संलग्न नगर प्रहरीलाई कारबाही नभएसम्म आन्दोलन निरन्तर अघि बढ्ने जसपा मोरङका अध्यक्ष राजकुमार यादवले बताए। उनले आफू जसपाको नेतासमेत भएका कारण एउटा रिक्सा चालकले गरेको गुनासो नगर प्रहरीसमक्ष राख्दानगरप्रहरीले आफूलाई  दुव्र्यबहार गरेको बताए।

यादवले भने,‘एउटा गरिब सिटी रिक्साचालकको रिक्सामा लक लगाएर दिनभरी वेरोजगार बनाएर राख्नु भन्दा बरु एक पटकलाई चेतावनीदिएर छाडि दिनु भनेर नगरप्रहरीलाई आग्रहगर्दा नगरप्रहरीले दुव्र्यवहारमै उत्रनु त भएन नी।’उनले घटनामा संलग्न नगर प्रहरीलाई कारबाही नगरेसम्म आन्दोलन नरोकिने स्पष्ट पारे। विराटगरको गुद्रीबाट र्‍यालीसहित जसपाका कार्यकर्ता नारावाजी गर्दै महानगरपालिका पुगेका थिए।  

प्रकाशित: २९ भाद्र २०८० ०८:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App