२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

काँग्रेसले ८४ को चिन्ता गर्ने होइन आज सम्हाल्ने हो: महामन्त्री थापा

बागलुङ प्रतिनिधि सभा क्षेत्र नम्बर १ को क्षेत्रीय सम्मेलनमा सम्बोधन गर्दै काँग्रेस महामन्त्री गगन थापा।तस्विरः संगम/नागरिक।

 

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले २०८४ को निर्वाचनलाई लिएर चिन्तित नहुन कार्यकर्तालाई आग्रह गरेका छन्।नेपाली काँग्रेस बागलुङ प्रतिनिधि सभा क्षेत्र नम्बर १ को क्षेत्रीय सम्मेलनको मंगलबार बागलुङमा उद्घाटन गर्दै महामन्त्री थापाले काँग्रेसले भविष्यको चिन्ता गरेर बस्ने भन्दा वर्तमानलाई सम्हाल्नुपर्ने मुख्य जिम्मेवारी रहेको बताए।‘यहाँका धेरै साथीहरूले २०८४ सालको निर्वाचनको विषयमा धेरै चिन्ता गरेको पाएँ,’उनी भन्छन्,‘अहिले नेपाली काँग्रेस तीनै तहको सरकारमा छ।यति बेला काँग्रेसले जनताको काम गर्ने हो।आगामी चुनावको चिन्ता गर्ने होइन ।’ 

२०१५ सालको सरकारको गर्व गर्ने काँग्रेसले २०८४ को निर्वाचनको चिन्ता गर्ने काँग्रेसले वर्तमानमा जनताको मन जित्ने गरी काम गर्नुपर्ने उनको तर्क छ।‘हामी विगतको गर्व गर्छौं भविष्यको चिन्ता पनि गर्छौं,’उनले भने,‘तर यो असामयिक, अव्यवहारिक छ।किनकि अहिले तीन सय बढी स्थानीय तहमा काँग्रेसले नेतृत्व गरेको छ।चार वटा प्रदेश सरकारमा काँग्रेसको मुख्यमन्त्री छ।केन्द्रीय सरकारमा काँग्रेस सहभागी छ।अहिले जनतामा निराशा बढेको बेला हामीले जनतालाई आशा र भरोसा जगाउने गरी काम गर्ने हो।जनताले अनुभूति गर्ने गरी काम गर्न सक्यौँ भने जनता आफै हाम्रो पक्षमा लाग्छन् ।’ काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिले पार्टीसँग सरसल्लाह गर्ने नागरिकका आवश्यकता र चाहना पूरा गर्ने गरी काम गर्नुपर्ने उनले बताए।

‘महिनामा एक पटक पार्टीका साथीहरूसँग बसेर छलफल गर्नुस्,’ उनले भने,‘जनताको आवश्यकता र चाहाना के छ पहिचान गरी काम गर्नुस्।आफ्नो पार्टीबाट निर्वाचित साथीले राम्रा काम गरेको छ भने उसको तारिफ गर्नुस् हौसला बढाउनुस् ।’ गुटको छाप लागेर सरकारमा जाने अवस्था पार्टीमा हुँदा पार्टीका मन्त्रीहरु जनता र पार्टीप्रति उत्तरदायी नभएको उनले तर्क गरे।‘शेरबहादुर दाइ, शेखर कोइराला वा कृष्ण सिटौलाले साथ दिँदासम्म मेरो मन्त्री पद केही हुन्न भन्ने अवस्थाका कारण समस्या देखिन्छ,’उनी भन्छन्,‘पार्टीले मन्त्रीहरूलाई निश्चित काम तोकेर दिने र त्यो पूरा गर्न नसके फिर्ता बोलाउने परि पार्टी बसाल्न सके सरकार र मन्त्रीहरु जनता र पार्टीप्रति उत्तरदायी हुन्छन् ।’ 

केही समयपछि नै संघ सरकारको नेतृत्व समेत काँग्रेसले गर्ने अवस्था भएकाले यो बेला जनताले राहत अनुभूति गर्ने गरी काम गर्नुपर्ने उनको भनाई छ।‘केही समयमा सरकारको नेतृत्व काँग्रेसको काँधमा आउँदैछ, अहिले पनि अर्थ मन्त्रालयको जिम्मा काँग्रेसले लिएको छ।धर्मराएको अर्थतन्त्र सुधारेर जनताको आशा जगाउने काम काँग्रेसले गर्नुपर्छ,’थापाले भने।निर्वाचन अगाडि गठबन्धन गर्दा लोकतन्त्र कमजोर भएको भन्दै आगामी निर्वाचनमा काँग्रेसले कुनै पनि निर्वाचन गठबन्धन नगर्ने उनले दाबी गरे।‘मैले यो विषय पहिले पनि उठाएको हो तर सफल भैएन।निर्वाचन अगाडि गरिने गठबन्धनले लोकतन्त्रलाई कमजोर बनाएको छ।आगामी निर्वाचनमा काँग्रेसले एक सिट पनि नजित्ने अवस्था किन नहोस्।निर्वाचन अगाडि गठबन्धन काँग्रेसले गर्दैन,’ थापाले भने।

भ्रष्टाचार विरुद्धको अभियानका काँग्रेसले दह्रो साथ दिइरहँदा प्रधानमन्त्री प्रचण्डले भ्रमको खती गर्न खोजेको उनले दाबी गरे।‘भ्रष्टाचार विरुद्ध लागेका कारण मलाई सरकारबाट हटाउने प्रयास भएको छ भनेर प्रधानमन्त्रीले भ्रमको खेती गरिरहनुभएको छ,’ थापाले भने,‘निर्दोष पर्न दिन्नौ, दोषी भए पार्टीका जो कोही भए पनि कारबाही हुनुपर्छ भनेका छौँ।काँग्रेस केन्द्रीय समितिले निर्णय गरेर दह्रोसँग साथ दिएको छ।त्यही पनि प्रचण्डले के लागि मलाई हटाउन खोजियो भनिरहनुभएको छ।उहाँको सरकार काँग्रेसले साथ दिँदासम्म चलि नै रहने अवस्था छ र साथ पाइ रहनु भएको छ ।’ नेपालमा सामाजिक सद्भाव भत्काउँदै अराजतकता मच्चाउने प्रयास भइरहेको थापाले बताए ।

 ‘सनातन धर्म संस्कृतिको संरक्षण गर्ने र सामाजिक सद्भाव कायम राख्ने काम काँग्रेसले गर्नुपर्ने छ र त्यो काँग्रेसले नै गर्छ,’ उनले भने,‘लोकप्रियताको नाममा मौलाइरहेको फाँसीवाद र अराजकतालाई चिर्नुपर्ने बेला आएको छ ।’ नेपाली काँग्रेस आत्तिने ठाउँमा नभई सम्हालिने र सम्हाल्ने ठाउँमा भएको भन्दै उनले त्यसका लागि पार्टीमा पुनर्जागरण ल्याउनुपर्ने बताए।‘हाम्रो पार्टी जनता र कार्यकर्तामुखी होइन नेतामुखी हुँदै गएको छ,’उनी भन्छन्,‘जबसम्म टिकट बाँड्ने जिम्मा दाइलाई दिन्छौँ।दाइ टिकट दिने भनेको भाउजूलाई नै हो।मै पनि दाइ नै हो, मैले पनि आफ्नै मान्छे खोजेर दिन्छु।त्यस कारण जनप्रतिनिधिका लागि स्थानीय कार्यकर्ता उम्मेदवार चुन्ने व्यवस्था गर्नुपर्छ।त्यसले उम्मेदवार बन्न चाहानेहरु गाउँमा केन्द्रित हुन्छन् ।’

 आफू स्वास्थ्य मन्त्री हुँदा बनाएका स्वास्थ्य ऐन लागू हुनसक्ने धेरै नागरिकले राहत पाउनेको उनको भनाई छ।‘नेपालका धनीदेखि गरिबसम्म सबैले स्वास्थ्य बिमा गर्ने, सक्ने वर्षमा तीन चार लाख रुपैयाँ पनि तिर्ने र नसक्ने निःशुल्क बिमा गर्ने ऐन बनेको छ, त्यसको कार्यान्वयन मात्रै गर्न सके स्वास्थ्य क्षेत्रको धेरै समस्या समाधान हुन्छ,’ थापा भन्छन्।नेपाली काँग्रेस केन्द्रीय सदस्य चम्पादेवी खड्का, गण्डकी प्रदेश कोषाध्यक्ष बसन्तकुमार श्रेष्ठ, बागलुङ जिल्ला सभापति जित शेरचनले जन जिविकाका सवाल सम्बोधन गरेर पार्टीलाई जनमुखी बनाउनुपर्ने बताए।

प्रकाशित: १९ भाद्र २०८० १३:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App