संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयाघातबाट निधन भएको छ।
सामान्य रुघाखोकी लागेर घरमा आराम गरिरहेका नेम्वाङलाई गएराति अचानक हृदयघात भएपछि उपचारका लागि राति १ः ३० बजे त्रिवि शिक्षण अस्पताल लगिएकोमा उपचारको क्रममा त्यहीँ निधन भएको हो।
उनी नेपाली राजनीतिमा शालिन स्वाभावका राजनीतिज्ञ मानिन्छन् । मृदुभाषी र वाक्कलामा निपुर्ण नेम्वाङलाई एमालेले हरेक वार्तामा सामेल गर्ने गरेको थियो।
प्रतिनिधि सभा निर्वाचन, २०७९मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) कातर्फबाट सुवासचन्द्र नेम्वाङ इलाम जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं २ बाट ३०,०२० मत प्राप्त गरि प्रतिनिधि सभा सदस्यमा विजयी भएका थिए।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार डम्बर बहादुर खड्काले २९,००६मत प्राप्त गरेका थिए। सुवासचन्द्र नेम्वाङको जन्म सालमा इलाम जिल्लाको सुन्तलाबारीमा भएको हो । उनी अनेरास्ववियुबाट राजनीतिमा प्रवेश गरे। प्राध्यापन र कानुन व्यवसायसमेत अँगालेका नेम्बाङले राजनीतिलाई अघि बढाए। जो इलाम—२ बाट २०५६ देखि लगातार निर्वाचित हुँदै आएका छन्। त्यसअघि उनी राष्ट्रियसभा सदस्य निर्वाचित भएका थिए।
उनी २०५१ मा कानुन, न्याय तथा संसदीय व्यवस्था राज्यमन्त्री बने। त्यसपछि सामान्य प्रशासन र स्थानीय विकासमन्त्री भए। २०५६ सालमा इलाम—२ बाट निर्वाचित भए।
उनी २०६३ वैशाख ३० देखि माघ १ गतेसम्म सभामुख बने। त्यसपछि त्यही साल माघ ३ देखि २०६५ जेठ १४ गतेसम्म उही जिम्मेवारी सम्हाले। २०६४ को संविधानसभा निर्वाचनमा इलाम-२ बाट निर्वाचित भए। २०६५ साउन १२ देखि २०६९ जेठ १४ सम्म र २०७० फागुन ६ देखि २०७२ असोज २७ गतेसम्म संविधानसभाध्यक्ष तथा सभामुख बने। उनले २०७० को दोस्रो संविधानसभा चुनाव पनि इलाम—२ बाट जिते। २०७४ र २०७९ को निर्वाचनमा पनि उही क्षेत्रबाट जित हासिल गरे। नेकपा एमालेका उपाध्यक्ष नेम्वाङ फाल्गुनमा भएको राष्ट्रपतिको निर्वाचनमा उम्मेदवार समेत बनेका थिए।
बीए र बीएल पढाइ पूरा गरेका उनी पार्टीको कानुन समिति सदस्य, संसदीय दलका उपनेता हुँदै उपाध्यक्ष बनेका थिए। उनी २०५६ सालमा सार्वजनिक लेखा समिति सभापतिसमेत चयन भएका थिए। उनी राजनीतिमा प्रवेश गर्नुअघि नेपाल ल क्याम्पसमा प्राध्यापन र कानुन व्यवसाय (वरिष्ठ अधिवक्ता) मा थिए। कानुन व्यवसायीका रूपमा परिचित र प्राध्यापनमा समेत संलग्न रहिसकेका नेम्वाङले नेपाल बार एसोसिएसनको महासचिवको जिम्मेदारी सम्हालिसकेका थिए ।
पञ्चायतविरुद्धको आन्दोलनका क्रममा पटक–पटक सार्वजनिक सुरक्षाअन्तर्गत नजरबन्दमा परेका थिए। नेम्बाङ राजकाज मुद्दामा वि.स. २०३३ सालमा सात महिना जेल परेका थिए।
प्रकाशित: २६ भाद्र २०८० ००:५४ मंगलबार





