१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

सरकारको नेतृत्व कांग्रेसले गर्नुपर्छ: शेखर कोइराला

फाइल तस्बिर।

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सरकारको नेतृत्व नेपाली कांग्रेसले गर्नुपर्ने बताएका छन्। 

सरकारकै कारण देश अराजकता तर्फ गएको भन्दै नेता कोइरालाले सरकारको नेतृत्व कांग्रेसले गर्नुपर्ने धारणा राखेका हुन्।

नेपाली कांग्रेस चितवनको जिल्ला सम्मेलनलाई उद्घाटन गर्दै नेता कोइरालाले काँग्रेसलाई चारै तिरबाट आक्रमण भएकाले त्यसलाई चिर्न कांग्रेसले नेतृत्व लिनुपर्ने बताए।

‘देशमा अहिले राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक केही कुरा पनि ठिकसँग चलेको छैन। हुँदा हुँदा कूटनीतिक पनि त्यस्तै छ। मुलुक अराजकतातिर जाँदै छ,’ उनले भने  ‘त्यसलाई चिर्न नेपाली कांग्रेसको नेतृत्वमा सरकार चाहिएको छ।’ उनले कांग्रेस नेतृत्वमा सरकार भयो भने प्रजातन्त्र त बाँच्ने दाबी गरे।

‘अहिले जति अराजकता छ, कांग्रेस नेतृत्वमा सरकार बनेपछि त्यो घट्छ भन्ने मलाई विश्वास छ’–उनले भने।

उनले संसदीय प्रणालीमा मन्त्रीहरुको त्यति भूमिका नहुने बताए। ‘हामी अहिले ९० सांसद र ९ जना मन्त्री छौँ। संसदीय प्रणालीमा प्रधानमन्त्री बाहेक अरुको निर्णय हुँदैन। प्रधानमन्त्री र मुख्यसचिव बसेर बनाएको निर्णय पास गर्नुको विकल्प छैन,’ उनले भने ‘मान्दिन भने राजीनामा देऊ भन्छ।’

नेता कोइरालाले प्रधानमन्त्री दाहाल नै देशमा अराजकतालाई प्रशय दिन तर्फ लागेको उनले बताए।

‘आदिवासी जनजाति दिवसमा उहाँले ‘बहुमत देऊ, जातीय राज्य दिन्छु भन्ने अभिव्यक्ति दिनुभएको थियो। एउटा पार्टीको अध्यक्षले यस्तो बोलेको भए मैले खासै प्रतिक्रिया दिने पनि थिइनँ तर प्रचण्ड जी अहिले मुलुकको प्रधानमन्त्री हो,’ उनले भने ‘देशको प्रधानमन्त्रीले भोट देऊ, जातीय राज्य दिन्छु भन्ने गैर जिम्मेवार कुरा गर्न मिल्दैन।’

प्रधानमन्त्रीले त्यस्तो अभिव्यक्ति दिँदा त्यसले अर्कै सन्देश दिएको बताए। धार्मिक र जातियताका कारण पछिल्लो समय देश अत्यन्तै अप्ठेरो परिस्थितिमा पुगेको उनले जिकिर गरे।

‘धरानमा हिन्दु र क्रिश्चियन बिच रंग भेद देखियो। मन्दिर परिसरमै चर्च बनाएको छ। त्यसको विरोध भएर सेलाउन नपाउँदै गोरु काटेर खाएको विषय फेसबुकमा हालियो। पहिले पहिले पनि खाँदा हुन किन फेसबुकमा हाल्नुपर्ने, उनले भने ‘संयोगले म त्यस बेला विराटनगरमै थिएँ। म भोलिपल्ट धरान पनि गएँ। साथीभाइहरूसँग कुराकानी गरेँ। क्रिश्चियन, सुरक्षा निकाय, धर्म गुरुहरुलाई भेटेँ। धरानमा कुनै पनि समयमा भड्किए जातीय द्वन्द्व भड्किन्छ कि भन्ने चिन्ता छ।’ यस्ता द्वन्द्वलाई रोक्ने जिम्मा नेपाली कांग्रेसले लिनुपर्ने उनले बताए।

काठमाडौँ मेयरले सिंहदरबारलाई जलाउने अभिव्यक्ति लोक रिजाईका कारण भएको दाबी गरे। लोक रिजाईका कारण नै देश अप्ठेरो अवस्थामा पुगेको उनको भनाई छ।

‘यदि निर्वाचनको मुखमा मेरो ड्राइभर छतबाट खसेर मरेको भए के लेखिन्थ्यो, के बोलिन्थ्यो ? होला’ उनले भने ‘मानिसहरू लोकरिझ्याइँसँग डराइरहेका छन्। तपाईहरुले पनि घण्टीमै भोट हाल्नुभयो मलाई कुनै शंका छैन।’

नेपाली कांग्रेस चितवनको जिल्ला सम्मेलन भोलिसम्म चल्ने छ।

प्रकाशित: २३ भाद्र २०८० १०:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App