४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

दुई नम्बर प्रदेशमा दलहरू एक्लै भिड्दै

काठमाडौं- दुई नम्बर प्रदेशको स्थानीय तह निर्वाचनमा कम ठाउँमा दलहरूबीच गठबन्धन भएको छ । तेस्रो चरणको चुनावमा पहिलो पार्टी बन्ने लक्ष्यका साथ  प्रमुख दलहरू एक्लै चुनाव लड्ने भएका छन् ।
बुधबार साँझसम्म धनुषाको मिथिला नगरपालिका र बाराको निजगढ नगरपालिकामा मात्रै कांग्रेस र माओवादी केन्द्रबीच तालेमल भएको छ । अन्य स्थानमा ठूला पार्टीबीच चुनावी समीकरण बन्न सकेन । कांग्रेसका केन्द्रीय सदस्य आनन्द ढुंगानाले मिथिला  र निजगढ नगरपालिकाका मेयरमा कांग्रेस र उपमेयरमा माओवादी केन्द्रले उम्मेदवारी दिएको बताए ।  
कांग्रेसले बर्दिवास नगरपालिकाका दुई वडामा राजपा नेपालसँग तालेमल गरेको छ । ढुंगानाले बर्दिवास नगरपालिकाको खयरमारा क्षेत्रका दुई वडामा राजपासँग तालमेल भएको बताए । खयरमाराका एउटा वडाका वडाध्यक्षमा कांग्रेस र अर्को वडाका वडाध्यक्षमा राजपाले उम्मेदवारी दिएको उनले बताए । उनले भने, ‘अरू सबै ठाउँमा कांग्रेस एक्लै चुनाव लड्न लागिरहेको छ । हामी एक्लै चुनाव लडेर दुई नम्बर प्रदेशमा पहिलो पार्टी बन्नेछौं ।’
माओवादी केन्द्रका नेता तथा सचिवालय सदस्य प्रह्लाद बुढाथोकीले धनुषाको मिथिला र बाराको निजगढमा बाहेक अन्य ठाउँमा पार्टीले एक्लै चुनाव लड्ने बताए ।
दुई नम्बर प्रदेशमा एमाले एक्लै चुनाव लड्ने भएको छ । एमाले नेता शत्रुधन महतोले दुई नम्बर प्रदेशका कुनै पनि ठाउँमा एमालेले कुनै पनि दलसँग तालमेल नगरेको बताए । कांग्रेसबाहेक मधेस केन्द्रित दलसँग तालेमल गर्ने नीति भए पनि तालमेल हुन नसकेको उनले जनाए । उनले  भने ‘तालमेलका लागि भागबन्डामा कुरा मिलेन । हामीले  जित्ने ठाउँमा अरू दलले पनि दाबी गरे ।’  तालेमलका लागि राजपा र फोरम नेपालसँग अनौपचारिक कुरा भएको तर अन्तिम समयमा तालमेलको प्रयास असफल भएको उनको भनाइ थियो ।
तालमेलका लागि मधेस केन्द्रित दल संघीय समाजवादी फोरम र राजपा नेपालबीच भएका प्रयास अन्ततः विफल भएको छ । दुवै दलका शीर्ष नेताका बीच अन्य ठाउँसँगै कलैया उपमहानगरपालिका र सप्तरीको रूपनी गाँउपालिकामा तालमेलका लागि कुराकानी हुँदै आएको थियो ।  तर, बुधबार दुवै दलले छुट्टाछुट्टै उम्मेदवारी दर्ता गराएका छन् । समाजवादी फोरमका महासचिव रामसहाय यादवले कलैया उपमहनगरपालिकाका मेयर र उपमेयर दुवैमा राजपाले उम्मेदवारी दिएपछि राजपासँग सप्तरीमा सम्भावित तालमेल बिथोलिएको बताए ।

प्रकाशित: २२ भाद्र २०७४ ०३:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App